‘पछिल्लो १०–१५ वर्षमा देउवा, ओली र प्रचण्डमा के राजनीतिक क्रियाशीलता पाइयो त? मैले त केही पनि पाएको छैन। उनीहरूबाट अब पनि अपेक्षा गर्नु हाम्रो मुर्ख्याइँ मात्रै हो।’
तपाईं हालै रुकुम पूर्व, रोल्पालगायत मध्यपहाडका जिल्ला पुगेर आउनुभयो। मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग पुगेको त्यो ठाउँको खबर के पाउनुभयो?
यसपालि ३२ वर्षपछि त्यहाँ पुग्ने अवसर मिल्यो। लिवाङ, थबाङ, खाबाङ, काँक्री, तक, तल्लोसेरा, माथ्लोसेरा, बाछी, हुकाम हुँदै मैकोटसम्म पुगेर फर्किएँ। मालाई के लाग्यो भने केलाई परिवर्तन भन्ने केलाई विकास भन्ने केलाई समृद्धि भन्ने जटिल प्रश्न उब्जिएको छ। आरसीसी बिल्डिङले भरिएका छन्। मानिसहरू पनि कम छन्। त्यतिबेला त्यहाँ डुल्दा माटो र ढुंगाले बनेका घरहरूमा बसेको थिएँ। अहिले त विकास भनिरहेका छौँ तर त्यसले विनाश गरिरहेको छ। विकासले सुख दिएको छैन। पहिले जाँदा पनि बाटो बनाउँदै थिए। अहिले पनि त्यही बाटो बनाउँदै छन्। विकासको सपनामा त्यतिकै मरिने रहेछ जस्तो लाग्यो।
रुकुमको मैकोटबाट बिहान जिप चढेर काक्री भन्ने ठाउँमा पुगेँ। गाडी भिरबाट खस्ला कि भन्ने डरैडर भयो बाटोभरि। त्यहाँबाट भाइटबस चढेर काठमाडौँ फर्किएको थिएँ। त्यो २४ घण्टाको यात्रामा सायदै ५–१० मिनेट मात्रै सुत्न सकियो। गाडी चढेपछि नउत्रेसम्म डरैडर छ। मैले के भन्न खोजेको भने, यत्रोसम्ममा हामीले विकासको नाममा जे गरिरहेका छौँ त्यसले एउटा वर्गलाई क्षति भइरहेको छ। हाम्रो समृद्धि र समुन्नतिको आकांक्षा र चाहना सर्वसाधारणलाई थाहा हुने विज्ञ र नेतालाई थाहा नहुने पनि हुन्छ र? यो विसंगति हल नभईकन हाम्रो विकासको आकांक्षा कसरी परिपूर्ति होला र?
हिमाली र पहाडी जिल्लाहरू बसाइँसराइले रित्तिँदै गएका छन्। तराई र शहरी क्षेत्र चाहिँ भरिँदो छ। यस्तो किन भइरहेको छ?
पहिलो कुरा त हाम्रो संस्कृतिमै समस्या रहेछ। म २०२७ सालमा तेह्रथुमबाट आमासँग सुनसरी झरेको थिएँ। मधेशमा प्रशस्त धानको भात खान पाइन्छ भन्ने थियो। पाइयो पनि । तर मान्छेको जीवनको सार्थकता या आकांक्षा पूर्तिको सूचक धानको भात हो त? होइन रहेछ। यसरी धानको भात खान हिमालको उवा जौ आलु खाएका र पहाडका कमै कोदो अट्टे ताउली धान खाएका मान्छे धानको भात खान मधेश झर्यौँ। अहिले मात्रै यो त गल्ती रहेछ भन्ने थाहा भयो। अब यो जनसंख्या कहिले पहाड र हिमाल उक्लिएर उवा र जौ खाला? अर्कातिर तराईबाट काठमाडौँ आयौँ। पिज्जा खान थाल्यौँ। मैले के भन्न खोजेको भने, हाम्रो जनसंख्याको कुरो, अर्थव्यवस्थाको कुरो, दैनिक जीवनयापनको कुरो, हाम्रो संस्कृति र संस्कारहरूका गलत मूल्य र मान्यताले पनि यसमा प्रभाव पारेको रहेछ। जनसंख्या असन्तुलित बनाएको रहेछ।

हामीले गरेको विकास नाम मात्रैको भएको हो त?
