जनतासमक्ष भ्रष्टाचार नियन्त्रण र सुशासनको रामराज्यको प्रतिबद्धता दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यन्त जनप्रिय दलका रूपमा निर्वाचनले स्थापित गरिदियो।
नेपालमा नयाँ पुस्ताको आन्दोलनले सत्ता र शासनमा परिवर्तनका लागि युवाहरूलाई अघि बढ्न प्रेरित गर्यो। देशभित्र कलिलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा थियो। बालेनजी लगायत स्वतन्त्र उम्मेदवारहरू सन् २०२२ मा देशका विभिन्न स्थानमा स्वतन्त्र हैसियतमा मेयर पदमा निर्वाचित भएपछि रविजीको दृष्टि यसतर्फ पर्यो। उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता गरे। दर्ता गरेको करिब तीन महिनामै आम निर्वाचनमा प्रतिस्पर्धा गर्न पुगे। २१ स्थानमा विजय हासिल गरी राष्ट्रिय पार्टीको रूपमा स्थापित भए। यसबाट युवाहरू थप उत्साहित हुन पुगे। विश्व परिवेशमा विभिन्न समयमा युवाहरूले परिवर्तनका लागि अभियान छेडी सफल भएका छिटपुट उदाहरण देखिन थालेका थिए। यो दृश्य पनि नेपालका युवाहरूको नजरमा परेको थियो।
मित्रराष्ट्र श्रीलङ्का र बांगलादेशको परिवर्तनबाट यी युवाहरू थप उत्साहित हुन पुगेका हुन्। अन्तर्राष्ट्रिय स्तरमा युवाहरू राष्ट्रिय राजनीतिमा सफल हुँदै गएको दृश्य देखिनु, पुराना दलहरू र यिनीहरूले सञ्चालन गरेको शासन सत्ताप्रति नेपाली नागरिकहरूमा चरम वितृष्णा उत्पन्न हुनु, यही अवसरको फाइदा उठाउने प्रकारले जनताका मागहरू पूरा गर्ने प्रतिबद्धतासहित नेपालका युवाहरू राजनीतिमा क्रियाशील देखिनुजस्ता सन्दर्भहरू हालको निर्वाचनमा युवाहरूको विजयको आधार बन्दै गएका हुन्। नतिजा हामी सबै सामु छ। यो नतिजा नेपाली मतदाताले सोचे अनुसारको थियो त? यो स्तरको दक्षता युवाहरूमा देखिएकै हो? नेपालका राजनीतिक विश्लेषकहरूले यसलाई स्वाभाविक रूपमा लिएका थिए वा उनीहरूको अनुमान दुई तिहाइ बहुमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने थियो? थिएन भने यस प्रकारको सफलता किन अप्रत्याशित रूपले प्राप्त भयो? यस आलेखको उद्देश्य यही विषयलाई स्पष्ट पार्ने रहेको छ।
के कस्ता प्रतिस्पर्धीहरूले विजय हासिल गरे?
नेपाली मतदातामा अत्यन्त ठूलो आक्रोश पुराना दलहरूमाथि देखियो। यिनीहरूलाई सबै प्रकारका विकृति र विसंगति आमन्त्रण गर्ने कारकको रूपमा मतदाताहरूले लिँदै गए। पुरानाहरूलाई विस्थापित गर्ने प्रतिस्पर्धामा देखिएका विवादास्पद चरित्र भएका उम्मेदवारहरूलाई पनि पुराना दलहरूको नेतृत्व तहलाई स्मरण गर्दै उनीहरूको तुलनामा असल प्रतिस्पर्धीको रूपमा ग्रहण गर्न थाले। राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाहलाई जोड्नु र उनैको नेतृत्वमा भावी सरकार बन्ने गरी जनताका समक्ष जानु राष्ट्रिय स्वतन्त्र पार्टीको रणनीति अत्यन्त सफल देखियो।
