अन्तर्वार्ता

विमला विक भन्छिन्- महिला र दलित समुदायको सहभागितालाई सशक्त बनाउन मेरो उम्मेदवारी

‘बर्दिया समग्रमा नै विकासका दृष्टिकोणले पछि परेको जिल्ला हो। राज्यका कार्यकारी निकायमा महिला, बालबालिका, दलित समुदायको न्यून सहभागिता छ। यसलाई थप बलियो र सशक्त बनाउनु छ।’

प्रतिनिधिसभाको निर्वाचनमा विमला विक एमालेका तर्फबाट बर्दिया क्षत्र नं. २ की उम्मेदवार छिन्। यो क्षेत्रमा १५ वटा राजनीतिक पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ठूला दलबाट पुरुष मात्र उम्मेदवार बन्दा एमालेले महिला उम्मेदवार खडा गरेको छ। बर्दिया–२ को चुनावी अवस्था, अजेन्डालगायत विषयमा विकसँग उकालोले गरेको कुराकानीः

बर्दियामा तपाईंको उम्मेदवारी के–का लागि?
बर्दियाको प्रतिनिधि भएर केन्द्रमा कानून र नीतिनियम बनाउनका लागि हो। यहाँको विकास निर्माण गर्नका लागि पनि चुनावी मैदानमा होमिएकी हुँ। मैले मतदातासँग त्यही भनिरहेको छु। जनताका मुद्दाहरू संसद्मा उठाउन नै मेरो उम्मेदवारी हो।

यहाँका समस्या के–के हुन्?
मानव–वन्यजन्तु द्वन्द्वको समस्या छ। हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भइरहेको छ। त्यति मात्र होइन, पशु चौपायादेखि खेतबारीमा लगाएको बालीनाली पनि सखाप हुने समस्या छ। किसानले त्यसको उचित क्षतिपूर्ति पाइरहेका छैनन्। मानिसहरू त्रसित छन्। भूमिसँग जोडिएको समस्या त्यस्तै छ, उनीहरूले लामो समयदेखि लालपुर्जा पाउन सकेका छैनन्।

घर वरपर चारैतिर ठूला रूख छन्। वैशाख–जेठमा आउने हावाहुरीबाट ती रूख ढलेर मानिसले क्षति भोग्नु पर्छ। कृषिका लागि उपयुक्त मानिएको बर्दियामा किसानले समयमा मल नपाउने समस्या उत्तिकै छ। कृषि उपकरण पनि अनुदानमा खरिद गर्न पाउँदैनन्। युवाहरूले रोजगार पाउन सकेका छैनन्। महिला, दलित, उत्पीडितहरूको समस्या छ। सीमा समस्या, नदी कटान, डुबानका समस्या छन्। पुल पुलेसाका समस्या छन्।

तपाईं महिला हुनुहुन्छ र दलित समुदायको प्रतिनिधित्व गर्नुहुन्छ। चुनावी मैदानमा कुनै असहजता छ? 
अहिले मैले उत्साहजनक समर्थन पाइरहेको छु। कतिपय मानिसले महिलाको नेतृत्व आउनुपर्छ भनिरहेका छन्। केहीले महिलालाई विश्वास नगरेको अवस्था पनि छ। अर्कोतर्फ, अहिलेको निर्वाचन खर्चिलो देखिएको छ। महिलाहरूको सम्पत्तिमा पहुँच पनि हुँदैन। त्यसले आर्थिक असहजताको केही अनुभव गरेको छु। साथीभाइले, पार्टीका शुभचिन्तक समर्थकले सहयोग गरिरहनुभएको छ। कतिपय आफैले व्यवस्थापन गर्दैछु। चुनाव आउन अझै केही दिन बाँकी नै भएकाले त्यहाँसम्म थप खर्च हुन्छ नै। यसका बाबजुद पनि मैले यतिबेला यो मुलुकको राष्ट्रियतालाई जोगाउन, सम्वृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्छ भनेर नै चुनावी प्रतिस्पर्धामा छु।

बर्दिया–२ का महिला, दलित, बालबालिकाका समस्या के–के हुन्?
बर्दिया समग्रमा नै विकासका दृष्टिकोणले पछि परेको जिल्ला हो। राष्ट्रिय राजनीतिमा बर्दियालाई जोड्नुपर्छ। राज्यका कार्यकारी निकायमा महिला, बालबालिका, दलित समुदायको न्यून सहभागिता छ। भूमिका दिने पनि गरिएको छैन। यसलाई थप बलियो र सशक्त बनाउनु छ। संविधानले प्रदत्त गरेको अधिकार सबैलाई न्यायोचित हिसाबले पाउनुपर्छ। त्यसैअनुसार सबैलाई सहयोग गर्न आग्रह गरिरहेको छु।

निर्वाचित भइसकेपछि तपाईंले कस्तो भूमिका खेल्नुहुन्छ?
राष्ट्रको हित हुने काम गर्नु नै पहिलो प्राथमिकता हो भन्ने मेरो बुझाइ हो। मैले जति सकिन्छ राम्रो गर्ने हो, नराम्रो गर्ने होइन। सांसदको भूमिका भनेको नीति नियम र कानून बनाउने हो। त्यसमा सक्रिय सहभागी हुन्छु। त्योसँगै बर्दियाको विकासका लागि पनि अग्रसर भएर लाग्छु।

प्रतिस्पर्धीहरूलाई कसरी हेर्नुभएको छ?
उनीहरूलाई प्रतिस्पर्धीकै रूपमा हेरिरहेको छु। निर्वाचनमा होमिइसकेपछि सबै एकअर्काका प्रतिस्पर्धी नै हुन्छन् र सबैप्रति मेरो उत्तिकै सम्मान छ। सबै आफू बलियो र जित्छु भनेर नै चुनावी मैदानमा होमिने हो। कोही कम र बढी प्रतिस्पर्धी भनेर हेरेको छैन।

आसन्न चुनावबाट मुलुकले निकास पाउँछ त?
चुनावपछि मुलुकले निकास पाउँदैन भन्न मिल्दैन, किनभने निर्वाचित हुने जनप्रतिनिधिले मुलुकलाई सही दिशामा लैजाने हो। सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणलगायत अहिले देखिएका जति समस्या छन्, त्यसको समाधानमा लाग्ने हो। कानूनी राज्यको स्थापना, दण्डहीनताको अन्त्यलगायत काममा भोलि आउने सरकार केन्द्रित हुनुपर्छ। संविधानको रक्षा गर्दै अहिलेको व्यवस्थालाई थप बलियो र मजबुत बनाउनुपर्छ। त्यसैले अब मुलुकको विकास सही दिशामा लैजानेतर्फ सबै गम्भीर र सचेत हुनु जरुरी छ।