यसमा के छ भने, मैले यात्राका क्रममा मध्यपहाडी लोकमार्गलाई रुकुमको खबाङमा भेटेँ। नौ मिटर चौडा पिचबाट एकदमै राम्रो छ। यहाँबाट बसमा बागलुङ र रुकुमको सिमानासम्म साढे तीन घण्टाको यात्रामा एक–दुई वटा निजी स्कुलका गाडी मात्रै भेटिए। अरू कुनै पनि पब्लिक र प्राइभेट गाडी देखिनँ। जबकि, चिवा भञ्ज्याङदेखि झुलाघटसम्म नौ मिटर चौडा बाटो बनेको छ। नजिकै मदन भण्डारी मार्ग पनि बन्दैछ। यी राजमार्ग बन्दा जनसंख्याको चापलाई कत्तिको मूल्यांकन गरियो? नौ मिटर बाटो दुई घुम्ती मात्रै पर्यो भने मान्छेको पाँच–सात रोपनी जग्गा सकिएको छ।
पहाडको जनसंख्याको घट्दो अवस्था हेर्ने हो भने मध्यपहाडी लोकमार्गको औचित्य कति छ? मदन भण्डारी राजमार्गको औचित्य कति छ? तर यहाँ प्रश्न मात्रै छैन उत्तर पनि छ। हामीले उच्च शिक्षालाई मध्यपहाडी लोकमार्गमा केन्द्रित गर्न सकिन्छ। किनभने झापाको दमकमा नौ महिना गर्मी हुन्छ। विद्यार्थीले राम्ररी पढ्न सक्दैन। तराईको मौसम विद्यार्थी र सामान्य मानिसका लागि उपयुक्त हुन छाड्यो। यस्तो अवस्थामा मध्यपहाडी लोकमार्ग केन्द्रित उच्च शिक्षा भयो भने बिर्तामोडबाट विद्यार्थी फिदिममा सिफ्ट हुन्छन्। यसले के हुन्छ भने तराईको जनसंख्या पहाडी तथा हिमाली क्षेत्रमा उक्लिन थाल्छ। यसले पहाडको महत्व बढ्न सक्छ। तर यो विषय कसले उठाउने? अहिले निर्वाचन हुन लागेको छ। कसैले मध्यपहाडी लोकमार्गको उपयोगका विषयमा, उच्च शिक्षाको विषयमा कृषि र पर्यटनको विषयमा कसैले बहस गरेका छन् त? छैन । यहाँ त केपी ओलीलाई हराउने कि जिताउने प्रचण्डलाई हराउने कि जिताउने भन्ने मात्रै छ।
मुलुकमा जेन–जी आन्दोलन भयो। कांग्रेस–एमालेको सरकार ढल्यो। संसद् विघटन भयो। धेरै क्षति पनि भयो। यो अवस्था आउनुमा को दोषी जिम्मेवार छ?
२०७९ सालमा प्रतिनिधिसभा निर्वाचन भएयता कति वटा विधेयकहरू पारित भए? ती कानूनहरूको कार्यान्वयन कसरी भइरहेको छ? थाहा पाउन सकिएन। संसद् छ भन्ने महसुस भएन। टेलिभिजनमा हेर्दा सांसदहरू सुतिरहेका मात्रै देख्यौँ। सरकारले संसद्लाई प्रभावकारी बनाउन सकेन। कांग्रेस र एमाले गठबन्धन गरेर संसद्लाई शून्यमा पुर्याए। संसद्को आमचरित्रको हत्या भयो। अनि सांसदहरू सुतेर बसे। यहीबीचमा भदौ २३ र २४ गते नसोचेको घटना भयो। तर असन्तुष्टि त थियो। किनभने हामी त त्यो संसद् चलायमान भएको चाहन्थ्यौँ नि। हाम्रा मुद्दामा बहस भएको हेर्न चाहन्थ्यौँ नि। तर त्यसो हुन सकेन। यही क्रममा जेन–जी आन्दोलन भयो। त्यो पुस्ताको सामान्य विरोध मात्रै थिएन, जनविद्रोह नै थियो।
यसपछि संसद् विघटन भयो। कामबेगर संसद् रहनुभन्दा विघटन गर्नु नै राम्रो हो। तर विकल्प त फेरि संसद् नै हो। तर फेरि पनि सांसदहरू सुतेर बस्छन् भने यो संसदीय व्यवस्था कसरी प्रभावकारी होला त? हामी अहिले एक खालको बिलखबन्दमा गुज्रिराख्या छौँ। यो अवस्था ल्याउने दलका नेताहरू नै हुन्। यो कसरी भयो भने नेताहरू एक त बुढा भए, उनीहरूलाई राजनीतिक क्रियाशीलता भएन। देउवा, ओली र प्रचन्डमा के राजनीतिक क्रियाशीलता पाइयो त पछिल्लो १०–१५ वर्षमा? मैले केही पनि पाएको छैन। यी पाको उमेरका नेताहरू थाकिसके। उनीहरूबाट अब पनि अपेक्षा गर्नु हाम्रो मुर्ख्याइँ हो।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। यसबाट चुनिएर आउने प्रतिनिधिले जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सक्लान्?
