गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गर्न माग

त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे संसद्मा निष्पक्ष छानबिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ।

काठमाडौँ— प्रतिनिधिसभामा सांसदहरूले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद भएको बताए। सांसद वर्षामान पुनले नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै रोल्पामा भएका सवारी दुर्घटनाका सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराए।

सांसदहरू आशिका तामाङ, यशोदाकुमारी बराल र शाहजान खातुनले नेपालीले आत्मदाह गर्दा राज्यले आवाज नसुनिएको गुनासो गरे। सांसद ऐन महरले नेपालीले आत्मदाहको प्रयास गरेपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गर्दै परिवारका सदस्यलाई समेत भेट्न नदिइएको बताए। त्यस्तै, सांसद गीता गुरुङले सुकुम्बासी बस्तीबाट हटाइएकाहरू अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

घटनाको छानबिन गर्न माग
सांसदहरूले सरकारसँग नेपालीको आत्मदाह प्रयास र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई समय दिएका थिए। थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन्।

सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेबापत १० हजार रुपैयाँ जरिबाना गरिएकै कारण आत्मदाहको प्रयास गर्नुपरेको भन्दै यस्तो वातावरण बन्नु दुःखद भएको बताइन्। नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराइन्।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन्। सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने माग गरिन्।

सांसद ज्ञानबहादुर शाहीले गरिब र दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए। सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उल्लेख गर्दै उनले युरोपको भन्दा बढी कर तिरेर सोमालियाको जस्तो सुविधा पाउन नागरिक बाध्य भएको टिप्पणी गरे।

उपचारकै क्रममा वीर अस्पतालमा निधन
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो। अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालले निरन्तरको प्रयासका बाबजुद बिहान ११ः१९ बजे नेपालीको निधन भएको जानकारी दिए। डा. दाहालले भने, "उनको जीवनरक्षाका लागि चिकित्सक, अस्पताल, प्रशासन र सरकारले बिहीबारदेखि निरन्तर प्रयास गरे पनि बचाउन सकिएन। उनको शरीर गम्भीर रूपमा जलेको थियो।"

सरकारले जलनबाट घाइते नेपालीको उपचारमा विशेष चासो राखेपछि संयोजक डा. दाहालको नेतृत्वमा प्लास्टिक विभाग, क्रिटिकल केयर, एनेस्थेसिया र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटिएको थियो।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ५५ प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिँदै ज्यान जोगाउन अथक प्रयास गरे पनि सम्भव नभएको बताएको थियो।

सरकारले थप उपचारका लागि एयर एम्बुलेन्सको व्यवस्थासहित भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरूले उनको अवस्था निकै जटिल रहेकाले तत्काल सघन उपचार कक्ष (आइसीयू) बाट निकाल्न नहुने सुझाव दिएका थिए।