यसमा धेरै प्रकारका अनुमान गर्न नसकिएका दृश्यहरू देखिए। केही उदाहरणहरू प्रस्तुत गरौँ। उम्मेदवार नै नभएको निर्वाचन क्षेत्रमा पनि समानुपातिकतर्फ मतहरू परेको देखियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू हेर्दा विभिन्न थरीका छन्। यहाँ सिनेकर्मीदेखि पत्रकारहरूसम्म, सामाजिक अभियन्तादेखि आपराधिक चरित्रका सम्म, धार्मिक भड्काउका अभिव्यक्ति दिनेदेखि संस्कृति कर्मीसम्म, गायक गायिकादेखि कानुन व्यवसायीसम्म, आफ्ना घरपरिवार सम्हाल्न नसक्नेदेखि सामाजिक विशृङ्खलता फैलावट गर्नेसम्म, निर्वाचन गराउने जिम्मेवारी लिएर स्वतन्त्र हैसियतमा मन्त्री बनेकाहरूदेखि वैज्ञानिक आविष्कारकसम्म निर्वाचनको मैदानमा प्रतिस्पर्धामा देखिए।
मलाई मत दिए पनि हुन्छ, नदिए पनि हुन्छ, मन लागे दिनुस्, मन नलागे नदिनुस् भन्दै मतदाताहरू समक्ष प्रस्तुत हुने उम्मेदवार पनि देखिए। उनले मतदाताहरूको ठूलो माया र स्नेह प्राप्त गरे। अन्य प्रतिस्पर्धीहरूले निर्वाचनमा ठूलो रकम धनराशि खर्च गरे। तर यिनले जनताबाट निर्वाचनमा सहयोग नगद स्वरूप नै प्राप्त गरे। यस्तो उदाहरण नेपालको निर्वाचनमा सम्भवतः यो पहिलो हो। नयाँ पार्टीकै रूपमा खासै लामो अवधि राजनीति नगरेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सबै दलहरूका अवसर नपाएका असन्तुष्टहरूको जमघट देखियो। समग्रमा टालाटुली बटुली कति राम्री पुतली भनेझैँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनको मैदानमा उत्रिएको थियो। यस देशका राजनीतिक विश्लेषकहरू, प्राज्ञ र बुद्धिजीवीहरू, समाजका अग्रजहरू सबैको अनुमान यस निर्वाचनले मिथ्या साबित गरिदियो। जनतासमक्ष भ्रष्टाचार नियन्त्रण र सुशासनको रामराज्यको प्रतिबद्धता दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यन्त जनप्रिय दलका रूपमा निर्वाचनले स्थापित गरिदियो।
पराजय भोग्नै नहुने ठानिएका असल र आदर्श पात्रहरू समेत पराजित भए। भ्रष्टाचार नियन्त्रणको नारा दिएर जनतासमक्ष प्रस्तुत भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले 'भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो' भन्ने दृढता व्यक्त गर्ने प्रतिस्पर्धीलाई पनि पराजित गरिदिए। लामा लामा अभिव्यक्ति दिएर नथाक्ने, उखान टुक्कामा विशारद प्राप्त गरेका र लामो समय सत्तामा बसेकालाई मासका सामुन्ने उभिएर आधा घण्टा भाषण गर्ने हैसियतसमेत नराख्ने र्यापरले अत्यन्त ठूलो भारी मतका साथ पराजित गरे। समाज सेवामा अब्बल प्रमाणित भएकी एक उम्मेदवारलाई आफ्नो छवि स्वदेश र विदेश सबैतिर विवादित बनाएकाले समेत भारी मतले पछि पारे।
आफ्ना निर्वाचन क्षेत्रमा अत्यन्त ज्यादा सेवा पुर्याउने स्वास्थ्यकर्मी चिकित्सकलाई पनि मतदाताले आफूलाई लगाएको गुणको बदला अवगुणले नै जवाफ दिए। लोडसेडिङ अन्त्य गरेर प्रत्येक परिवारमा, खास गरी गृहिणीहरूको तर्फबाट प्रशंसा पाइराखेकालाई उनकै जात/वर्ग विशेषको मतदाताहरू रहेको भनिएको स्थानबाटै एउटा सामान्य पूर्व सुरक्षाकर्मीले राजनीति गर्न नै निरुत्साहित हुने अवस्था बनाए। सामाजिक सञ्जालमा अत्यधिक चर्चा पाएका भाइरल उम्मेदवारलाई मतदाताले दिएको मत पनि लज्जास्पद देखियो। आफ्नो क्षेत्रको मुहार परिवर्तन गर्न सफल देखिएकी अब्बल दर्जाकी मेयरले पनि सफलता प्राप्त गर्न सकिनन्।
