त्रिशूली र नारायणीमा भेटिएका शव भरतपुर अस्पतालमा

चितवनको त्रिशूली र नारायणी नदीमा बुधबार साँझसम्म भेटिएका ६४ वटा शव सोही दिन अस्पताल ल्याइएकोमा बिहीबार बिहानदेखि थप ६६ वटा शव संकलन गरी भरतपुर अस्पताल ल्याइँदै छ।

चितवन– चितवन जिल्ला हुँदै बग्ने त्रिशूली र नारायणी नदीमा बिहीबार बिहानदेखि संकलन भएका ६६ वटा शव भरतपुर अस्पताल ल्याउन शुरू गरिएको छ। बुधबार साँझसम्म भेटिएका ६४ शव सोही दिन अस्पतालको शवगृहमा ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बुधबार र बिहीबार गरी भेटिएका शवको संख्या १३० पुगेको छ। तीमध्ये केही शवको अंग मात्र रहेको उनले जानकारी दिए।

नदीबाट भेटिएका शवलाई एम्बुलेन्समार्फत भरतपुर अस्पताल ल्याइँदै छ। अस्पतालमा शव धोई-पखाली गरी महिला, पुरुष र अन्दाजी उमेर पहिचान गरिनेछ। त्यसपछि तस्बिर खिचेर कोडिङ गरी संकलन केन्द्रमा लगिनेछ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार सग्लो भेटिएका शव औद्योगिक विकास प्रतिष्ठानमा निर्माण गरिएको संकलन केन्द्रमा राखिनेछ। त्यहाँ पीडित परिवारका लागि सम्पर्क तथा परामर्श केन्द्रसमेत स्थापना गरिएको छ। अङ्ग मात्र भेटिएका शवहरूलाई भने अस्पतालकै शवगृहमा राखिनेछ।

यसअघि भरतपुर अस्पतालमा ल्याइएका शवहरूलाई सफा गरी तस्बिर खिचेर संकलन केन्द्रमा पठाइसकिएको छ। केन्द्रमा शव सुरक्षित राख्न वातावरण अनुकूलित (वातानुकूलित) बनाउनुका साथै फलामको तखता जडान गरिएको छ।