शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले बेहोर्नु परेको छ।
विश्वको आर्थिक र सामरिक महत्त्वका हिसाबले हेर्दा नेपाल दुई ठूला शक्तिशाली राष्ट्रबीच अवस्थित छ। हामीले बाटोमा जति उफ्रेर खास कुनै राष्ट्रको विरोध गरे पनि नेपालले सुरक्षा तथा कूटनीतिका बारेमा चालेका कदममा छिमेकी दुवै राष्ट्रको सरोकार रहन्छ भन्ने तथ्य कसैबाट लुकेको छैन। यो सरोकार अहिलेको मात्र होइन, वर्षौंदेखिको हो।
राणाकाल होस् अथवा पञ्चायतकालमा नेपालले चीनबाट हतियार ल्याउँदा होस्, भारतको सरोकारविपरीत चीन तथा पश्चिमा राष्ट्रसँग नेपालको सम्बन्धमा भारतको प्रत्यक्ष तथा परोक्ष चासो देखिँदै आएको छ। त्यससँगै पञ्चायतको समाप्ति र त्यसपछिको व्यवस्था अन्त्य गर्दै गणतन्त्रपछिको परिवर्तनमा समेत सुरक्षा र कुटनीतिक सवालको ठूलो भूमिका छ भनेर मान्न सकिन्छ।
यता, मूल रूपमा तिब्बत र ताइवानलाई लिएर पश्चिमाहरूले देखाउने चीनविरुद्धको सक्रियताबारे चीनको सरोकार कूटनीतिक अथवा सञ्चारमाध्यमबाट बेलाबेला प्रकट भइरहन्छ। अहिलेको युक्रेन र रुसबीचको युद्धको कारण पनि युक्रेनको नाटो सदस्यतालाई लिएर हो।
डोक्लमको विषयमा भारतको भुटानसँग सरोकार रहेको कसैबाट लुकेको छैन। माल्दिभ्समा भारतको सरोकार, म्यानमारमा चीनको सरोकार, दक्षिणी अमेरिकी मुलुकहरूको कूटनीति र सुरक्षामा अमेरिकी सरोकार सबैसामु छर्लङ छ। नेपालको सम्बन्धमा भारत, चीन र अन्य मित्र राष्ट्रहरूले सुरक्षा र कूटनीतिमा चासो राख्नुका धेरै कारण छन्:
राष्ट्रहरूबीचको द्वन्द्व
यदि दुई देशहरूबीच विगतमा द्वन्द्व वा तनाव भएको छ भने, यसले अविश्वासको भावना र उच्च सुरक्षा उपायहरूको आवश्यकता सिर्जना गर्न सक्छ। विगतदेखि नै तिब्बतबारे अमेरिकीहरुको सरोकार तथा खम्पा विद्रोहका घटना नेपालसामु छन्। त्यस्तै, भारत र चीनबीचको सीमा विवाद–युद्ध र समय–समयमा भइरहने झडपका कारण नेपालमा दुवै छिमेकी राष्ट्रको सरोकार प्रतिविम्बित हुन्छ।
भौगोलिक स्थिति
भारत र चीनबीच नेपाल अवस्थित भएकाले यसको भौगोलिक अवस्था रणनीतिक रूपमा महत्त्वपूर्ण हुन जान्छ। यसकारण आफ्नो प्रभाव विस्तार गर्न खोज्ने देशहरूका लागि नेपाल जहिले पनि सम्भावित लक्ष्य बन्न पुगेको हो भनेर भन्न सकिन्छ। त्यसकारण भारत र चीनले जहिले पनि अन्य देशहरूले नेपालमा गर्ने सुरक्षा तथा कूटनीतिक गतिविधिलाई नजिकबाट नियाल्न खोज्छन्, सरोकार राख्छन्।
आर्थिक प्रतिस्पर्धा र सुरक्षा सरोकार
हाम्रा दुवै छिमेकी देश विश्वका ठूला र उदीयमान अर्थतन्त्र हुन्। सोही कारण आर्थिक प्रतिस्पर्धा, निर्वाध व्यापार र स्रोतहरूमा पहुँच सुनिश्चित गर्न नेपालको अवस्थिति रणनीतिक हिसाबले दुवै राष्ट्रका लागि महत्त्वपूर्ण र आवश्यक हुन जान्छ।
नेपाल, भारत र चीनसँगको त्रिदेशीय सीमामा दुवै राष्ट्रको सुरक्षाको सरोकार, सीमा सुरक्षा, अध्यागमन र क्षेत्रीय विवादका विषयमा दुवै देशले सरोकार राखेको कसैबाट लुकेको छैन। उनीहरूको सुरक्षाका दृष्टिकोणमा महत्त्वपूर्ण हुने भएर पनि त्यसबारे उनीहरूले चासो राख्नु स्वाभाविक पनि हो।
वैचारिक भिन्नता
गणतन्त्रको चरणमा नेपाल प्रवेश गरे तापनि नेपाल र दुवै छिमेकी देशहरूमा फरक राजनीतिक प्रणाली र संस्कार छन्। भलै, सांस्कृतिक वा धार्मिक रूपमा हामीमा कतिपय समानता भए पनि ठूला वैचारिक भिन्नता सिर्जना भएका छन् र तिनको सम्बोधन गर्ने कुटनीतिक क्षमता हामीले प्रदर्शन गर्न सकिराखेझैँ देखिँदैन। त्यो क्षमता विकास गर्न हामीले आवश्यक ठानेको पनि देखिँदैन। शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले ब्यहोर्नु परेको छ।