विश्वकै धनीमानीको सूचीमा नाम दर्ज गराएर नेपालकै ठूलो करदाताका रूपमा स्थापित भएकालाई पनि मतदाताहरूले प्राथमिकतामा राखेनन्। सबैलाई आतंकित बनाउँदै हिँडेका डनलाई पनि मत दिने आश्वासन मात्रै प्राप्त भयो। यस्तैयस्तै परिस्थिति यो निर्वाचनले बनायो। कतिपय मतदातालाई त उम्मेदवारको नाम पनि थाहा भएन। उनीहरूलाई दुई वटा कुराहरू थाहा थियो–पुराना दलहरूले देश बिगारे, नयाँ दल भनेको घण्टी हो। त्यसैले घण्टी चिन्हमा स्वस्तिक छाप लगाउने एक मात्र अर्जुन दृष्टि अधिकांश मतदातामा देखियो। सम्भवतः यस प्रकारको निर्वाचन विश्वमै नेपालमा मात्र देखिएको चर्चा भइरहेको छ।
निर्वाचन परिणामले दिएको सन्देश: यस पटकको संसदीय निर्वाचनलाई मतदाताहरूले निर्वाचनका रूपमा लिएनन्। निर्वाचनको तिथिमितिको प्रतीक्षा गरी नयाँ युवाहरूलाई देशको शासन सत्ताको साँचो तालो सुम्पने तिथिका रूपमा ग्रहण गर्न पुगे निर्वाचनलाई। विशेष गरी शोषित श्रमिक वर्गको उत्थानका लागि राजनीति गर्दै आएको मिथ्या नाराका आधारमा अघि बढेका साम्यवादी राजनीतिज्ञहरूलाई प्राय: अस्तित्वविहीन बनाएको सन्देश दियो चुनावले, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीले विश्लेषक, चिन्तक र चेतनशील नागरिकहरूको भन्दा अशिक्षित, गरिबीको रेखामुनि रहेका मतदाताहरूको कुण्ठा र आक्रोशको अभिव्यक्ति मतपेटिकामा गरिदिए।
हालका दिनसम्म नेपाली काँग्रेस पार्टी लोकतन्त्रको पर्यायको दाबी गरिराखेको थियो। मतदाताले पनि यसका आदर्श, मूल्य, मान्यताहरूका आधारमा लोकतन्त्रवादी दलका रूपमा ग्रहण गरेको देखिन्थ्यो। तर यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई उदार लोकतन्त्रवादी शक्तिका रूपमा स्थापित गरेको छ। यस अर्थमा अब लोकतन्त्रवादीको कित्तामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी दुवै उभिएका छन्। हालसम्मको निर्वाचनमा मत माग्न जाँदै गर्दा विकास निर्माणको आशा देखाउने, लामा लामा भाषणबाट मतदातालाई विश्वस्त बनाउने गरी आएको अवस्था थियो। तर बालेनजीको देशव्यापी दौडाहमा उनले जनकपुरमा छोटो अभिव्यक्ति दिनुबाहेक खासै भाषण गरेनन्। उनी जुन ठाउँमा पुग्थे, त्यहाँ उनीप्रति ठूलो आकर्षण देखिन्थ्यो।
निर्वाचन परिणामले पनि राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा ज्यादा व्यक्ति बालेनलाई विश्वास गरेको देखियो। यस अर्थमा पुरातन चुनाव प्रचार शैलीले यस निर्वाचनमा खासै काम गर्न सकेको देखिएन। दलीय आबद्धता भन्दा व्यक्तिगत स्वतन्त्रताका पक्षपातीका रूपमा मतदाताहरू देखिँदै गए। यस निर्वाचनमा थोरै सङ्ख्यामा विजय हासिल भए पनि सांस्कृतिक सभ्यताको राजनीतिमा उदय गराउने श्रेय हर्क साम्पाङले प्राप्त गरे। लामो समययता मधेशवादी दलका रूपमा अस्तित्वमा आएका दलहरूका उम्मेदवारहरू सबैतिर पराजित बने। मधेसीहरूको र यस क्षेत्रको उत्थानको अजेन्डा बोकेर पटक पटक शासनसत्तामा पुगी अवसरवादी चरित्र बनाएकाहरूलाई मतदाताहरूले राम्ररी स्वाद चखाए। मूल्य, मान्यता, आदर्श विकास निर्माण भन्दा ज्यादा सेवा प्रभाव प्रवाहलाई मतदाताहरूले प्राथमिकतामा राखे।
