बर्दियाको बाँसगढीमा चौधरी ग्रुपले सञ्चालन गरेको चाउचाउ फ्याक्ट्रीमा प्रदूषण रोक्ने उपकरण राख्न गरिएको बेवास्ताले बालकदेखि वृद्धवृद्धासम्ममा स्वास्थ्य जटिलता बढेका छन्, बालीनाली सखाप हुँदै छ।
बाँसगढी, बर्दिया– कोहलपुरबाट पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ लागेपछि आइपुग्छ बर्दियाको बाँसगढी नगरपालिका। त्यही बाँसगढीको वडा नम्बर ३ मा बस्ने कृष्ण रेग्मीको जीवन पछिल्ला केही वर्षयता सास्तीपूर्ण बनेको छ। १९ वर्षअघि उनी नवलपरासीबाट बसाइ सरेर बर्दियाको बाँसगढी आएका थिए।
अहिले उनी पश्चात्तापमा छन्। बसाई सरेर बर्दिया आउने निर्णय किन गरेछु भनेर पछुतो मानिरहेका छन्। घरमा श्रीमान्–श्रीमती मात्र छन्। उमेरले ७३ वर्ष टेकेका रेग्मीलाई चाउचाउ फ्याक्ट्रीबाट निस्किएको प्रदूषणले दिनरात सताएको छ। बिहानदेखि बेलुकासम्म अनवरत उडिरहेको धुवाँको कालो मुस्लो हरेर उनी एक्लै मुरमुरिन्छन्।
फ्याक्ट्रीको बोइलर प्लान्टमा प्रयोग हुने भुस राम्रोसँग नजल्दा निस्कने मसिना कण र धुलो हावामा उडेर कैयौँ पटक रेग्मीको आँखामै परेका छन्। “‘म बुढो मान्छे, यसै पनि आँखा कमजोर छन्। भुसको कण परेपछि सहनै गाह्रो हुन्छ। आँखा सुन्निएर राताराता हुन्छन्। भतभती पोल्छन्, आँखाको गेडी बाहिरै आउलाजस्तो हुन्छ,” उनले सुनाए।

भर्खरै मात्र उनी दुई पटक आँखा जँचाउन अस्पताल पुगिसके। डाक्टरले भित्र गढेको भुसको कण निकालिदिए। हरेक पटक अस्पताल जाँदा डाक्टरले प्रदूषणमा नबस्न सल्लाह दिने गरेका छन्। तर घर नै छाडेर उनी जाऊन् पो कहाँ!
अलिक कम हुन्छ कि भनेर दिउँसोपख चस्मा लगाएर बस्छन्। तर आँखामा धुवाँधुलो पसिहाल्छ। “यी आँखा पोलिरहन्छ। पानीले छ्यापछ्याप्ती आँखामा हान्दा पनि चिलाउन छाड्दैन,” उनले कारखानातिर औँला देखाएर भने, “यी चौधरीले म बुढोलाई आनन्दले बस्नै दिएनन्।”
बाँसगढी नगरपालिका–३ मा चौधरी ग्रुपको वाईवाई चाउचाउ उत्पादन गर्ने फ्याक्ट्री (सीजी फुड्स इन्टरप्राइजेज प्रालि) सञ्चालनमा छ, जहाँबाट करिब ५०० मिटर पर रेग्मीको घर पर्छ।
यो समस्या रेग्मीको मात्र होइन। यहाँका हरेकजसो घरका बासिन्दा पटक–पटक उद्योग प्रशासनसँग गुनासो गर्न पुगेका छन्। तर जहिले जाँदा पनि ‘सामान अर्डर गरिसकेका छौँ, दुई महिनामा आउँछ, सबै कन्ट्रोल हुन्छ’ भन्ने आश्वासन मात्र दिइन्छ। उद्योग प्रशासनले कहिले ‘चीनबाट मेसिन मगाएका छौँ, आउन समय लाग्छ’ भनेर टार्छ, त्यो समय गुज्रिएपछि फेरि ‘जर्मनीबाट अत्याधुनिक मेसिन आउँदै छ, त्यसपछि शतप्रतिशत समस्या समाधान हुन्छ’ भनेर बहाना गर्छ।
लामो समय बितिसक्यो। तर न चीनको मेसिन आइपुग्यो न जर्मनीको। कारखानाले प्रदूषण रोक्न उपकरणहरू प्रयोग गर्नैपर्ने भए पनि ती उपकरण प्रयोग नै नगरी उद्योग सञ्चालन भइरहेको छ। रेग्मी जस्तै यहाँका बासिन्दालाई अब त कुनै मेसिन आउला भन्ने विश्वास पनि छैन। भन्छन्, “हामीलाई नटेरेको हो। सीजीले हामीलाई हेपेको हो।”

