हामीकहाँ नेताहरू थुनिएका त छैनन्, तैपनि विस्थापितको मुद्दा उठाउने शेख अब्दुल्ला, हर्क साम्पाङ मात्रै हुन कि जस्तो देखिन्छन्। सञ्जयसामु सुभद्राले ५० वर्षअघि देखाएको जति हिम्मत आज रञ्जु दर्शनाहरूले देखाउन सकेका छैनन्।
काठमाडौँका खोला किनारका सुकुम्वासी/अव्यवस्थित बस्तीमा बुल्डोजर चल्नुभन्दा ठिक ५० वर्षअघि दिल्लीको तुर्कमान गेटको घटना। बुल्डोजर देख्दै अव्यवस्थित बस्तीमा ‘दहसत’को माहौल हुन्थ्यो। केही दिनअघि नै शरणार्थी शिविर (ट्रान्जिट क्याम्प)का साथै केही घर/पसलमा बुल्डोजर चढाई ‘फतह’ भइसकेको थियो। १९ अप्रिल, १९७६ को दिन बिहानैदेखि महिला/बालबालिकासहित पाँच सयजति स्थानीय तुर्कमान गेटमा विरोधमा उत्रिएका थिए, कतिपयको हातमा कालोपट्टि थियो। प्रदर्शनकारीलाई हतियारधारी सुरक्षाकर्मीहरूले घेरेका थिए।
साढे ११ बजे बुल्डोजर पुग्यो, सात ट्रक केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवान उतारियो। नजिकै आसफ अली रोडमा बुल्डोजर र सुरक्षाकर्मीको ट्रकको लाइन थियो। अप्रिलको गर्मीमा दिल्ली यसै तातो, भिड थपिँदै/तातिँदै गयो। प्रतिरोध गर्नेलाई पक्रेर लैजान बन्दी/कैदी ओसार्ने लरी ल्याइयो। भिड झन् भड्कियो। ‘मरता क्या न करता’– प्रदर्शनकारीको धैर्यको बाँध टुट्यो। ढुंगामुढा गरी सुरक्षाकर्मीहरूलाई तितरबितर पार्दिए। यसअघि बुल्डोजर चढाई भइसकेकाले ढुंगामुढा गर्न सामग्रीको कमी थिएन। सुरक्षाकर्मीहरूलाई खदेडेपछि पनि घरका छत र गल्लीहरूबाट ढुंगामुढा जारी रह्यो।
टियर ग्यास र हवाई फायरिङ शुरू भयो। एक घण्टामा दिल्ली पुलिसको आठ कम्पनी र सीमा सुरक्षा बलको एक कम्पनी त्यहाँ ओरालियो। साढे २ बजे सुरक्षाकर्मीले गोली चलाउन थाले। प्रदर्शनकारीले हानेको एउटा ढुंगा लागेपछि फिल्ड कमान्डर डीआईजी भिंडरले एक जना जवानको राइफल खोस्न खोजे। जवानले राइफल त दिएनन्, प्रदर्शनकारीउपर गोली दाग्ने आदेशचाहिँ पालन गरे। टियर ग्यास/गोलीबाट जोगिन प्रदर्शनकारी फैज–ए–इलाही मस्जिदको शरणमा परे। सुरक्षाकर्मी मस्जिदकै ढोका फोरेर भित्र घुस्यो। मस्जिदको आँगन रगतले लतपत भयो।
साढे ४ सम्म त कर्फ्यु घोषणा भइसकेको थियो, जुन १३ मेसम्म कायम थियो। सुरक्षाकर्मीहरू घर–कारखानामा घुस्दै स्थानीयलाई कुट्न थाले। महिलाउपर दुर्व्यवहार भयो। सरकारले गोलीबाट ६ जना मरेको पुष्टि गर्यो। अरू एजेन्सीहरूले सरकारले भनेभन्दा मृतक संख्या कम्ती दोब्बर रहेको अनुमान गरे। पत्रकार कुलदीप नैयरले त ‘द जजमेन्ट’मा १५० जना मारिएको दाबी गर्दिए।
सुरक्षाकर्मीको ‘रक्तरञ्जित विजय’पश्चात् बुल्डोजरका आवाज गडगडाउन थाले। १६ वटा बुल्डोजर प्रयोग गरी रातभर घर भत्काइयो। घर भत्काउने क्रम २२ अप्रिलसम्म अनवरत चल्यो। हामीकहाँ मे दिवसकै दिन एकथरि श्रमिकहरूलाई घर भत्काउन भ्याइनभ्याई छ, अर्काथरि श्रमिक बेघर भई वैकल्पिक बास बन्दोबस्तीमा छन्। बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा बुल्डोजर (यहाँ बुल्डोजर भन्नाले संरचना भत्काउन प्रयोग हुने बुल्डोजर, डोजर, एक्स्काभेटर आदि उपकरण हो) चढाई छ।
