पाँचतारे होटल ‘हायात सेन्ट्रिक’ सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले संस्थापक शेयरलाई ‘लक–इन’ अवधिअगावै साधारण शेयरमा बदलेर बिक्री गरेको खुलेको छ जसबाट सर्वसाधारण नराम्रोसँग ठगिएका छन्।
काठमाडौँ– काठमाडौँको सोल्टीमोडमा पाँचतारे होटल हायात सेन्ट्रिक सञ्चालनमा छ। यो होटलको सञ्चालन ‘होटल सिटी लिमिटेड’ नामको कम्पनीले गरिरहेको छ। धितोपत्र बोर्डमा सूचीकृत रहेको यही कम्पनीले संस्थापकको हकप्रद शेयर ‘लक–इन’ अवधिअगावै साधारण शेयरमा बदलेर बिक्री गरेको खुलेको छ।
सामान्य रुपमा हेर्दा पनि अनौठो देखिने यो प्रकरणको भेद खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे अनुसन्धान शुरू गरेको छ। यससम्बन्धमा उजुरी परेपछि सीआईबीले सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)बाट कागजात माग गरेको थियो।
ब्युरोले २०८२ चैत २६ गते सीडीएसलाई पत्र लेख्दै ‘सिटी होटल लिमिटेडको संस्थापक र साधारणतर्फको शेयर, संस्थापक समूहको शेयर पनि सर्वसाधारण समूहको शेयरमा मिसाई आइजिन (अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर) को दुरुपयोग गरी खरिद–बिक्री भएको भन्ने सम्बन्धमा आवश्यक कागजात उपलब्ध गराउन’ भनेको थियो।
नेपाल स्टक एक्सचेन्जको समन्वयमा सीडीएससीले आइजिन जारी गर्दछ, जसले कम्पनीको शेयर शेयरधनीको खातामा आउन सुनिश्चित गर्दछ। नेपालमा साधारण शेयर र संस्थापक शेयरका लागि छुट्टाछुट्टै आइजिन नम्बर जारी गर्ने व्यवस्था छ। तर दुवै आइजिनलाई एउटैमा मिसाउँदा संस्थापक शेयरको मूल्य साधारण शेयरको बजार मूल्यमा देखिने र अक्सनमा बिक्री गर्दा सर्वसाधारण ठगिन पुग्छन्।
सीआईबीको पत्राचारपछि सीडीएससीले बैशाख ३ गते सीआईबीलाई पत्रमार्फत् नै जवाफ पठाएको थियो। सीडीएससीको सोही पत्रमा उल्लेखित विवरणले पनि सिटी होटल लिमिटेडले बदमासी गरेको देखाउँछ। संस्थापक शेयरमा रहेको लक–इन अवधि (३ वर्षसम्म बिक्री गर्न नपाइने) को नियम उल्लंघन गरेको र अक्सनमार्फत उच्च मूल्यमा शेयर बेचेर सर्वसाधारणलाई ठगेको पत्रमा उल्लेख छ।
“निज कम्पनीले अक्सन मार्फत संस्थापकको लक–इनमा रहेको हकप्रद शेयर बिक्री गरेको स्पष्ट देखिन्छ। लकइनमा भएको शेयरको हकप्रद राइट एक्सरसाइज गर्ने अधिकार पनि स्वयं लक–इनमा रहेको संस्थापकको लक–इन अवधिभर अहस्तान्तरणीय अधिकार हो,” पत्रमा उल्लेख छ, “संस्थापकले उक्त हकप्रद अधिकार एक्सरसाइज नगर्न पनि सक्छ तर यस्तो अवस्थामा निज सिटी होटलको सञ्चालक समितिले अक्सन गरेर उच्च मूल्यमा शेयर बिक्री गर्नु उपयुक्त कानून तथा प्रणालीको दुरुपयोग गरी सर्वसाधारण जनतालाई ठगी गरेको अवस्था हो।”

सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले भने धितोपत्र बोर्डले नै यसबारे प्रारम्भिक अनुसन्धान गर्ने कानूनी व्यवस्था रहेको उकालोलाई बताए। “प्रारम्भिक अनुसन्धान धितोपत्र बोर्डले नै गर्ने कानूनी व्यवस्था रहेकाले हामीकहाँ आएको उजुरी पनि उतै पठाएका छौँ। उसले अनुसन्धान गरेर कारबाही गर्ने अवस्था भएन र थप अनुसन्धान गर्नुपर्ने भयो भने सीआईबीले गर्छ,” उनले भने, “प्रारम्भमा बोर्डले नै अनुसन्धान गर्छ।”
धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले यसबारे बोर्डले गरिरहेको अनुसन्धान लगायतका विषयमा आफूलाई स्पष्ट जानकारी नभएको दाबी गरे।
संस्थापक शेयर, कम्पनी ऐन २०६३ को दफा ६६ बमोजिम करार गर्ने क्षमता भएको व्यक्तिले मात्र खरिद गर्न सक्ने कानूनी व्यवस्था छ। त्यसकारण जोकोही सर्वसाधारणले संस्थापक शेयर खरिद गर्न सक्दैनन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१) अनुसार विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र आईपीओ बाँडफाँट मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने प्रावधान छ। सोही प्रावधान अन्तर्गत सिटी होटलको संस्थापकको शेयर लक–इनमा राखिएको छ।
