डढेलोका कारण फ्रान्समा साढे दुई लाख मानिस विस्थापित

दक्षिण–पश्चिम फ्रान्सको बोर्दो नजिक भीषण डढेलो फैलिएपछि पछिल्लो २४ घण्टामा थप ५५ हजारसहित दुई लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ। आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दो नजिक पुग्दै गएको अधिकारीहरूले बताएका छन्।

बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीहरूले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन्।

गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डढेलो थप फैलिन सहयोग गरेको छ। साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ। उक्त क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो।

यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जङ्गल र झाडी क्षेत्र डढेलोको उच्च जोखिममा परेका छन्।

दमकलकर्मीहरूले जमिन र आकाशबाट बोर्दोतर्फ बढिरहेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। अग्निनियन्त्रक विमानबाट पानी र आगो फैलिन नदिने रसायन छर्किने काम भइरहेको छ। चौबीसै घण्टा खटिएका दमकलकर्मीलाई सहयोग गर्न सेनासमेत परिचालन गरिएको छ।

बोर्दोका मेयर थोमस काजेनाभले आगो महानगरीय क्षेत्र नजिकै आइपुगेको बताएका छन्। आगो सहरको सबैभन्दा नजिकको बिन्दुबाट करिब १५ किलोमिटरको दूरीसम्म पुगेको उनले जानकारी दिएका छन्।

गिरोन्डका अधिकारीहरूले बोर्दो प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको केही भागसमेत बन्द गर्न आदेश दिएका छन्।

यसैबीच, छिमेकी स्पेनमा पनि पूर्वी तटीय भ्यालेन्सिया क्षेत्रमा लागेको डढेलोका कारण मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यसै साता भ्यालेन्सिया र म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको अनियन्त्रित डढेलोका कारण करिब एक लाख १६ हजार मानिस घर छाड्न बाध्य भएका छन्।

फ्रान्सको दक्षिणतर्फ रहेको ल्यान्डेस क्षेत्रमा लागेको अर्को डढेलोका कारण यस साता करिब ३० हजार मानिस विस्थापित भएका छन्।