क्वार्टरफाइनलमा मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

फ्रान्सले मोरोक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।

क्वार्टरफाइनलमा मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
रोयटर्स

काठमाडौँ- फ्रान्सले मोरोक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।

बोस्टनमा बिहीबार राति सम्पन्न क्वार्टरफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले दुई गोल गर्दै सहज जित निकालेको हो।

फ्रान्सका लागि ६०औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सले २–० को जित सुनिश्चित गर्‍यो। एमबाप्पेको पेनाल्टी पहिलो हाफमा मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाएका थिए।

अफ्रिकाको अन्तिम बाँकी टोलीका रूपमा क्वार्टरफाइनल पुगेको मोरोक्कोले केही अवसर सिर्जना गरे पनि फ्रान्सविरुद्ध गोल गर्न सकेन। पराजयपछि मोरोक्कोका प्रशिक्षक मोहम्मद उआहबीले फ्रान्स उत्कृष्ट टोली रहेको स्वीकार गर्दै आफ्ना खेलाडीले सक्दो प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।