सिंहदरबार गेटमा कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन

कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन शुरू गरेको छ।

कर्मचारीले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबारको दक्षिण गेटमा अनुगमन गरेको हो।

सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले बाहिर जाने कर्मचारीको नाम र परिचयपत्रको विवरण राख्न थालेको हो। छड्के अनुगमन दिनभर नै हुनसक्ने केन्द्रका डीएसपी कृष्ण अधिकारीले बताए।

“कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको अनुगमन गरिएको हो,” उनले भने । अधिकांश कर्मचारी व्यक्तिगत कामका लागि सिंहदरबारबाट निस्किएको देखिएको उनको भनाइ छ।

कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको हो।