हामीलाई देश बदल्ने 'नीति' होइन, सन्तानको 'सेटिङ' मिलाइदिने बिचौलिया चाहिएको छ। अस्पताल बनाउने 'भिजन' होइन, बिरामी पर्दा दुई हजार 'चन्दा' फाल्ने मालिक चाहिएको छ।
अहिले विश्वका थुप्रै भूगोलमा सूर्यले छाला मात्र डढाउँदैन, मान्छेका सपनाका हड्डीहरू समेत सेकाउँछ। मध्यपूर्वका आकाशहरूमा क्षेप्यास्त्रहरूले मृत्युको भयानक 'नृत्य' प्रदर्शन गर्दै गर्दा नेपालको चुनावी रमिता एउटा 'अर्थहीन प्रहसन'जस्तो देखिन्छ। एकातिर हाम्रा युवाहरू युद्धको चक्रव्यूह र अनिश्चितताको सास्तीमा छन्, अर्कोतिर राज्य 'लोकतान्त्रिक उत्सव'को नाममा अर्को पाँच वर्षे 'राजनीतिक जुवा' खेल्ने तयारीमा मग्न छ।
नेपालको राजनीति र मरुभूमिको धुलोमा एउटा गजबको समानता छ— दुवैले आँखा तिरमिराउँछन्, तर सत्य देख्न दिँदैनन्। तातो बालुवामा उभिएर सिंहदरबारको चिसो रडाकोलाई केही निर्मम प्रश्नहरू सोध्नु अब नागरिक दायित्व मात्र होइन, अस्तित्वको लडाइँ भएको छ। के हामीले चुनेका प्रतिनिधिहरूले ती युवाहरूको ढुकढुकी सुन्न सक्छन्, जो साइरनको आवाजसँगै बङ्करमा लुक्न बाध्य छन्? वा उनीहरूका लागि ती युवा 'रेमिट्यान्स मेसिन' मात्र हुन्?
पसिनाको व्यापार
नेपालको चुनाव कुनै राजनीतिक अनुष्ठान होइन, यो त 'दोहनकारी अर्थतन्त्र'को एउटा क्रूर उपकरण मात्र हो। कुल आन्तरिक उत्पादनको करिब ३० प्रतिशत हिस्सा ४० लाख परदेशीको पसिनाले थामिएको छ। यद्यपि, विडम्बनाको पराकाष्ठा हेर्नुहोस्— जुन रगत र पसिनाले देशको ढुकुटी भरिन्छ, त्यही पैसाले चुनावमा महँगा गाडी, विदेशी रक्सी र कार्यकर्ता पाल्ने मासु आयात गरिन्छ।
यो ३० प्रतिशत केवल तथ्याङ्क होइन; यो त ४० लाख नेपाली छोराछोरीको 'अमिलो बाल्यकाल', श्रीमती (श्रीमानको पनि) को 'एक्लो जवानी' र वृद्ध बाआमाको 'बेसहारा बुढ्यौली' को कुल योगफल हो। यो कस्तो वैश्विक लज्जा हो, जहाँ उत्पादक (श्रमिक) सधैँ देश निकालामा छन् र उपभोक्ता (नेता) सधैँ अधिराज बनेर रजाइँ गरिरहेका छन्? जुन पैसाले देशको अर्थतन्त्रको अक्सिजन थामिएको छ, त्यही पैसाले राजनीतिज्ञहरूले आफ्ना विलासी सपनाको महल ठड्याइरहेका छन्।
चल्ने नोट, नचल्ने भोट
सर्वोच्च अदालतले 'विदेशमा रहेका नेपालीलाई मताधिकार दिनू' भनी आदेश दिएको वर्षौँ भइसक्यो। विडम्बना! राज्यका लागि ती ४० लाख नेपाली 'मुद्रा सटही गर्ने मेसिन' मात्र हुन्। यहाँ परदेशबाट पठाएको 'नोट' चल्छ, तर त्यही हातले खसाल्ने 'भोट' चल्दैन। सत्ताधारीहरू डराउँछन्—कतै ती 'पीडित पसिना'ले आफ्नो आक्रोश मतपत्रमा पोखिदिने त होइनन्? एउटा नागरिकले देश बचाउन रगत दिन सक्छ, तर देश बदल्न 'मत' दिन पाउँदैन— योभन्दा क्रूर लोकतन्त्र अरू के होला?
