दाङका कुमाल समुदायले परम्परागत भाँडाकुँडाको सट्टा आधुनिक माटाका कप र प्लेट उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।
दाङ– केही वर्षअघिसम्म प्रेमबहादुर कुमालको दिनचर्या माटाका गाग्री, हाँडी र भुर्का बनाउनमै बित्थ्यो। अहिले भने उनी प्रायः माटाका प्लेट र कप मात्र बनाउँछन्। बजारको माग फेरिएसँगै पुस्तौँदेखि अपनाउँदै आएको कुमाले पेसाले पनि नयाँ स्वरूप लिन थालेको छ।
तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीका प्रेमबहादुर भन्छन्, “पहिले गाग्री, भुर्का र हाँडीको माग बढी हुन्थ्यो, अहिले बजारमा प्लास्टिकका भाँडा सहजै पाइने भएकाले ती सामग्रीको माग घटेको छ। बरु अहिले माटाका प्लेट र कपको माग बढ्दो छ।”
पछिल्लो समय विभिन्न स्थानमा ‘मट्का चिया’ पसल खुल्न थालेपछि माटाका कपको माग बढेको उनको अनुभव छ। चियासँगै माटोको स्वाद र पर्यावरण अनुकूल सामग्री खोज्ने ग्राहक बढेकाले आफूहरूले उत्पादन गरेका सामग्री बजारमा सहजै बिक्री हुने गरेको उनले बताए।
“माग धेरै आउँछ, केही होटल सञ्चालकले त ‘यतै आएर बनाए पनि हुन्छ’ भनेर कोठासमेत दिने प्रस्ताव गर्छन्”, उनले भने, “तर जनशक्ति अभावका कारण मागअनुसार उत्पादन गर्न सकिरहेका छैनौँ।”
प्लेट र कपसँगै अहिले माटाका गमला तथा सजावटका लागि प्रयोग हुने घोडालगायतका मूर्ति बनाउन पनि अर्डर आउने गरेको छ। यसले परम्परागत कुमाल पेसामा नयाँ सम्भावनाको संकेत देखाए पनि दक्ष जनशक्तिको कमी भने मुख्य चुनौती बनेको देखिन्छ।
अर्का व्यवसायी कविराम कुमालका अनुसार नयाँ पुस्ताको फरक प्राथमिकताका कारण यो पेसाको निरन्तरतामा चासो बढेको छ। “माग त पर्याप्त छ, तर यो पेसा अहिले पनि हामीजस्ता पुराना पुस्ताले धानेका छौँ”, उनले भने, “नयाँ पुस्ताको सहभागिता अपेक्षाअनुसार नहुँदा यो सीप हराउने हो कि भन्ने देखिन्छ, यद्यपि केही युवाले सिक्ने प्रयास भने गरिरहेका छन्।”
गरिबी निवारण कोषबाट प्राप्त ‘ग्लेजिङ’ मेसिनले उत्पादनको गुणस्तर सुधार्न सहयोग पुगेको छ। त्यसैगरी हस्तकला महासंघले दिएको तालिमपछि यहाँका कुमाल समुदायले आधुनिक डिजाइनका प्लेट, कप र अन्य सामग्री बनाउन सिकेका हुन्। तर उत्पादनको मूल्य निर्धारण गर्ने कुनै निश्चित मापदण्ड नहुँदा बिक्री मूल्य भने ग्राहकसँगको समझदारी (मोलमोलाइ) मै निर्भर रहने गरेको उनीहरू बताउँछन्।
“हामीले बनाएका माटाका भाँडाको तोकिएको मूल्य छैन”, कविरामले भने, “त्यसैले अनुमान र आपसी सहमतिकै आधारमा बिक्री गर्नुपर्छ।” कुनै समय करिब ६० परिवारले बसोबास गर्ने यस कुमाल बस्तीमा अहिले १०–११ परिवार मात्र सक्रिय रूपमा माटाका भाँडा बनाउने पेसामा संलग्न छन्। बजारको माग बढे पनि पेसामा रहने जनशक्ति भने घट्दै गएको छ।
कच्चापदार्थको उपलब्धता अर्को विषय बनेको छ। अहिले उनीहरूले तुलसीपुर–७ को कालोखोला क्षेत्रबाट माटो ल्याउने गरेका छन्। तर त्यहाँबाट माटो निकाल्ने विषयमा स्थानीयसँग समय–समयमा समन्वयको अभाव हुने गरेको उनीहरूको भनाइ छ। आवश्यक गुणस्तरको माटो सहज रूपमा उपलब्ध हुन नसक्दा उत्पादनमा असर पर्ने गरेको कुमाल समुदायले जनाएका छन्।
बजारको आवश्यकता बदलिँदै जाँदा कुमाल पेसाले पनि आफूलाई समय अनुकूल ढाल्ने प्रयास गरिरहेको छ। परम्परागत गाग्री र हाँडीको स्थान अहिले प्लेट, कप र सजावटी सामग्रीले लिन थालेका छन्। यो पुस्तौँ पुरानो सीपलाई दीर्घकालसम्म जोगाइराख्न नयाँ पुस्ताको सहभागिता, कच्चापदार्थको सहज उपलब्धता र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु आवश्यक देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
