भदौ २४ को विध्वंसमा अघिल्लो दिन भएको जनहत्याको आक्रोश कम, आफूभन्दा अर्को धनी भएको आक्रोश र कुण्ठा बढी थियो भन्ने मलाई लागेको छ।
बालबालिकालाई धेरैले सोध्ने प्रश्न हो– तिमी ठूलो भएपछि के बन्ने? हुर्कँदै गर्दा हामीलाई पनि यो प्रश्न सोधिन्थ्यो। भौगोलिकता, पारिवारिक, सामाजिक अवस्था र पढाइमा तीक्ष्ण/कमजोर भएका आधारमा हाम्रा उत्तर फरक हुन्थे। अधिकांश बालबालिकाले भने भविष्यमा डाक्टर, नर्स, पाइलट, इन्जिनियर वा शिक्षक बन्ने लक्ष्य राख्थे। अनि त्यो बनेर गाउँ, समाज र देशको सेवा गर्ने सपना सुनाउँथे।
त्यही प्रश्न नेपालमा अहिले हुर्किरहेको पुस्तालाई सोध्दा उत्तर के आउँछ होला? मलाई लाग्छ अधिकांशले भन्नेछन्–ठुलो भएपछि विदेश जाने। आआफ्नो आर्थिक सामाजिक अवस्थाअनुसार विदेशको परिभाषा फरक हुनसक्छ। कोहीको लक्ष्य अरब वा मलेसिया होला। अरूको जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका वा युरोप। अधिकांश युवायुवती मात्र होइन, हुर्किरहेका किशोर किशोरी र बालबालिकाको मनमस्तिष्कमा पनि विदेश नै लक्ष्य छ।
युरोप, अमेरिका वा अस्ट्रेलिया जानेहरूको त स्थायी बसाइसराइ नै अन्तिम लक्ष्य हो। अर्थात्, तिनले यो मुलुक फर्केर आउने कल्पना पनि गरेका छैनन्। सोसल मिडिया र अन्तर्क्रियाहरूमा उनीहरू सबै मुलुकलाई माया नै गर्ने बताउँछन्, चासो र चिन्ता व्यक्त गर्छन्। तर, आगामी पुस्तामात्र होइन कि मिल्यो भने अघिल्लो पुस्ता वा आफ्ना बुवा आमालाई समेत उतै बसाइसराइ गराउने यत्नमा उनीहरू लागेका छन्। मुलुकलाई सबैले माया गर्ने तर यहाँ बस्न भने कोही नचाहने अजीवको अवस्थामा हामी पुगेका छौं।
तात्कालिक रूपमा मुलुक तन्नम भएर पनि यसो भएको होइन। भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकले राम्रै प्रगति गरिरहेको छ। र, अधिकांश नेपालीको जीवनस्तरमा सुधार आएको छ, जसबारे मैले यस अघिको लेखमा पनि चर्चा गरेको छु। त्यसो भए किन नेपालीहरू मुलुकमा बस्न र यहीँ भविष्य, भाग्य र सपना अजमाउन चाहिरहेका छैनन्?
