अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न १२ विश्वविद्यालयका विद्यार्थी नेपालका नदी, वन, वन्यजन्तु र संरक्षणको विषयमा पढ्न आउने गरेका छन्। कतिपयले त पूरै एक सेमेस्टर यतै बसेर पढ्छन्।
काठमाडौँ– पढ्नकै लागि नेपालबाट हरेक वर्ष लाखभन्दा बढी विद्यार्थी बिदेसिन्छन्। गत आर्थिक वर्षमा मात्रै एक लाख २३ हजार ५८९ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएका थिए। नेपालका विद्यार्थी बाहिरिइरहेको बेला राष्ट्रिय प्रकृति संरक्षण कोषले भने विदेशी विश्वविद्यालयका विद्यार्थी नेपाल ल्याएर पढाइरहेको छ।
कोषको समन्वयमा विभिन्न देशका १२ विश्वविद्यालयका विद्यार्थी नेपाल आएर नदी, वन, वन्यजन्तु र संरक्षणको विषय पढ्छन्। कोषका सदस्यसचिव डा. नरेश सुवेदीका अनुसार, अमेरिकाको ओरिगन स्टेट युनिभर्सिटी, अस्ट्रेलियाको न्युक्यासल र फेडरेसन युनिभर्सिटी, नर्वेको इन्ल्यान्ड युनिभर्सिटीका विद्यार्थी आउने गरेका छन्। अमेरिकाका वायोमिन युनिभर्सिटी र मोन्टाना स्टेट युनिभर्सिटीका विद्यार्थी पनि यस वर्षबाट आएका छन्।
विद्यार्थीले ६ वटा ‘इन्टरनेसनल कोर्स’को पढाइ नेपालमा पनि गर्ने डा. सुवेदी बताउँछन्। उनी भन्छन्, “म कोषको नेतृत्वमा आइसकेपछि केही फरक गरौँ, विदेशीलाई ल्याएर पढाउन सकिन्छ कि भन्ने लाग्यो। अनि विदेशका विश्वविद्यालयसँग समन्वय गरेर शुरू गर्यौँ।”
गत वर्ष कोषले ११५ विदेशी विद्यार्थी ल्याएर यहाँको वन्यजन्तु संरक्षणबारे अध्यापन गराएको थियो। यो वर्ष झन्डै १५० विद्यार्थीले अध्ययन गरिरहेका छन्। “यो वर्ष पनि सबै विद्यार्थी अस्ट्रेलिया, अमेरिका, नर्वे, युरोपबाट आइरहेका छन्। पहिले उनीहरूको आवश्यकता कस्तो छ, कुनकुन कुरा अध्ययन गर्न चाहन्छन् बुझेर कोषले अध्ययनको कार्यक्रम संचालन गर्छ,” सदस्यसचिव सुवेदी भन्छन्।
अनुसार विदेशबाट आउने २० देखि २२ जनासम्मको समूह हुन्छ। उनीहरू स्नातक वा स्नातकोत्तरका विद्यार्थी हुन्छन्। उनीहरूले विश्वविद्यालयको कोर्समध्ये केही ‘क्रेडिट आवर’ यहाँ आएर पढ्छन्। कलेजअनुसार कतिपयले तीन र कतिले आठ क्रेडिटसम्मको कोर्स नेपालमा पढ्नुपर्छ।
यसरी पढ्न आउने केही विश्वविद्यालयका विद्यार्थीसँगै उनीहरूका प्राध्यापक पनि आउँछन्। कतिपय पाठ्यक्रम उनीहरूसँगकै सहकार्यमा बनाइन्छ। “कुनै समूहलाई एक सेमेस्टर नै पढाउँछौँ। कुनैलाई केही हप्ताको कोर्स मात्रै गराउँछौँ,” सुवेदी भन्छन्, “हाम्रा विषयविज्ञले सँगै फिल्डमै लगेर पढाउनुहुन्छ। किनकि, फिल्डमा गएपछि उनीहरू आफैले प्रत्यक्ष रूपमा यहाँका अभ्यासहरू देख्न पाउँछन्।”
के पढाउने?
