आज देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी भूभाग धेरै भारी वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

काठमाडौँ- देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी क्षेत्रमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका धेरै तथा सुदूरपश्चिमका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकीका थोरै तथा मधेश र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश तथा कोशीका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बादल तथा कर्णाली र सुदूरपश्चिममा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा मधेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।