गोलीबारी हुनुअघि
१९ अप्रिलको त्यो कालो दिनको ६ दिनअघि १३ अप्रिल १९७६ को बिहान एउटा थोत्रो बुल्डोजर तुर्कमान गेटतिर अघि बढिरहेको थियो। पछिपछि कामदारले भरिएको एउटा ट्रक थियो भने त्यसको पछिल्तिर दिल्ली विकास प्राधिकरण (डीडीए)का तहसिलदार कश्मिरीलालको नेतृत्वमा कर्मचारीहरू चढेको जिप। कश्मिरीलाल घर भत्काउन त्यहाँ पहिलोचोटि गएका थिएनन्। यसअघि दुईचोटि उनी पिटाई खाएर फर्किनुपरेको थियो–काठमाडौँमा पनि उहिल्यै बाबुराम भट्टराईको नेतृत्वको सरकार छँदा, अनि तत्कालीन मेयर बालेन्द्र शाहको आदेशमा ‘कश्मिरीलालहरू’ले पिटाई खाएर फर्किनपरे जस्तै। मेयरको आदेशमा बस्तीमा बुल्डोजर चलाउन पुग्ने नगरप्रहरी प्रमुख अनि गत १३ गते पुलिसले ‘आज रात परिसक्यो भोलि भत्काऔला’ भन्दा पनि, ‘हैन अहिले भत्काउने भन्दै डोजर लिएर राति ८ बजे बुल्डोजरसहित मनोहराको सुकुम्वासी बस्ती छिर्ने सांसद राजुनाथ पाण्डेको अनुहारमा कश्मिरीलाल देखिनेरैछ।
कश्मिरीलालले पिटाई खाँदा इमर्जेन्सी थिएन, पछिल्लोचोटि त इमर्जेन्सीको समय थियो। सारा राज्यसंयन्त्र ‘सुपर प्रधानमन्त्री’ सञ्जय गान्धीको सनकमा चलायमान थियो। नशबन्दीका साथै झुप्राझुप्री सफाया गरी शहरको सौन्दर्यीकरण गर्ने सञ्जय गान्धीको सनक थियो। अनि सञ्जयलाई प्रसन्न बनाउन सारा राज्यसंयन्त्र प्रतिबद्ध थियो। काठमाडौँमा पनि प्रहरी/नगरप्रहरी उहिले भगाइदाभन्दा बडा बलियो सरकार छ, झन्डै दुई तिहाइको। फेरि सिंहदरबार र राष्ट्रपति भवन जोगाउन अनेकन् शर्त तेर्स्याउने सुरक्षा निकाय ‘आगे बढो प्रधानमन्त्री, हम तुम्हारे साथ है’को अन्दाजमा छ।
१३ अप्रिलको बिहान पनि बुल्डोजर पुग्नासाथ स्थानीयले घेरा हालिहाले। कश्मिरीलालले सम्झाए, ‘हामी ट्रान्जिट क्याम्प (शरणार्थी शिविर)मा बस्नेहरूलाई राम्रो वासस्थानमा लैजान आएका हौँ, चिन्ता लिनपर्ने केही छैन।’ कामदारहरू ट्रान्जिट क्याम्पको संरचना भत्काउन थाले। क्याम्पमा बस्नेहरूले विरोध जनाएनन्। ५० वर्षपछि काठमाडौँमा भएजस्तै कुनै अवरोध त्यहाँ भएन।
दुई दिनपछि १५ अप्रिलमा फेरि दुई वटा बुल्डोजर पुग्यो। स्थानीयहरू गुहार्न पुगेपछि सञ्जय गान्धीनिकट नगर पार्षद् अर्जन दास सूचना तथा प्रसारणमन्त्री विद्याचरण शुक्ललाई भेट्न पुगे। शुक्लले डीडीएका उपाध्यक्ष जगमोहनलाई फोन लगाएर बुल्डोजर फिर्ता गर्न आदेश दिए। नगर पार्षद् दास तुर्कमान गेट फर्किंदा बुल्डोजर फर्किएको त थिएन नै, करिब ५० घर भत्काएर जमिन सम्याइरहेको दृश्य देखियो। दृश्य ह्रदयविदारक थियो। महिला, बालबालिकाहरू भत्किएका घरको बाहिरपट्टि शोकमग्न थिए। तिनका सरसामान छरपस्ट थिए। जुन दृश्यमा एक हप्तादेखि हामी नै अभ्यस्त भइसकेका छौँ।