कोषले विद्यार्थीहरूलाई यहाँको सामुदायिक वन, राष्ट्रिय निकुञ्जहरूमा गरिएको संरक्षणबारे अध्यापन गराउँछ। तराईदेखि हिमालसम्मै भएका राम्रा अभ्यासहरू सिकाउन हिमालसम्मै लगिन्छ। विद्यार्थीलाई अन्नपूर्ण, घान्द्रुक, जोमसोमलगायत ठाउँमा पनि लगिन्छ।
विद्यार्थीहरूले नेपालको संरक्षणका कामसँगै जलवायुका मुद्दा पनि बुझ्छन्। “हाम्रो समुदायमा आधारित संरक्षण प्रणाली छ। यो सबैभन्दा सफल अभ्यास हो। यहाँको सामुदायिक वन अन्य देशका लागि पनि उदाहरण बन्नसक्छ,” सुवेदी भन्छन्, “केही सैद्धान्तिक कुराहरू पनि कक्षामा राखेर पढाउँछौँ। त्यसपछि कम्युनिटीमा पठाउँछौँ र उनीहरूलाई आफैँ अध्ययन गर्न दिन्छौँ।”
अहिले न्युक्यासल विश्वविद्यालयका विद्यार्थीहरू सौराहामा बसेर गैँडा, वनजंगल र मानवसँगको सम्बन्ध पढिरहेका छन्। उनीहरूले संरक्षित क्षेत्रमा कसरी समुदाय जोडिएको छ, पहिला गैँडा जंगलबाहिर सामुदायिक वनमा आउँदा रिसाउने गाउँले अहिले गैँडा आउँदा किन खोज्छन् भन्ने बुझ्दैछन्।
गैँडा हाम्रा लागि आयआर्जनको स्रोत बनेको सुवेदीको भनाइ छ। बाघ, हात्ती, घडियल गोही, चराचुरुङ्गी आदिका कारण पर्यटन व्यवसायमा सहयोग पुगेको छ। उनी भन्छन्, “यदि संरक्षण साँच्चिकै समुदायलाई टच गरेर गरिएको छ भने, त्यसबाट जनतालाई आम्दानीको बाटो खुल्छ। यहाँ पर्यटनलगायत अन्य सम्भावना खुल्छन्।”
विदेशी विद्यार्थीहरूले यहाँको संस्कृति र संरक्षणको सम्बन्धले छोएको प्रतिक्रिया दिने गरेको सदस्यसचिव सुवेदीको भनाइ छ। “पश्चिमी समाजमा जंगलबाट बाहिर आएको जनावरले मान्छे मार्यो भने ‘जिरो टोलरेन्स’ देखिन्छ। जनावर नै मारिन्छ। तर नेपालमा झापामा हात्तीले ठूलो क्षति गर्दा पनि हामी हात्तीलाई मार्दैनौँ। धार्मिक, सांस्कृतिक र सामाजिक कारणले यस्तो सहअस्तित्व सम्भव भएको छ,” उनी भन्छन्, “हात्तीलाई गणेशसँग जोड्ने, बाघलाई देवी दुर्गासँग जोड्ने संस्कार छ। यस्ता कुरा विदेशी विद्यार्थीका लागि बिल्कुल नयाँ अनुभव भएको छ।”
कोषले हाल चितवन, बर्दिया, अन्नपूर्ण, शुक्लाफाँटा, गौरीशंकरलगायत क्षेत्रमा विद्यार्थीलाई अध्ययन गराइरहेका छन्। तर अब बिस्तारै अन्य ठाउँमा पनि अध्ययन गराउने कोषको लक्ष्य छ। अब झापामा भएको हात्ती र मानवको सहअस्तित्वको कथा पढाउन विद्यार्थीलाई त्यहाँ लैजाने तयारी छ।
झापाको मेचीनगरमा स्थानीयले मानव–हात्ती द्वन्द्व कम गर्न सहअस्तित्वको प्रक्रिया अवलम्बन गरेका छन्। त्यहाँका स्थानीयले आफूले लगाउने बालीमा पनि परिवर्तन गरेका छन्।
पहिले धान, मकैजस्ता बाली लगाउने स्थानीय अहिले हात्तीले मन नपराउने चिया, आलु, रबर, कागतीलगायत बाली र फलफूल लगाउँछन्। त्यसो हुँदा हात्ती जंगलतिरै जान्छन्। अहिले कोशीदेखि झापासम्मको क्षेत्रमा भएका संरक्षणका अभ्यासबारे अध्ययन गराउन पाठ्यक्रम डिजाइन भइरहेको सुवेदीले जानकारी दिए।
यो अभ्यासले दुवैतर्फ अवसर सिर्जना गरेको उनको भनाइ छ। नेपालका केही विद्यार्थीले पनि उताका विश्वविद्यालयका सहकार्यमा विदेशमा पढ्न जाने अवसर पाएका छन्। त्यति मात्रै नभई, वन्यजन्तु, समुदाय र संरक्षणसम्बन्धी अनुसन्धानमा पनि सहकार्य भइरहेको छ।
काम, पढाइ र पर्यटन सँगसँगै
कोषले विभिन्न हिमालतिर पदमार्गीले छाडेको फोहोर संकलन र रिसाइकलको काम पनि गरिरहेको कोषका संरक्षण अधिकृत गोविन्द पोखरेल बताउँछन्। यो अभियानअन्तर्गत कोषले विभिन्न संरक्षण क्षेत्रका ट्रेकिङ ट्रेलमा रहेको प्लास्टिक, बोतल र कागज संकलन गरी पोखराको रिसाइकल सेन्टरमा पठाउँछ। गत वर्ष मात्रै अन्नपूर्ण संरक्षण क्षेत्रबाट करिब ३४ टन फोहोर संकलन गरेर रिसाइकल गरेको पोखरेलले बताए।
कोषले विभिन्न किसिमले समस्यामा परेका वन्यजन्तु उद्धार पनि गर्छ। यसका लागि कोषले देशभर ६ वटा उद्धार टोली खटाएको छ। कोशी टप्पु, चितवन, बर्दिया, शुक्लाफाँटा, काठमाडौँ र पूर्वी क्षेत्रमा ती टोली छन्। कतिपयलाई उपचार गरिन्छ, कतिपयलाई संरक्षणका लागि चिडियाखानामा ल्याइन्छ।
“गत वर्ष मात्रै हामीले ६०० भन्दा बढी वन्यजन्तुको उद्धार गरेका छौँ। तीमध्ये ३६ प्रजातिका जनावर थिए। बाघ, चितुवा, हात्तीदेखि लिएर अन्य स्तनधारी र ठूलो संख्यामा चराचुरुङ्गी पनि थिए,” पोखरेल भन्छन्।
वन्यजन्तुको संरक्षणमा उद्धार र उपचारको काम पनि पर्छ। बासस्थान, मानव–वन्यजन्तु सहअस्तित्व जस्ता विषय विदेशी विद्यार्थीले नेपाल आएर धमाधम पढिरहेको कोषले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
