युक्रेनी ड्रोन आक्रमणपछि रुसमा इन्धन संकट

युक्रेनद्वारा रुसी ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध आक्रमणका कारण रुसका अधिकांश भूभागमा इन्धनको चरम अभाव देखिएको छ।

मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डा सहरबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाए।

हाल रुसका केही सीमित क्षेत्रबाहेक प्रायः सबैजसो भूभाग इन्धन अभावबाट ग्रस्त छन्। पछिल्लो समय युक्रेनी आक्रमणले रुसी इन्धन डिपोहरूलाई लक्षित गरेपछि, सन् २०२२ मा द्वन्द्व सुरु भएयताकै पहिलो पटक आम नागरिकको सामान्य जीवनमा समेत गम्भीर बाधा पुगेको छ। विश्वकै शीर्ष तेल उत्पादक देश रुसका लागि यो सङ्कट अभूतपूर्व मानिएको छ, जहाँ अहिलेसम्म इन्धन सजिलै उपलब्ध हुन्थ्यो र युरोपको तुलनामा निकै सस्तो थियो।

तर, युक्रेन द्वन्द्व उत्कर्षमा पुगेका बेला अहिले रुसका पेट्रोल पम्पहरूमा सर्वसाधारण तेलका लागि लामो लाइन लाग्न बाध्य भएका छन्। विश्वकै सबैभन्दा ठूलो देश रुसका अधिकांश क्षेत्रहरूमा यातायातका लागि मुख्यतया स्थल मार्गकै प्रयोग हुने गर्दछ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार मिडिया रिपोर्टहरूले जुनदेखि ९० प्रतिशतभन्दा बढी रुसी क्षेत्रमा इन्धन अभाव महसुस गरिएको उल्लेख गरेका छन्। इन्धन अभावकै कारण भोलोग्डाका केही पेट्रोल पम्पहरू बन्द भएका छन् भने सञ्चालनमा रहेका पम्पहरूमा गाडीहरूको लामो लाइन देखिन्छ।

यसअघि मस्कोले सीमित ग्रेडको पेट्रोल र उड्डयन इन्धन निर्यातमा प्रतिबन्ध लगाएको थियो भने गत हप्तादेखि डिजेल निर्यातमा समेत प्रतिबन्ध विस्तार गरिएको छ। यी सुरक्षात्मक उपायहरूका कारण हालैका दिनहरूमा मस्को र आसपासका क्षेत्रमा इन्धन अभाव केही कम हुन थालेको एएफपीले जनाएको छ। तथापि, युक्रेनी आक्रमणले रुसको तेल क्षेत्रमा पारेको यो सङ्कट कति गम्भीर र दूरगामी हुन सक्छ भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ।

अमेरिकास्थित ऊर्जा अनुसन्धान संस्था ‘एनर्जी इन्टेलिजेन्स’ ले जुलाईको सुरुमा प्रकाशित गरेको प्रतिवेदनअनुसार, युक्रेनले रुसको ऊर्जा पूर्वाधारमा लगातार आक्रमण जारी राखेका कारण फेब्रुअरीको अन्त्यदेखि रुसको दैनिक ६६ लाख ब्यारेल तेल उत्पादन क्षमता झन्डै आधा घटेको छ।

मस्कोले युक्रेनी सहरहरूमा गरेको घातक बमबारीको प्रतिक्रियास्वरूप युक्रेनले यी ऊर्जा नेटवर्कहरूलाई निसाना बनाएको हो। युक्रेनले रुसी अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले यस्ता रणनीतिहरू अपनाइरहेको भए पनि रुसले भने आफ्नो ऊर्जा सञ्जालको सुरक्षा प्रणाली उच्च रहेकाले युक्रेनको यो प्रयास सफल नहुने दाबी गरेको छ।

युक्रेन युद्धको मुख्य मोर्चाभन्दा निकै टाढा रहेको भोलोग्डा सहरका बासिन्दाले समेत फेब्रुअरी २०२२ मा मस्कोले सुरु गरेको सैन्य आक्रमणको प्रत्यक्ष असर र परिणाम अहिले आएर भोग्दै छन्।