बैशाख ३ गते कम्पनी–सचिव सुन्दरबहादुर सेनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेर शेयरको लक–इन अवधि समाप्त हुने ब्यहोरा उल्लेख गरेको देखिन्छ। सिटी होटल लिमिटेडले साधारण शेयरको लक–इन अवधि समाप्त हुने भन्दै बैशाख ३ गते नागरिक दैनिकमा सूचना प्रकाशन गरेको थियो। ‘धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार कम्पनीको धितोपत्र बोर्डमा दर्ता भएको कूल शेयर तपसिलमा उल्लेखित संस्थापक शेयरधनी र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक–इन अवधि जेठ ५ गते समाप्त हुने’ सूचनामा उल्लेख छ।
सूचनाअनुसार संस्थापक शेयर संख्या २ करोड ७१ लाख १८ हजार ८ सय र त्यसमध्ये कर्मचारीको एक लाख २० हजार ५२८ कित्ता रहेको छ। धितोपत्र बोर्डमा सूचीकृत यो होटलको जम्मा ३ करोड एकलाख ३२ हजार कित्ता शेयर सूचीकृत छ। जसअनुसार संस्थापकबाहेक सर्वसाधारणतर्फ ३० लाख १३ हजार २ सय कित्ता शेयर छ।


व्यापारिक घराना गोल्यान ग्रुपको लगानी रहेको यो होटलको अध्यक्ष शक्तिकुमार गोल्यान र कार्यकारी निर्देशक अक्षय गोल्यान छन्।
लक–इनमा भएको शेयर खरिद बिक्री गर्न, हस्तान्तरण गर्न र लेनदेन गर्न पाइँदैन। त्यस्तै, संस्थापक वा अन्य समूहले लिएको धितोपत्र लक–इनमा रहने र सो अन्तर्गत बोनस वा हकप्रद शेयर समेत पर्ने धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१) को स्पष्टीकरणमा उल्लेख छ।
संस्थापक शेयरको बजार मूल्य सर्वसाधारणका लागि तोकिएको शेयर मूल्यभन्दा कम हुन्छ। तर होटलले २०८० जेठ १७ गते नै अभौतिकीकरणका लागि दर्ता गरी शुरूमा नै संस्थापकको शेयर सर्वसाधारणको शेयरसँग एउटै आइजिन नम्बर प्रदान गरी मिसाएर राखेको देखियो। यसले संस्थापक शेयर पनि साधारण शेयरसरह बजारमा कारोबार हुन पुग्यो।
“यस अवस्थाले सर्वसाधारण लगानीकर्तालाई झुक्यानमा पारी टीएमएसको मूल्यको प्रभावमा २५१ रूपैयाँदेखि ४६९ रूपैयाँसम्म अक्सन मूल्यमा संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताबाट खरिद गर्ने अवस्था सिटी होटलले सिर्जना गरेको देखिन्छ,” सीआईबीलाई सीडीएससीले पठाएको पत्रमा उल्लेख छ, “यदि एउटै आइजिनमा नराखेको भए संस्थापकले लिएका शेयर लक–इन अवधिभर नन ट्रेडेबल शेयर हुने र त्यस्तो शेयरको मूल्य मेरो शेयरमा १०० रूपैयाँ मात्र देखिने हुनाले ननट्रेडेबल शेयर अक्सनमा जाँदा नेटवर्थ अथवा पार भ्यालु १०० वा केही बढीमा कारोबार हुने अवस्था रहन्थ्यो।”
सिटी होटल लिमिटेडले २०८२ कात्तिक २३ देखि ३० गतेसम्म अवितरित हकप्रद शेयर (राइट शेयर) बिक्रीका लागि आह्वान गरेर मंसिर ११ गते बाँडफाँट गरेको थियो।
पत्रानुसार संस्थापकको शेयर सीडीएसीको प्रणालीमा प्रमोटर शेयर भनी देखाइनुपर्नेमा ‘सर्वसाधारणको आईपीओ एलोटमेन्टपछि २०८० जेठ १७ मा तत्काल नै सीडीएससीमा डिपोजिट गर्दा सर्वसाधारणको शेयरसँग संस्थापक शेयर मिसाएर राखिएको’, ‘सर्वसाधारणको शेयरसँग संस्थापकको शेयर मिसाएर राख्नुपर्दा प्रबन्धपत्र नियमावलीमा सच्याएर विधिपूर्वक संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा कन्भर्जन गरेर मिसाउनुपर्नेमा संस्थापक शेयर एउटै आइजिनमा लक–इनमा रहेको’ देखिन्छ। जबकि लक–इनमा रहेको हक हस्तान्तरण गर्न नमिल्ने कानूनी अवस्थामा अक्सन मार्फत संस्थापकको हकप्रद शेयर बिक्री गरिएको भेटिएको छ।
सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडका एक अधिकारीले सिटी होटल लिमिटेडले सर्वसाधारणको शेयरको मूल्यसरह संस्थापक शेयरको मूल्य प्रणालीमा देखाइ सर्वसाधारणलाई सस्तोमा खरिद गरेको भान पारेर मर्कामा पारेको बताए।
“हामीलाई सीआईबीले पत्राचार गरेपछि जे बदमासी गरेको भेटियो, त्यही लेखेर पठाइदिएका छौँ। धितोपत्र बोर्डले पनि अनुसन्धान गरिरहेको छ,” उनले भने, “यसमा अनुसन्धानबाट थप तथ्य जे भेटिन्छ, त्यसैअनुसार कारबाही अघि बढ्ला।”
हायात सेन्ट्रिक तत्कालीन ‘हायात प्लेस’बाट स्तरोन्नति भई नेपालमा भित्रिएको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
