बंगालको खाडीको प्रणालीले पाँच दिनसम्म भारी वर्षा र हिमपातको जोखिम

बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा भारी वर्षा तथा हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले पाँचदिने मौसमी चेतावनी जारी गरेको छ।

काठमाडौँ- बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा भारी वर्षा तथा हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले पाँचदिने मौसमी चेतावनी जारी गरेको छ।

महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी भूभागमा रहेको उक्त प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै २३ सेप्टेम्बरको रातिसम्म उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रका रूपमा प्रवेश गर्ने सम्भावना छ।

यस प्रणालीका कारण देशका विभिन्न भूभागमा वर्षा बढ्न सक्ने र त्यसबाट भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबान, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्नुका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने चेतावनी दिइएको छ।

महाशाखाले धानबाली भित्र्याउने समय भएकाले कृषकलाई मौसमसम्बन्धी जानकारी लिएर कृषि विज्ञको सल्लाहअनुसार काम गर्न आग्रह गरेको छ। प्रणालीको प्रभाव हिमाली भूभागमा भारीसम्म हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।