विश्व शक्तिको दौड
छिमेकी देशहरू विश्वशक्ति बन्ने लक्ष्य र प्रयत्नमा अघि बढ्दै जाँदा सुरक्षा र कूटनीतिमा उनीहरूको चासो बढ्नु स्वाभाविक पनि हो। संसारभरकै अभ्यास र उदाहरणबाट त्यो कुरा बुझ्न सकिन्छ। एक देशमा हुने गतिविधिले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरतामा गम्भीर प्रभाव पार्न सक्ने भएकाले उनीहरू सके विश्वभर, नसके पनि आफ्नो देश वरपर प्रभाव कायम राख्न र हितको रक्षा गर्न सदैब लागिपर्छन्।
विश्व शक्तिहरूबीचको सम्बन्ध प्रायः जटिल र गतिशील हुन्छ। ऐतिहासिक तनाव, आर्थिक चासो र भूराजनीतिक विचारहरू लगायतका कारकहरूको दायराबाट यो प्रभावित हुन्छ।
सामाजिक–धार्मिक सम्बन्ध
यदि देशको छिमेकीसँग बलियो सामाजिक वा धार्मिक सम्बन्ध छ भने दुई देशबीच असहमति वा विवाद हुँदा कूटनीतिक सम्बन्ध झनै जटिल पनि हुनसक्छ। यस्तो अवस्थामा देशले बलियोको पक्ष लिन वा तटस्थ रहन दबाब महसुस गर्न सक्छ।
जस्तो कि: बलियो छिमेकीले आफ्ना सांस्कृतिक वा धार्मिक अभ्यासहरू छिमेकमा थोपर्ने प्रयास गर्न सक्छ। गणतन्त्रपछिका दिनमा नेपालमा इसाई समुदायको विस्तारविरुद्ध नेपालको बलियो छिमेकीको चासो कसैबाट पनि छिपेको छैन। यदि हामीले समयमा यस्ता दबाबहरूलाई बुझ्न/ 'ट्याकल' गर्न सकेनौँ र तिनका सरोकारलाई आफ्नो फाइदामा रूपान्तरित गर्न सकेनौँ भने थप समस्यामा पर्न सक्छौँ। हामीलाई आफ्नै मूल्यहरू जोगाएर राख्न गाह्रो हुनसक्छ।
राजनीतिक संस्कार
हाम्रो आफ्नै आन्तरिक राजनीतिको उतारचढावका कारण पनि हाम्रो राजनीतिक अभ्यास विश्वास गर्न सकिने खालको छैन। हाम्रा राजनीतिज्ञहरूको व्यवहार र प्रतिबद्धता पनि उति विश्वासयोग्य छैन। यसले आन्तरिक रूपमा देश सञ्चालनमा हानि त हुन्छ नै, बाह्य सम्बन्धमा पनि त्यसले प्रभाव पार्छ।
हाम्रा राजनीतिज्ञहरूको स्वार्थमा राष्ट्रिय स्वार्थभन्दा पनि पारिवारिक स्वार्थ हाबी छ भन्ने कुरा कसैबाट लुकेको छैन। व्यक्तिगत, पारिवारिक र पार्टीगत स्वार्थ बोकेका नेताहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धतामा नेपालीले त विश्वास गर्दैनन् नै, छिमेकी र मित्रराष्ट्रहरूले पत्याउँछन् भनेर मान्न गाह्रो छ।
नैतिक दायित्व नभएका राजनीतिज्ञहरू छन् र कूटनीतिक क्षेत्र कार्यकर्तालाई जागिर खुवाउने ठाउँ भएको छ। सुरक्षा निकायमा समेत चरम राजनीतिकरण भएका कारण छिमेक तथा मित्रराष्ट्रसमक्ष हाम्रो विश्वसनीयता कमजोर हुँदैछ। कूटनीतिको 'क' पनि नबुझेका र राजनीतिक रङमा रङिएकाहरूको हातमा कूटनीतिको जिम्मा दिँदा हाम्रो कूटनीतिको हालत के होला, हामी अनुमान गर्न सक्छौँ।
समग्रमा, ऐतिहासिक, रणनीतिक, आर्थिक र वैचारिक कारकहरूको संयोजनले गर्दा ठूला छिमेकी राष्ट्रले नजिकका देशहरूसँग सुरक्षा र कूटनीतिबारे चिन्ता गर्न सक्छन्। यी चासोलाई सम्बोधन गर्न र शान्तिपूर्ण सम्बन्ध कायम गर्न छिमेकसँग रचनात्मक संवाद र कूटनीतिमा संलग्न हुनु महत्त्वपूर्ण छ।
दुःखको कुरा, राष्ट्रको स्वार्थलाई कूटनीतिक माध्यमबाट हल गर्नुको साटो आफ्नो या आफ्नो पार्टीको राजनीतिक स्वार्थका लागि राष्ट्रियताका नाममा बाटोमा उफ्रेर या सञ्चारमाध्यममा कराउँदै तमासा देखाउने अभ्यास हाम्रोमा छ। यसले आफू कमजोर र नालायक भएको प्रमाणित गर्नेबाहेक अरू केही हुनेवाला छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