प्रदूषणले भयावह
बाँसगढीमा चौधरी ग्रुपको फ्याक्ट्रीले गरिरहेको प्रदूषणको असर स्वास्थ्यमा सीमित छैन। यतिसम्म कि बिहानदेखि बेलुकासम्म जता फर्कियो त्यतै खरानीका कण हुन्छन्। फ्याक्ट्री वरपरका घरको रङ नै धमिलो बनेको छ। हरियो हुनुपर्ने खेतीपाती र सागसब्जी धुलोले ढाकेर अर्कै रङमा बदलिएका छन्। वरपर लगाइएका लहरी (दाल) का पात काला देखिन्छन्। सडक किनार र बारीमा उम्रिएका झार समेत हरिया छैनन्।
टीपी न्यौपानेको घर कारखाना नजिकै छ। तीन वर्षदेखि यहाँ बसिरहेका उनी शुरूमा ख्याल नगरी बसाइँ सरेको, अहिले कारखानाबाट आउने भुसका मसिना कण, धुवाँ र धुलोले हैरान भएको बताउँछन्। उनको घरमा धुलोको कण नपुगेको ठाउँ छैन। ओछ्यान, भान्छा, बरन्डा, बाथरुम एक दिन सफा नगरे हेरिसाध्य हुँदैनन्।
घरको छतमा कालो रङका कणहरू थुप्रिएका छन्। सोफामा बसेर उठ्दा पछाडि कालो छाप देखिन्छ। सेतो मार्बल बिछ्याइएको भर्याङ कालो भएको छ। “सागसब्जी धोएर पनि खान नसकिने गरी काला हुन्छन्। वातावरण र बालीनाली ध्वस्त छन्। धान वा गहुँ काट्ने बेला धुलोले गर्दा किसानका हात र शरीर पूरै कालो हुन्छन्,” उनले भने, “भुस राम्रोसँग नजलेर सिधै उडेर आँखामा आउँछ। बाटोमा हिँड्दा आँखामा धुलो परेर अस्पताल नै जानुपर्ने स्थिति छ।”

स्थानीय विद्यालयमा ९ कक्षामा पढ्ने खुसी सुनार यो हैरानी ब्यहोर्ने अर्को भुक्तभोगी हुन्। खुसीका अनुसार प्रदूषणको असर स्वास्थ्यमा मात्र सीमित छैन। “घरका कुर्सी, सोफा र सबै सामान कालो धुलोले ढाकिन्छन्। जति सफा गरे पनि केही बेरमा उस्तै भइसक्छ। झ्याल सधैँ बन्द गरेर राख्नुपर्छ,” उनले भनिन्, “बाहिर लुगा सुकाउन पनि डर लाग्छ। हावा चल्नेबित्तिकै धोएका सफा लुगामा कालो भुस टाँसिएर मैलो बनाइदिन्छ।”
चैत–वैशाखमा लाग्ने बतास सम्झिएर उनी अहिले नै आत्तिन थालेकी छन्। हावामा उडेर आउने कालो भुस र धुलोले आँखामा समस्या निम्त्याएपछि उनी पटक–पटक अस्पताल पुगेकी छन्। डाक्टरले यस्तो उद्योगको नजिक बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेका छन्। डाक्टरले त्यसो भन्दा उनले टाउको हल्लाएकी पनि छन्।
“यहाँ नबसे कहाँ गएर बस्नू त?” उनले उकालोसँग भनिन्, “आँखामा कतिबेला कसिङ्गर पस्छ थाहै हुन्न। पानी छ्याप्दा पनि जाँदैन, अस्पताल नै पुग्नुपर्छ। डाक्टरले कपास प्रयोग गरेर धुलो निकालिदिनुहुन्छ,” खुसी भन्छिन्, “म धेरै पटक अस्पताल गइसकेँ। ममीलाई पनि यही समस्याले सताएको छ।”
खुशीकी आमा बिनु सुनारले कारखाना नजिकै खाजा पसल चलाएकी छन्। उनको समस्या झन् विकराल छ। छिनछिनमा टेबल र कुर्सी पुछिरहनु पर्छ। भाँडा एकपटक माझेर पुग्दैन, माझिसकेका भाँडा कयौँ पटक पुनः माझ्नुपर्छ। केही पकाएर राखे धुलोले छोपिदिन्छ। बिनु भन्छिन्, “हाम्रो दुःख सुनाइसक्नु छैन, कसलाई सुनाउनु?”