यो अपेक्षा पुराना दलहरूबाट लामो समययता पूरा हुन सकेको थिएन। क्याडरमा आधारित राजनीतिलाई अस्तित्वविहीन बनाउँदै आम जनताले आफ्नो स्वतन्त्रताको उपभोग अत्यन्त राम्ररी गरेको देखियो। नेतृत्वविहीन आन्दोलन र ब्यालेटको माध्यमबाट सत्ता परिवर्तन गर्न सक्दो रहेछ भन्ने स्थापित भएको छ। ३५ वर्षको अवधिमा बिस्तारै आर्थिक नीति र परराष्ट्र नीति कमजोर बनाउँदै लगेकाले पनि लामो अवधि शासन गरेकाहरू पछि परेको निष्कर्ष यो निर्वाचनको हो। दलको आदर्श, मूल्य, मान्यता, सिद्धान्त, नीति र नेताको अपरिहार्यता अस्वीकार गर्दै सामान्य नागरिक निर्वाचनमा होमिएर एकै पटक सफल भएका थुप्रै उदाहरण देखिए। विविध विधाबाट राजनीतिमा प्रवेश गर्दा सफलता प्राप्त गर्न नसक्ने विश्वका धेरै देशहरूको राजनीतिक इतिहासलाई पनि नेपालको यस निर्वाचनले मिथ्या साबित गरिदियो।
स्थापित ठूला राजनीतिज्ञहरूलाई अन्य विधाबाट प्रवेश गरेका सेलिब्रिटीहरूले पनि पराजित गरिदिए। निर्वाचनको केही समययता अत्यन्त ठूलो र महत्त्वपूर्ण औजारको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको डिजिटल प्रचारप्रसारले निर्णायक भूमिका निर्वाह गरेको देखियो। उदाहरणका लागि विकसित सहरहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजय हुनु र विशेष गरी दुर्गम क्षेत्रहरूमा पुराना दलहरूको केही स्थानमा विजयश्री प्राप्त गर्नुले यही सन्दर्भलाई प्रस्ट पारेको छ। लामो समय राजनीतिक अस्थिरता देशमा व्याप्त रह्यो। मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका देशहरूमा सबैतिर प्राय: मिलीजुली सरकार गठन भएको देखिन्छ। यस्तो प्रणालीमा आरामदायी बहुमत प्राप्त गरेर सरकार बन्न सक्दैन भन्ने जुन भाष्य निर्माण भएको थियो, त्यसलाई निर्वाचनले अस्वीकार गरेको छ।
सरकारको अस्थिरताको कारण साम्यवादीहरू हुन् भन्ने प्रमाणित भएको छ। उनीहरूले अतिवादी कम्युनिस्टहरू र संसदवादी कम्युनिस्टहरूका बीचमा गठबन्धन गरेर सरकार बनाए। त्यसबाट अघि बढ्दा लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई पनि समाहित गरेर कम्युनिस्टहरूले पटक पटक शासन सत्ताको स्वाद लिए। बहुदलीय शासन प्रणालीमा राजनीतिक सिद्धान्त र आदर्शको स्मरण गर्नेहरू अलमलमा पर्न थाले। शान्ति प्रक्रियामा अघि बढ्दै गर्दा लोकतन्त्रवादीहरूको विशेष प्रकारको सम्बन्ध कम्युनिस्टहरूसँग बन्न पुग्यो। सैद्धान्तिक धरातल कम्युनिस्टहरूकै कारण समाप्त भएको थियो। यसरी, भाग्यवाद र नियतिवादमा नेपालको राजनीति डुबेको छ। नैतिकता, सिद्धान्त, आदर्श सबै गौण बनेका छन्।
१८ वर्षदेखि ४० वर्षसम्मका युवाको नेपालमा जनसङ्ख्या ४५% देखिएको छ। यही समूहबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई विजय हासिल गराएको छ। यसले गर्दा स्वायत्त सामाजिक गतिशीलता नेपालको राजनीतिमा प्रस्फुटन भएको स्पष्ट छ। सुधारका लागि पुरानो व्यवस्था र शासकहरूको परिवर्तन अवश्यम्भावी हुन्छ भन्ने विश्वको राजनीतिले देखाएको छ। त्यसैको पुनरावृत्ति नेपालमा भएको हो। राजनीतिक दलहरूको विभिन्न क्षेत्रहरूमा रहेको विरासत तोडिएको छ। विपरीत सिद्धान्त बोकेका दलहरूले त्यस्ता क्षेत्रहरूमा विजय हासिल गरेका छन्।
