सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्। 

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने भएको छ।

केन्द्रको निर्देशनपछि बसेको सुदूरपश्चिम संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद रमेशसिंह धामीले जानकारी दिए। “हामीले सरकारलाई विश्वासको मत नदिने भन्ने निर्णय त यसअघि पनि गरेका थिएनौँ। केन्द्रको निर्देशन कुरेका थियौँ”, उनले उकालोसँग भने,“केन्द्रबाट निर्देशन आएपछि आठ दलीय गठबन्धनको मर्म अनुसार सरकारलाई विश्वासको मत दिने निर्णय गरेका हौँ।” 

केन्द्रको निर्देशन नआएसम्म सरकारलाई विश्वासको मत नदिने माओवादी सुदूरपश्चिम संसदीय दलको अडान थियो। यसअघि आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिन निर्देशन दिएका थिए। 

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्। एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि शाह मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो।

माघ २६ गते गठित शाह नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि २७ मत आवश्यक छ। गठबन्धनमा रहेका ८ दलसँग विश्वासको मतका लागि आवश्यक भन्दा धेरै मत रहेको छ। माओवादीले विश्वासको मत दिए आवश्यक मत पुग्छ।