भोटेकोशी बाढी: शिक्षण अस्पताल, वीर र ट्रमा सेन्टरमा ५९ घाइतेको उपचार हुँदै

भोटेकोशी क्षेत्रको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ५९ जनाको त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ५९ जनाको त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उद्धार गरिएका घाइतेमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा ३६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १८ जना र वीर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ।

शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पताल ल्याइएका ३७ घाइतेमध्ये २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने बाँकी ३६ जनाको उपचार जारी छ। घाइतेमध्ये ६ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रूपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद थारु, सुरुची रानामगर, रिता डोचो, निम दोर्जे शेर्पा, रितु डङ्गोल, स्मृति ओझा, इशारा तामाङ, महेश्वर शाह, सुशीला भ्लोन, सिजल थापा क्षेत्री, सितार तामाङ, राजन खत्री, रमनलाल श्रेष्ठ, रमेश अधिकारी, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, पासाङ छोमु घले, पापु पटेल, सम्झना न्यौपाने, समय तामाङ, छिमलाल तामाङ, चिसाङ तामाङ, रोशन तामाङ र भारतीय नागरिक नवलेश शर्मा रहेका छन्।

यस्तै, वीर अस्पतालमा उपचाररत ५ जनामध्ये रसुवा-१ का ३८ वर्षीय विराजमान तामाङको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। वीर अस्पतालमै उपचाररत करिब ८० वर्षीया एक वृद्धाको भने हालसम्म पहिचान खुल्न सकेको छैन। उनका साथमा परिचय खुल्ने कागजात नभएको र हालसम्म आफन्तसमेत सम्पर्कमा नआएकाले उनलाई चिन्ने व्यक्तिले प्रहरी सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरिएको छ।

बाढीका कारण घाइते भएकाहरूको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम प्रकृतिको रहेको र उनीहरूको चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई सूचना उपलब्ध गराउन नेपाल प्रहरीले सम्बन्धित अस्पतालहरूमा 'नेपाल प्रहरी नागरिक सहायता कक्ष' स्थापना गरेको छ। घाइतेका आफन्तजन अस्पताल पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन्।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको र प्रभावितको विवरण सङ्कलन भइरहेको जनाएको छ। साथै, विपद्का समयमा अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।