डीडीएका कर्मचारी घरधनीहरूलाई उनीहरूलाई व्यवस्थापन गर्ने भनिएको ‘प्लट’को स्लिप पनि दिइरहेका थिए। स्थानीयहरूचाहिँ आफूहरू पुस्तौँदेखि बसिरहेको र घरकर पनि तिरिरहेको भनेर अनुनय विनय गरिरहेका थिए।
१८ अप्रिल आइतबार परेकाले बुल्डोजरहरूले पनि विश्राम पाए। त्यही दिन तुर्कमान गेटबाट नजिकै वैकल्पिक बसोबासको बन्दोबस्त गरिदिन र सबैलाई एकैठाउँमा बसोबास गराइदिन अनुनय–विनय गर्न पुगेका स्थानीयहरूलाई डीडीएका उपाध्यक्ष जगमोहनले भनेका थिए, “हामीलाई एउटा पाकिस्तान सिध्याएर अर्को पाकिस्तान बनाउने मूर्ख नसम्झिनू।” त्रिलोकपुरी र खिचडीपुरमा पाँच लाख मान्छेलाई बसोबास गराउने योजना छ, त्यही जानु भनेर स्थानीयलाई उनले फर्काइदिएका थिए। सञ्जयको सनकलाई सघाउन हमेसा तत्पर रहने जगमोहन सरकार सेवाबाट अवकाश पाएपछि भारतीय जनता पार्टीमा प्रवेश गरी दिल्लीबाटै तीनचोटि त चुनाव जितेर लोकसभामा पुगे, अटलविहारी वाजपेयी नेतृत्वको सरकारमा शहरी विकाससहितका मन्त्रालय पनि सम्हाले। पाँच वर्षअघि बितेका उनी मलहोत्रा (पन्जाबी) थिए।
कम्तिमा ६ जनाको ज्यान जाने गोलीबारी भएको भोलिपल्ट घटनास्थलबाट दुई किलोमिटरको दूरीमा अफिस रहेको ‘इन्डियन एक्सप्रेस’मा फ्रान्समा विश्वविद्यालय सुधारको माग गरी प्रदर्शनमा उत्रिएका विद्यार्थीउपर टियर ग्यास प्रहार गरिएको खबर त छापियो, तुर्कमान गेटमा भएको रक्तपातको समाचार थिएन। सञ्चारमाध्यममा त्यो रक्तरञ्जित घटना सेन्सरको कैँचीमा परेको थियो। धन्न हामीकहाँ ‘माथिको आदेश’मा रोक्न खोज्दाखोज्दै पत्रकारहरूले विस्थापितहरूको कथा/व्यथा लेखेका छन्, देखाएका छन्। घर भत्किएको भग्नावशेषमा हराएको नागरिकता भेटिएला कि भनेर खोज्दै गरेकी ७० वर्षीया मीनाकुमारी बस्नेतका दुःख/दर्द समेटिएको छ (अनलाइनखबर) । डेढ वर्षअघि छोरी च्याप्दै बसाई सरिरहेकी सुन्तली बलामीका कथा प्रकाशित छन् (इकान्तिपुर) ।
बुल्डोजर विजयपश्चात् विस्थापितहरूलाई मंगोलपुरीमा पुर्याइयो। जीर्ण झुपडीहरू थिए, कतिपय घरमा छतधरि थिएनन्। शौचालयहरू छत र ढोकाबेगरका थिए, जहाँ छिर्न लाम्लामा लाइन हुन्थे। सरकारले विपन्नउपर रक्तपात मच्चाउँदा त सरकारले समाचार सेन्सर भएको इमर्जेन्सीकालमा विस्थापितहरूको दुःख/दर्दको रिपोर्टिङ गर्न पत्रकारले जाँगर चलाउने कुरा थिएन। विपक्षी अधिकांश नेता जेलमा थिए। तुर्कमान गेट र मंगोलपुरीको स्थलगत अवलोकन गरी उनीहरूको दयनीय अवस्था माथिसम्म पुर्याउने एकल नेता जम्मुकश्मिरका मुख्यमन्त्री शेख अब्दुल्ला थिए। उनले प्रधानमन्त्री इन्दिरा गान्धीलाई लामो चिठी लेखेर विस्थापितहरूको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गर्न खोजे, अनि ‘तिम्रो प्रिय छोराले प्रधानमन्त्रीको नाकै मुन्तिर धर्मनिरपेक्षताविरुद्ध वितण्डा मच्चायो’ लेखे। श्रीमती गान्धीले उनको कुरालाई डिसमिस गर्दिइन।