डर रोजीरोटीको
जति नै दुःख र सास्ती ब्यहोरे पनि चौधरी ग्रुपको यो फ्याक्ट्रीले गरिरहेको मनपरीबारे यहाँका बासिन्दा कडा रूपले विरोधमा उत्रिन पनि सकेका छैनन्। त्यसको कारण छ। यहाँका प्राविधिक र माथिल्लो तहका कर्मचारीबाहेक धेरैजसो कामदार स्थानीय छन्। समस्यालाई कडा रूपमा उठाउँदा जागिर जाने डरले उनीहरू बोल्न पनि डराइरहेका छन्।
फ्याक्ट्रीमा काम गर्ने एक स्थानीय कामदारले कारखानाबाट आउने खरानीले हैरान भएको सुनाए। “हाम्रो रोजीरोटी त्यहीँबाट चल्छ, धेरै बोल्न पनि मिलेन, कामबाट निकाल्देलान् भन्ने डर,” उनले भने, “आफू–आफूबीचमा गफ गर्छौँ, असन्तुष्टि पोख्छौँ। आफ्नै परिवार यसको मारमा परे पनि खुलेर बोल्न सक्दैनौँ।”
उनले फ्याक्ट्रीमा फिल्टर मात्र राख्दा पनि भुसको धुलो उड्न नपाउने, तर त्यति काम पनि नगरिदिँदा सबैको स्वास्थ्य बर्बाद भएको बताए।
अर्का स्थानीय महेश अर्याल फ्याक्ट्रीले आफूहरूलाई हेपेको बताउँछन्। उनको घर उद्योगबाट केही पर भए पनि जलेको भुसका काला कण आइपुग्छन्। धुलो छेक्छ भनेर बुबाले पहिल्यै घर वरपर रुख रोपेका थिए। “यस्तो धुलो के छेकिन्थ्यो,” महेशका बुवा रमेश भन्छन्, “यहाँ बस्नै नसकिने भएपछि म प्रायः काठमाडौँतिरै बस्न थालेँ। बाँसगढी आइरहन्छु, तर यो धुलोका कारण बस्नै गाह्रो हुन्छ। श्रीमतीलाई यसले असाध्यै धेरै असर गर्यो।”
महेशले यो मुद्दा उठाएको धेरै भइसकेको, तर समाधान नभएको बताए। “अब मुद्दामामिलामा नगई होला जस्तो छैन,” उनले भने, “यहाँ उद्योग खुलेकोमा हाम्रो विरोध होइन। उद्योग खुल्नु राम्रै हो। तर उद्योगले प्रदूषण नियन्त्रण गर्न ध्यान नदिने, हामीलाई मानै खोज्ने त गर्नु भएन नि।”

यहाँका १६० जना स्थानीय बासिन्दाले कारखानालाई कारबाही गरिपाऊँ भन्दै गत माघ २० गते बाँसगढी नगरपालिकामा निवेदन पनि बुझाएका छन्। कारखानाबाट निस्कने धुलो र धुवाँले नजिकमा बस्ने मानिस, पशुपक्षी, चौपायालगायत सबैलाई असर पुर्याएको भन्दै निवेदनमा लेखिएको छ, “हामी निकै अस्वस्थकर वातावरणमा बाँच्न बाध्य छौँ। कारखानाबाट निस्कने धुवाँले बिरामी, बालबच्चा तथा ज्येष्ठ नागरिकलाई ठूलो सास्ती छ। यस्तो कार्य नगर्न नगराउनको निम्ति स्थानीय सरकारले विशेष पहल गर्न अनुरोध गर्दछौँ।”
निवेदनमा स्थानीय सरकारले चासो नदिए कानूनबमोजिम अगाडि बढ्न बाध्य हुने चेतावनी दिइएको छ।
फ्याक्ट्रीको मारमा परेका स्थानीय बासिन्दाले लुम्बिनी प्रदेशसभाले बनाएको वातावरण संरक्षण ऐन २०७७ अनुसार पनि केही काम नभएको गुनासो गरेका छन्। उनीहरूले निवेदनमा लेखेका छन्, “वातावरण संरक्षण ऐन २०७७ को दफा १६ मा कसैले पनि प्रदूषण हुने कार्य वा फोहोरमैला निष्कासन गरी वातावरण एवं जीउधनमाथि असर पुर्याउने कार्य गर्नुहुँदैन भनेर प्रदेश राजपत्रमा उल्लेख भएको र सम्बन्धित स्थानीय सरकार र वडा कार्यालयबाट समेत कुनै किसिमको सुनुवाइ नभएको, सो स्थानमा बसोबास गर्ने हामी निवेदकहरूले विभिन्न मितिमा मौखिक जानकारी उक्त कारखाना तथा स्थानीय सरकारसँग गर्दा पनि कुनै चासो नदेखाइकाले त्यस ठाउँका हामी निवेदकहरू सबै नै मर्कामा परेका छौँ।”
बाँसगढी नगरपालिकाका मेयर खड्गबहादुर खड्काले भने समस्या समाधान गर्न पहल गरिरहेको दाबी गरे। “कारखानाबाट आएको भुसको खरानीले मलाई र मेरो परिवारलाई पनि असर गरिरहेको छ। माथि जानुपर्ने धुवाँ र कण कुहिरोका कारण तल आएको छ। यसको व्यवस्थापन गर्न जरुरी छ,” उनले भने, “हामी यसमा प्रक्रिया चाल्छौँ।”
चौधरी ग्रुपको बाँसगढीस्थित कारखाना प्रमुख कुमारसिंह बस्नेतले यस विषयमा सम्बन्धित ठाउँमा कुरा पुर्याइसकेको दाबी गरे। “यो समस्या छिटै समाधान हुन्छ,” उनले भने, “टेक्नोलोजी खरिदका लागि हामीले भनिसकेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