निष्कर्ष
अब राष्ट्रिय स्वतन्त्र पार्टी शक्तिशाली बनेको छ। जनताले दिएको म्यान्डेटले पाँच वर्षसम्म निश्चिन्त भएर शासन सञ्चालन गर्न सक्छ। तर यो दलबाट सरकारमा जानेका लागि चुनौती प्रशस्त देखिएका छन्। सबै प्रकारका प्रतिज्ञा निर्वाचनका समयमा जनतासमक्ष दलका तर्फबाट भएका छन्। देशको स्रोत, साधन, प्रविधि, विज्ञता, सीप र संस्कारले पनि ती काम गर्न अत्यन्त कठिन छ। राजनीतिक संस्कार र गुणहरूको अभावमा खडा भएको युवा बाहुल्य दलले विजय हासिल गरेको छ। सरकारका लागि भूराजनीति र परराष्ट्र नीतिमा सन्तुलन गर्ने सबैभन्दा ठूलो चुनौती छ। जेनजी आन्दोलनले अवसर दिएको सरकारलाई यिनै आन्दोलनकारीको माग पूरा गर्ने सन्दर्भ जटिल बनेको छ।
नेतृत्वविहीन आन्दोलनले परिवर्तन सम्भव बनाएको छ। राजनीतिक अनुभव अत्यन्त कम भएकाको बाहुल्यता अबको सरकारमा देखिनेछ। नेपालको परराष्ट्र नीति दोबाटोमा उभिएको अवस्थामा दुई वटा ठूला ठूला छिमेकी राष्ट्रहरूसँग सम्बन्ध स्थापित र विस्तार गर्दा रणनीतिक आधारमा दुवैलाई सन्तुष्ट राखी सबै प्रकारका फाइदा देशले लिन सक्ने गरी अघि बढ्नुपर्छ। त्यो क्षमता अबको सरकारमा हुनु अनिवार्य छ। सुरक्षा निकायदेखि सरकारका स्थायी सम्पूर्ण संयन्त्रहरूमा मनोबल गिरेको अवस्था छ। मनोबल गिरेको जनशक्तिबाट सेवा प्रवाह गर्नुपर्ने अवस्थाबाट सरकार अघि बढ्नु पर्छ।
राज्यका स्थायी संयन्त्रहरू लामो समययता राजनीतिक नेतृत्वको नियन्त्रणको अभ्यस्तता थियो। यसलाई सुधार गर्न अत्यन्त कठिन छ। सामाजिक मुद्दाहरूलाई निर्वाचनको समयमा पनि खासै सम्बोधन राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको देखिएन। संसदमा देखिने विभिन्न, धर्म समुदाय र क्षेत्रहरूको प्रतिनिधित्वको अवस्था सन्तुलित देखिँदैन। यसले सरकारप्रति असन्तुष्टि प्रारम्भकै दिनहरूमा व्यक्त हुन सक्छ। भ्रष्टाचार केही हदसम्म नियन्त्रण हुन सक्छ, तर पूर्ण रूपमा हुन सक्दैन। किनकि उल्लेखनीय रूपमा नियन्त्रण गर्न सामाजिक संरचनामा नै परिवर्तन जरुरी हुन्छ।
यो निर्वाचन परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पनि अप्रत्याशित हो। उनीहरूलाई थेग्न नसक्ने किसिमको जिम्मेवारी र दायित्वको बोझ आइपरेको छ। राजनीतिमा लामो अनुभव छैन। यसमा वैज्ञानिक न्युटनको भनाइ अत्यन्त सान्दर्भिक देख्दछु। उनले भनेका थिए। “म टाढासम्म देख्न सक्छु, किनकि म आफ्ना पूर्वजहरूको काँधमा उभिएर खडा भएको छु।” यसको अर्थ हो–लामो अनुभव, राजनीतिक संस्कार र राजनीतिक इतिहास नै सफलताका लागि अपरिहार्य हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी र यसबाट विजयी भई प्रतिनिधित्व भएको सरकारले यसतर्फ विशेष गम्भीर हुनु अत्यावश्यक छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
