बसाइँसराइ र श्रम अभावका कारण परम्परागत खेती प्रणाली संकटमा परेपछि मुसिकोट नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ।
गुल्मी– पहिले गाउँका प्रत्येक घरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो। खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोलि ती दिन बिस्तारै सम्झनामा सीमित हुँदै गएका छन्। गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् भने गाउँमा काम गर्ने मानिसको अभाव छ। जसका कारण किसानले गोरु पाल्न बिस्तारै छाडिसकेका छन्।
यही ग्रामीण परिवेशको यथार्थलाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले किसानलाई यान्त्रिकीकरणमार्फत कृषि उत्पादनतर्फ उन्मुख गराउने प्रयास थालेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ९० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल र हाते ट्याक्टर वितरण गरेको छ।
कृषिमा बढ्दो श्रम अभावको न्यूनीकरण, उत्पादन लागत घटाउने र समयको बचत गर्दै खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले किसानहरूलाई उक्त प्रविधि हस्तान्तरण गरिएको नगरप्रमुख जीवलाल खरेल 'जीवन' ले बताए। उनले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको र गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको उल्लेख गरे।
मुसिकोट‐२ का किसान बुद्धिराम खरेलले भने, “गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्। यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ।” पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू उत्साहित देखिएका छन्। हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ।
अर्की कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने बताइन्। यसले समय र ढुवानी खर्चमा समेत बचत हुने उनको भनाइ छ। नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पुर्याउन सके यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताइन्।
गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसामा टिकाइराख्न यस्ता आधुनिक यान्त्रिकीकरणको वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
