तीन दिनसम्म तातो लहर चल्ने, सतर्क रहन महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने सम्भावना छ।

तीन दिनसम्म तातो लहर चल्ने,  सतर्क रहन महाशाखाको आग्रह
मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न तराई क्षेत्रमा आगामी तीन दिनसम्म तातो दिन र तातो लहर (हिट वेभ) को सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार जारी गरेको विशेष बुलेटिनअनुसार जेठ १९ गतेयता मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस वा सोभन्दा माथि मापन गरिएको छ। लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने सम्भावना छ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।

विभागले तातो हावा र तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न महाशाखाले आग्रह गरेको छ।

स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन पनि अनुरोध गरेको छ।