अपेक्षासम्म गर्न सकिन्छ तर विश्वास नै गर्न सकिने अवस्था छैन। किनभने नेकपा एमाले यसको विरुद्धमा गइरहेको छ। जेन–जी राजनीतिक संगठन होइन। एमाले, कांग्रेस, माओवादी कसैको विरोधी पनि होइन। एउटा ऊर्जाशील उमेर समूह न हो। उनीहरूले ‘इनफ इज इनफ’ भनेर जुन इन्टरभेन्सन गरे, यसलाई कुनै पनि दलले आफ्नो विरोधमा आएको भन्ने सम्झिनु हुँदैन। यसबाट त हामीले पाठ पो सिक्ने हो त। हामीलाई सतर्क गराए। हामीले कुर्सी छाड्नुपर्छ। नैतिक दायित्व लिएर अरूलाई ठाउँ दिनुपर्छ। यही आन्दोलनको कारण कांग्रेसमा दर्जनभन्दा बढी नेताहरू हेर्दाहेर्दै उपायविहीन अवस्थामा पुगिसके। एमालेमा त्यस्तो देखिएन।
किनभने नेपाल सामान्य परिस्थितिमा भइदिएको भए ६०–७० वर्षसम्मका नेताहरू कुर्सीमा बस्न सक्थे। तर त्यो अवस्था छैन। नेताहरू हरेक गतिविधिमा क्रियाशील हुनुपर्यो। त्यो क्रियाशीलता जेन–जीहरूले मागेको हो। दलहरू भने उनीहरूलाई आतंककारी, विदेशीको चलखेल भनिरहेका छन् जुन अवास्तविक हो। आफ्नै छोराछोरीलाई गाली गरेर, आफ्नै सन्तानलाई आतंककारी घोषणा गरेर कसरी शान्ति सुव्यवस्था कायम हुन्छ? त्यसकारण जेन–जी आन्दोलन सही थियो कि गलत? भन्ने जनमत संग्रह पनि यो चुनाव हो।
अहिले जसरी नेपालको राजनीतिमा नयाँ शक्तिहरूको उदय भइरहेको छ। यो स्वाभाविक हो?
एउटा उमेर समूहले त त्यत्रो आन्दोलन गर्यो भने। नयाँ दलहरू खुलेर संसदीय चुनावमा ‘इन्टरभेन्सन’ गर्नु राम्रो कुरा हो। सुझबुझका साथ नयाँशक्ति आउनु, हामी जित्छौँ, प्रधानमन्त्री हुन्छौँ भन्नु अन्यथा होइन। तर अहिलेसम्मको अवस्था हेर्दा कस्तो देखिन्छ भने, पुराना नेताहरू एउटा आदर्शबाट आए भ्रष्ट भएर निस्किए, नयाँ शक्तिहरू आदर्शबाट आफूलाई स्थापित गर्नुभन्दा पनि भ्रष्ट बानी बेहोराबाट शुरू गरे, भ्रष्ट नै भए। दुईटै हेर्दाखेरी समान देखिन्छ। हामीले चाहेको आदर्शवान् नेताहरू हो। त्यो आदर्श, विश्वास, मूल्य मान्यताबाट आउने नयाँ नेताहरू मात्रै राज्य व्यवस्थाको कुर्सीमा देख्न चाहेका छौँ। त्यो चाहिँ नयाँहरूले देखाउन सक्नुपर्यो। नत्र त ‘करप्ट’हरूको ‘म्युजिकल चियर’ जस्तो मात्रै भयो। जब म्युजिकल चियरमा करप्टहरू मात्रै घुमिरहेका छन् भने तपाईंले ‘करेप्टेड संस्कृति’ नै पाउनुहुन्छ।
निर्वाचनमा नागरिकका मुद्दा प्राथमिकतामा पर्नुपर्नेमा अर्कालाई दोषारोपण गर्ने, गाली गलौच गर्ने प्रवृत्ति छ। यसमा दल र उम्मेदवारले किन ध्यान नदिएको होला?
राजनीतिक दलका मान्छेहरू ‘डिभाइड एन्ड रुलको फेलोसोफी’बाट आउनु हुँदैन। हो, समाज विविधतापूर्ण छ र विभाजित पनि छ। त्यसलाई एकीकृत गर्ने ‘माइन्डसेट’बाट नेताहरू आउनुपर्छ। जस्तो: केपी शर्मा ओली भावी प्रधानमन्त्री भन्दै झापा–५ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा छन्। तर उनले दमक र धनुषा तुलना गरिराख्या छन्। उनी ‘मधेशभन्दा दमक धेरै एड्भान्स र भव्य भन्दै छन् भने धनुषा र महोत्तरी खत्तम’ भन्दै छन्।
एउटा नेताले एउटा समुदाय राम्रो अर्को समुदाय नराम्रो भन्नु ‘रेसिस्ट र फासिस्ट’ सोच हो। हामीमा विविधता छ। विसंगति छ। कमजोरी छन्। तर प्रधानमन्त्रीको सम्भावित उम्मेदवारले बोल्दा कसैलाई तुच्छ वचन बोल्ने कसैलाई देवत्वकरण गर्ने गर्नु हुँदैन। नेताहरूले एकीकृत समाज निर्माण कसरी गर्ने भन्ने ध्येय राख्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