द ग्रेट ग्याट्स्बीको सान्दर्भिकता
यो प्रश्नको उत्तर खोज्दै गर्दा मैले किशोर बयमै पढेको एउटा उपन्यासको सम्झना आयो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत अहिले उन्मूलन भएको प्रवीणता प्रमाणपत्र तह (हालको कक्षा ११ र १२ सरह) को ऐच्छिक अँग्रेजीतर्फ दोस्रो वर्षमा समावेश थियो अँग्रेजी उपन्यास द ग्रेट ग्याट्सबी। एफ स्कट फिजराल्डले लेखेको यो उपन्यास दर्जनौँ भाषामा अनूदित भएर करौडौँ प्रति बिक्री भइसकेको छ।
दुई वटा फिचर फिल्म र एउटा टेलिभिजन सिरियलमा एडाप्टेसन भएको छ। रंगमञ्चमा देखाइएको छ। बलिउडमा पनि यस्तै कथामा सन् २००० मा धड्कन नामको म्युजिकल सुपर हिट चलचित्र बनाइएको थियो। यसबाट प्रेरित भएर उपन्यासका अन्य पात्रहरूका कथाको रूपमा छुट्टै उपन्यासहरू पनि लेखिएका छन्। सन् २०२१ मा यो उपन्यासको प्रतिलिपि अधिकार अन्त्य भएपछि झन् संसारभरको यात्रामा छ द ग्रेट ग्याट्स्बी।
द ग्रेट ग्याट्स्बीको परिवेश सन् १९२० को दशकमा तीव्र विकास भइरहेको न्युयोर्क सहरको हो। यसको हिरो जेय ग्याट्स्बी साधारण परिवारमा जन्मेर असाधारण समृद्धि हासिल गर्छ। परम्परागत कथाका नायकको जस्तो उसमा नैतिक आचरण र आर्थिक स्वच्छता छैन। उसको अकल्पनीय वैभवको वैध स्रोत स्पष्ट छैन। अर्कैसँग बिहे गरिसकेकी पूर्व प्रेमिका डेजीलाई पुनः आफ्नो बनाउन लागिरहेको छ, जुन पूरा हुन सक्दैन। र, ग्याट्सबीको मृत्युसँगै उपन्यास वियोगमा सकिन्छ।
उपन्यासले प्रकाशनको शुरूआती दशकमा आंशिक सफलता मात्रै पाएको थियो। एउटा सफल काल्पनिक उपन्यासमा हुनुपर्ने सबैजसो तत्त्व यो उपन्यासमा छन्। यसमा प्रेम, यौन, धोका, पैसा, शक्ति, रहस्य र षड्यन्त्र सबै छन्। तर, यीमध्ये धेरै वा सबै तत्त्व अधिकांश उपन्यासहरूमा हुन्छन् नै। फिजराल्डको द ग्रेट ग्याट्स्बी नै किन ‘ग्रेट’ र यति विधि कालजयी बन्यो? मेरो विचारमा यसले अमेरिकी सपनाको धरातललाई फराकिलो बनाइदिएको कारण कालजयी बनेको हो।
अमेरिकालाई अवसरहरूको देश (ल्यान्ड अफ अपर्चुनिटिज) भनेर त यसका संस्थापकहरूले नै स्थापित गरेका छन्। सोही कारण अमेरिकी सपना पछ्याउँदै संसारभरबाट अमेरिकामा बसाइसराइ गर्न चाहनेहरूको लस्कर अहिले मात्र होइन, शताब्दियौँदेखि अनवरत छ। फिजराल्डले द ग्रेट ग्याट्स्बीमार्फत त्यो अमेरिकी सपनालाई फराकिलो र समावेशी बनाइदिएका छन्।
दासहरू राख्ने वा ठुलो जमिन ओगट्ने परिवारका सन्ततिले मात्र होइन, साधारण पृष्ठभूमिबाट आएको व्यक्तिले पनि अमेरिकी सपना पछ्याउन सक्छ भन्ने उपन्यासले स्थापित गरेको छ। यस्तो सपनाको हकदार सर्वगुण सम्पन्न व्यक्ति नै हुनुपर्छ भन्ने जरुरी छैन, बरु गुणदोषसहितको सामान्य मानिस पनि हुन सक्छ भन्ने स्थापित गरे फिजराल्डले। अर्थात्, हरेक नागरिकले उपन्यासको नायकमा आफूलाई पाउन सके। आखिर हरेक मान्छे गुण र दोष तथा महत्वाकांक्षा र जोखिम उठाउन सक्ने क्षमताको कुल योगफल न हो।