हामीकहाँ नेताहरू थुनिएका त छैनन्, तैपनि विस्थापितको मुद्दा उठाउने शेख अब्दुल्ला, हर्क साम्पाङ मात्रै हुन कि जस्तो देखिन्छन्। बुल्डोजर कारबाही हुने भएपछि पुरानो दिल्लीबाट प्रतिनिधित्व गर्ने सांसद सुभद्रा जोशीले विकल्प नदिई बस्ती उजाड्ने कामविरुद्ध ध्यानाकर्षण गराउन शुरू गरिन। सत्तारुढ पार्टीकै सांसद सक्रिय हुँदा प्रधानमन्त्री आवासमै सम्बद्ध निकायबीच बैठक पनि भयो। तर सञ्जयलाई सम्झाउने कोही थिएनन्। तैपनि मतदाताको पक्षमा अनवरत लागिन। प्रधानमन्त्रीलाई चिठी नै भए पनि लेखिरहिन, मौन रहिनन्। सञ्जयसामु सुभद्राले ५० वर्षअघि देखाएको जति हिम्मत आज रञ्जु दर्शनाहरूले देखाउन सकेका छैनन्। गर्भवती अवस्थामा उम्मेदवार भई गर्भावस्थाको सहानुभूति भोट बटुल्नसमेत मिहिनेत गरेकी रञ्जुले फेसबुकमा लम्बा स्ट्याटस लेखेर गर्भवती/सुत्केरी अवस्थामा विस्थापितहरूप्रति ‘चासो’ देखाउँदै सरकारको पुरजोर समर्थन गरेकी छन्। ‘गर्भावस्था, सुत्केरी, स्कुले बालबालिकाको पढाइको व्यवस्थापन नगरी बुल्डोजर विजय गर्न हतारो किन’ सोध्न सकेकी छैनन्। बरु, अब ‘तिमीहरूको भयंकर राम्रो हुनेछ’ भनेर मत माग्दाकै शैलीमा आशा बाँडेकी छन्। विस्थापितहरू राम्रो हुनेमा आशावादी छन् भनेर सत्य बोलेकी छैनन्।
इमर्जेन्सीको ज्यादतीको ठूलो मूल्य कांग्रेस, श्रीमती गान्धी र छोरा सञ्जयले चुकाउन पर्यो। मुस्लिम मतदाताको ठूलो हिस्साले कांग्रेसविरुद्ध मतदान गर्यो। श्रीमती गान्धी र सञ्जय दुवै लोकसभा चुनावमा पराजित भए भने उत्तर भारतमा कांग्रेसको पत्तासाफ भयो। सन १९७७ को लोकसभा चुनावपछि बनेको जनता पार्टीले इमर्जेन्सीको ज्यादती छानबिन गर्न बनाएको ‘शाह कमिसन’ समक्ष श्रीमती गान्धीको सरकारले कानूनद्वारा निर्धारित प्रक्रियाहरू बेवास्ता गरी लाखौँलाई बेघर बनाइएको गुनासाहरू दर्ता भए। स्थलगत अध्ययनपछि शाह कमिसनले ‘एउटा जनावरधरि राख्न नमिल्ने ठाउँमा कसरी सिंगो परिवार राख्नसकेको’ भनेर टिप्पणी गर्यो।
ज्ञानप्रकाश ‘इमर्जेन्सी प्रोक्लेम्ड’मा उल्लेख गरेअनुसार ब्रिटिसद्वारा योजनाअनुसार चौडा सडक, हरित उद्यान आदिसहितको दिल्ली बनेपछि मुगलकालीन पुरानो दिल्लीलाई अव्यवस्थित, फोहोर ठान्न थालियो। भारत विभाजनपछि शरणार्थी आगमनले पनि पुरानो दिल्लीमा अव्यवस्थित बसोबासको समस्या बढायो। सन १९५५–५६ मा जन्डिसको महामारी फैलिएपछि दिल्लीमा अभिजात वर्गले व्यवस्थित र सहर योजनाको माग गर्न थाल्यो।
दबाब बढ्दै गएपछि भारतले सरकारले ‘फोर्ड फाउन्डेसन’लाई अनुरोध गर्यो भने फाउन्डेसनले पनि २ लाख १५ हजार डलरको परियोजना स्वीकृत गरी काम शुरू गरिहाल्यो। फोर्डले १९६० मा पेश गरेको गुरुयोजनालाई भारत सरकारले १९६२ मा अपनाएपछि नै दिल्लीमा अव्यवस्थित बसोबास, अतिक्रमण सफाया गर्ने बहस शुरू भएको थियो। तैपनि यसले खासै रफ्तार पक्डिन सकेको थिएन।
