आर्थिक विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बैठकले बहुमतबाट ‘आर्थिक विधेयक, २०८३’ पारित गरेसँगै अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जाने भएको छ।

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ। अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट पारित भएको हो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे। त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

दफाबार छलफलमा भाग लिँदै सभाका सदस्यहरू डा. प्रेम दंगाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरे।

बैठकको शून्य समयमा सदस्यहरूले सुकुम्बासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।