त्यसैले यो उपन्यास एक शताब्दीदेखि अद्यापि, अमेरिकी सपनाको बडापत्र जस्तै बनेर रहेको छ। एकपछि अर्को दशकमा झन् लोकप्रिय बनेको छ। सपनालाई पछ्याउँदै झुप्रोदेखि महलसम्म र झुत्रेदेखि करोडपतिसम्म पुगेका हजारौँ कथाहरू साहित्य, सिनेमा र कलामा लोकप्रिय हुँदै गए र अमेरिकी सपनाको उडानमा इँटा थप्दै गए। द ग्रेट ग्याट्सबी कालजयी उपन्यास बन्यो।
जोगीहरूको हाइहाइ, उद्यमीहरूको दोहोलो
हामीकहाँ भने फरक छ। नायक भनेको सर्वगुण सम्पन्न हुनुपर्छ भन्ने मान्यता छ। समृद्धिभन्दा आचार र मितव्ययितालाई बढी महत्त्व दिइन्छ। नेपालमा कम्युनिस्ट पार्टीहरूको बिस्तारसँगै गाउँगाउँ पुगेका कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स तथा म्याक्सिम गोर्की र निकोलाइ आस्त्रोब्सकी पढेर हुर्केको म र मभन्दा अघिको पुस्तालाई त धनी हुनु नै अपराध हो भनेर पढाइएको छ। अर्थात्, धनी हुने उपाय भनेको अरूको श्रम शोषण गरेर मात्रै हो भन्ने एकांगी व्याख्या पढाइएको छ। जसले गर्दा गरिबीको गुणगान र समृद्धिको हेय हुने अवस्था सिर्जना भएको छ। जोगीहरूको हाइहाइ हुने र उद्यमीहरूको दोहोलो काढिने मुलुक बनेको छ।
भदौ २३ को आक्रोश र २४ को विध्वंसले मलाई भित्रैदेखि विचलित गराइदिएको छ (पढ्नुस् यो लेख)। तसर्थ, यसको मूल कारण खोज्न विभिन्न कोणबाट हेर्ने प्रयास गरिरहेको छु। मेरो अवलोकन र सीमित अन्तर्क्रियाहरूको निष्कर्ष हो, सम्पत्ति आर्जन र धनीहरूप्रतिको नकारात्मक आम धारणाले नै भदौ २४ को विध्वंस ल्याइदिएको हो। भदौ २४ को विध्वंसमा अघिल्लो दिन भएको जनहत्याको आक्रोश कम, आफूभन्दा अर्को धनी भएको आक्रोश र कुण्ठा बढी थियो भन्ने मलाई लागेको छ।
त्यस दिन निजी लगानीका उद्यम र व्यवसायहरूमा छानीछानी आगजनी, तोडफोड र लुटपाट गरियो। सयौँलाई रोजगारी दिने र कर तिरेर मुलुकलाई टेको दिने व्यापारिक प्रतिष्ठानहरूमा आतंक मच्चाइयो। सपना पछ्याउँदै जुग र जवानी लगाएर व्यक्ति र परिवारले सिर्जना गरेका उद्यम व्यवसायहरू तबाह गरिए। त्यतिले मात्र नपुगेर व्यक्तिका घरहरूमा समेत यो विध्वंस मच्चाइयो।
व्यक्तिले जुग र जिन्दगी लगाएर बनाएको हुन्छ घर। त्यसलाई सपना र भावनाले सजाएको हुन्छ। वर्तमानको सुरक्षा र भविष्यको सुनिश्चितता कल्पेर राखेको हुन्छ। जिन्दगीभरको लक्ष्य हुन्छ घर बनाउनु। घर केवल एउटा भवन मात्रै होइन, यो त सपना, सुरक्षा, व्यक्तिगत प्राप्ति र मुलुक प्रतिको भरोसाको पनि प्रतिबिम्ब हो। यिनै घरहरूमा आगो लगाउँदा हात नकाम्नु क्षणिक आवेगको प्रस्फुटन मात्रै कदापि होइन, थिएन। यो त निजी सम्पत्ति प्रतिको चरम उपेक्षाको प्रस्फुटन हो।