चाकरहरूद्वारा ‘म्यान इन एक्सन’को उपाधिप्राप्त सञ्जयको हातमा सत्ताको लगाम आएपछि दिल्लीको सौन्दर्यीकरणले प्राथमिकता पाइहाल्यो। सञ्जयका लागि शहरी समस्याको केन्द्रमा थिए, गरिब। तिनका झुप्रा र अतिक्रमणले शहरलाई कुरूप बनाइदिएको थियो। सौन्दर्यीकरणका लागि आवास भत्काएर तिनलाई शहरको बाहिरतिर खदेड्न जरुरी थियो। ‘गरिबी हटाओ’को नारामा चुनाव जितेर आएकी श्रीमती गान्धी नै अब छोराको हुटहुटीसामु ‘गरिब हटाओ’ स्विकार्न बाध्य थिइन।
१९७३ देखि इमर्जेन्सी लाग्नुअघि (जुन १९७५) सम्म) १८ सय संरचना भत्काइएको दिल्लीमा इमर्जेन्सीकालमा (जुन १९७५–मार्च १९७७) एक लाख ५० हजार संरचना भत्काइनुले पनि सञ्जयको बुल्डोजर कहर अनुमान गर्न सकिन्छ। यो कालखण्डमा सात लाख मान्छे विस्थापित हुन बाध्य भएका थिए। काठमाडौँमा दुई दिन (वैशाख १२–१३) मै करिब १० हजार विस्थापित भएको अनुमान छ। ०७९ को गणनाअनुसार भत्काइएका क्षेत्रमा १८०० परिवार बसोबास गरिरहेको थियो। (सेतोपाटी)
सञ्जयको सनक, अलोकतान्त्रिक, निर्दयी/अमानवीय कृत्यको तारिफ गर्ने/उक्साउनेमा आमा इन्दिरा, श्रीमती मेनका मात्रै थिएनन्, लेखक/बुद्धिजीवी आदि–इत्यादिको ठूलो पल्टनै मोर्चामा सक्रिय थियो। सञ्जयको सदाबहार तारिफकर्तामा लेखक खुशवन्त सिंह पनि थिए। उनले इमर्जेन्सीको समर्थन मात्रै गरेनन्, पछि ‘ह्वाइ आई सपोर्टेड द इमर्जेन्सी’ किताबै लेखे। खुशवन्तको नजरमा सञ्जय काम फतह गर्ने नौजवान थिए, जसले काम फतह गरेरै श्वास फेर्थे। इमर्जेन्सीमा आतंक मच्चाएको जबर्जस्ती नशबन्दी (परिवार नियोजन) अभियानको पनि उनले ‘आबादीलाई नियन्त्रित गर्न जरुरी भएकाले सही काम थियो’ लेखे । ‘आबादी नियन्त्रणको बेस्ट तरिका मलाई थाहा छैन,’ उनले लेखे, ‘सञ्जयको आफ्नै तरिका थियो, उसको इरादा एकदम सही थियो।’ श्रीमती गान्धीले ‘ऊ चिन्तक होइन, कर्ता हो’ भनेकी थिइन।
१३ अप्रिलमा बुल्डोजर चल्नु केही दिनअघि सञ्जय कांग्रेस कार्यकर्ताले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन तुर्कमान गेट क्षेत्रमा पुगेका थिए। स्थानीयले खुब स्वागत सत्कार गरे। तर स्वागतको तौरतरिकाबाट सञ्जय खुशी भएनन्, झन् रिसाए। कांग्रेस स्थानीय नेताहरूले नै सञ्जय नाखुस फर्किएको भन्दै अव तोडफोड अवश्यम्भावी छ भनेका थिए। दुई वर्षअघि नगर प्रहरी पिटाई खाएर फर्कन परेको बदला प्रधानमन्त्री भए पनि शाहले लिइछाडेका छन्।
(तुर्कमान गेट काण्डको विवरण इमर्जेन्सी प्रोक्लेम्डका साथै बीबीसी विवेचनासहितको युट्युब सामग्रीबाट)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

It draws a parallel between historical patterns from a neighboring country’s past and today’s situation in Nepal, looking at them side by side.
Subodh Ghimire
1 month ago