वियोग उन्मुख नेपाली सपना
निजी सम्पत्ति प्रतिको उदासीनता अहिलेको पुस्ताको वियोगान्त विरोधाभास हो। अधिकांश नेपालीहरूको सपना अमेरिका नै हो। हरेक वर्ष लाखौँ नेपालीले डीभी चिट्टा भर्छन्। अरू दसौँ हजार मानिस सक्कली वा नक्कली कागजात बनाएर कुनै पनि बहानामा अमेरिका छिर्न खोजिरहेका हुन्छन्। अमेरिकी साम्राज्यवाद र पुँजीवादको विरोध गर्दै आएको माओवादीकै उद्गमस्थल राप्तीका पहाडका नेपालीहरू तल्लो बाटो वा डंकी रुट भनिने अवैधानिक बाटोबाट अमेरिका छिर्न करोड हाराहारी तिर्न तयार छन्।
विदेशमा पैसा कमाउने र रेमिट्यान्स पठाउनेको हाइहाइ छ। एक हिसाबको देवत्वकरण छ। तर मुलुकमा भने सानोतिनो उद्यम व्यवसाय गर्ने, जोखिम लिने र व्यवसाय बिस्तार गर्ने तप्काप्रति तीव्र घृणा छ। मुलुकभित्र निजी सम्पत्तिको सिर्जनामा व्यक्तिले प्रयोग गर्ने कल्पनाशीलता र लिने जोखिमको भाउ छैन। मुलुकभित्र पैसा कमाउने सबै अपराधी, भ्रष्ट वा ठग हुन् भन्ने भाष्य बलियो छ।
कम्युनिस्ट पार्टीका दस्ताबेजहरूले मात्रै यो स्थापित गरेको कदापि होइन। हाम्रो सार्वजनिक विमर्श, कला र साहित्यमा पनि गरिबीको अतिरञ्जना र समृद्धिको हेय नै प्रस्फुटित हुन्छ। नाटक, चलचित्र र कविताले गरिबीलाई नै बढाइचढाइ गरेका हुन्छन्। पाठ्यपुस्तकमा समेत राजामहाराजाका स्तुति, लडाकुहरूका वीरगाथा, नेताका जीवन कहानी र सन्तमहात्महरूका त्यागहरूबारे चर्चा भएको पाइन्छ। देशमा उद्यम गर्ने, रोजगारी सिर्जना गर्ने र नयाँ नयाँ व्यापार व्यवसायहरू स्थापित गरेर अर्थतन्त्रको आकार बिस्तार गर्न योगदान दिने कसैको जीवनी पाठ्यपुस्तकमा पढ्नुभएको छ? वा पढाउनुभएको छ?
आज १० वा १२ कक्षा पढिरहेका किशोर किशोरीलाई तिमीले नेपालमै दुःख गरेर काम गर्यौ भने निश्चित समयपछि यो सपना जिउन सक्छौ भनेर भन्न सक्छौँ हामी? अथवा तिमी सपना देख, आकांक्षा राख, त्यसलाई पछ्याऊ, कर्म गर र यहीँ चाहेको जीवन जिउन सक्छौँ भन्न सक्छौँ हामी? तिमीले कमाएबापत र चाहेको जीवन जिएबापत दोषानुभुति गर्नुपर्दैन भन्न सक्छौँ हामी? अथवा, कथा, उपन्यास पढेर वा चलचित्र हेरेर नेपालमै यस्तो जीवन सम्भव छ भन्ने अनुभूति उनीहरूले गरेका होलान्? कुनै ग्याट्स्बीजस्ता नायक हाम्रो लोकप्रिय कल्पनामा होलान्? वा नेपाली भर्सनको ग्याट्सबी बन्न वा लेखिन सम्भव होला? अलौकिक र ३२ लक्षणयुक्त नभई गुणदोषले युक्त साधारण नेपाली पनि हाम्रा नायक बन्न सक्लान्?
यी सबै प्रश्नहरूको उत्तर नकारात्मक आउने भएपछि किशोर किशोरी वा युवायुवतीले मुलुकमै भविष्य देखेनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन। जनताले सपना देख्न नसक्ने मुलुकको भविष्य अनिश्चित र यात्रा ओरालो नै हुन्छ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