अबीर कि लासको व्यापार
हामीले चुनावको अंकगणित त धेरै गर्यौँ, तर 'बाकसको अंकगणित' कहिल्यै गरेनौँ। त्रिभुवन विमानस्थलको 'कोल्ड स्टोर'मा दिनहुँ ओर्लिने लासका बाकसहरू र चुनावी र्यालीमा उड्ने अबिरका बीचमा एउटा गहिरो र रक्तिम सम्बन्ध छ। नेताको भाषणमा जति धेरै अबिर उड्छ, परदेशमा रहेका नेपालीको भविष्य उति नै धमिलो हुँदै जान्छ।
कुनै नेताले "देशमै रोजगारी दिन्छु" भन्दै गर्दा उसको गोजीमा म्यानपावर व्यवसायीको चन्दा हुन्छ, त्यो नेता युवाहरूको भविष्यको 'व्यावसायिक हत्यारा' हो। मतदाताले बुझ्नुपर्छ— मतपत्रमा लगाइने त्यो मसीभित्र कतै तपाईँकै सन्तानको रगत त मिसिएको छैन? आज चोक-चोकमा उडाइएका चुनावका करोडौँ रुपैयाँ भोलि हाम्रै छोराछोरीको श्रम शोषण गरेर असुल गरिनेछ। चुनाव जित्न गरिने 'लगानी' भोलि जनताको सेवामा होइन, 'असुली'मा खर्च हुन्छ।
भ्रमको खेती
नेपालमा अहिले 'नयाँ' र 'पुरानो' बीचको महासङ्ग्रामको एउटा भाष्य निर्माण गरिएको छ। यद्यपि, वैचारिक रूपमा यी दुवैमा एउटा डरलाग्दो समानता छ—लोकप्रियतावादको मोह र दार्शनिक शून्यता।
पुराना दलहरू 'इतिहासको ब्याज' खाएर बाँचेका 'भ्रष्टाचारका सङ्ग्रहालय' हुन्। यिनीहरूको जगमा नैतिकताको कंकाल मात्र बाँकी छ। यिनीहरूले लोकतन्त्रलाई एउटा यस्तो 'धमिरा' बनाइदिए, जसले राज्यका संयन्त्रहरूलाई भित्रभित्रै खोक्रो बनाइसकेको छ। नयाँ भनिएका शक्तिहरू 'डिजिटल चमकधमक' र 'सेलेब्रिटी संस्कृति'मा रमाएका 'महत्वाकांक्षाका प्रयोगशाला' हुन्। यिनीहरूसँग 'सेल्फी' खिच्ने क्रेज त छ, तर सिस्टम बदल्ने 'शिल्प' र धैर्यताको अभाव छ।
हामीलाई पुरानोको 'अहंकार' पनि चाहिएको छैन र नयाँको 'कच्चा प्रयोग' पनि चाहिएको छैन। हामीलाई त एउटा यस्तो 'इन्जिनियर' चाहिएको हो, जसले भत्केको जगमा उभिएर नयाँ राष्ट्रिय नक्सा कोर्न सकोस्।
बिक्रीमा विवेक
हामी नेता सराप्छौँ, तर ऐना हेर्न डराउँछौँ। किनकि सत्ताको यो कुरूप बिम्ब कोर्ने कालिगड हामी स्वयं हौँ। ३६४ दिनको 'क्रान्तिकारी' चेतना मतदानको एक दिन 'रैती' मा बदलिन्छ।
हामी यस्ता 'अजिब' नागरिक हौँ, जो सन्तानलाई मरुभूमि लखेट्छौँ र त्यही सन्तानको रगत मिसिएको रेमिट्यान्सले चुनावको अघिल्लो रात नेताको 'मासु र रक्सी' मा उत्सव मनाउँछौँ। जुन उम्मेदवारले केही हजारमा तपाईँको विवेक किन्छ, उसले जितेपछि तपाईँलाई 'नागरिक' होइन, 'बजारको वस्तु' सम्झिन्छ।
हामीलाई देश बदल्ने 'नीति' होइन, छोराको 'सेटिङ' मिलाइदिने बिचौलिया चाहिएको छ। अस्पताल बनाउने 'भिजन' होइन, बिरामी पर्दा दुई हजार 'चन्दा' फाल्ने मालिक चाहिएको छ।
विवेक प्रयोग नगरी मतपत्रमा छाप लगाउँदा तपाईँले मसी मात्र होइन, आफ्नै सन्तानको भविष्यमा 'कालो' पोतिरहनुभएको हुन्छ। सम्झनुहोस्— जसले तपाईँको गरिबीको मूल्य तोक्छ, उसले तपाईँलाई कहिल्यै 'मुक्त' गर्दैन। यो चुनाव नेता फेर्ने मेला होइन, आफूभित्रको 'दास' प्रवृत्ति मार्ने अन्तिम अग्निपरीक्षा हो।
लावारिस नागरिक, लाचार राज्य
जब इजरायलको बङ्करमा विपिनहरू थुनिएका थिए, हाम्रा नेताहरू भोटको 'बङ्कर' खन्दै थिए। आकाशमा मिसाइल दागिँदा त्यसको कम्पन परदेशी नेपालीको मुटुमा पुग्छ। दुर्भाग्य, संकटमा राज्यले 'ओडारमा लुक्नु' भन्नुबाहेक केही गर्न सक्दैन। विपिन जोशी एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनको रिहाइमा देखिएको लाचारीले प्रमाणित गर्छ कि परदेशमा नेपालीको ज्यानको मूल्य एउटा सस्तो सिमकार्ड भन्दा पनि कम छ।
हाम्रो राहदानीको रङ मात्र रातो छ, तर यसको अन्तर्राष्ट्रिय मूल्य फिक्का छ। राज्यको कूटनीति त्यति बेला मात्र ब्युँझिन्छ, जब कसैको लास विमानस्थलमा ओर्लिन्छ। जिउँदाको कदर नगर्ने देशले लासको मात्र व्यापार गर्छ। के यो चुनावले यस्तो नेतृत्व जन्माउन सक्छ, जसको एउटा फोन कलले विश्वका शक्ति राष्ट्रहरूलाई नेपालीको सुरक्षाका लागि दबाब दिन सकोस्?
कस्तो उम्मेदवार रोज्ने?
मतदान केन्द्रमा जाँदा र विवेकको छाप मतपत्रमा लगाउनुअघि यी ५ वटा कसीमा उम्मेदवारलाई घोटेर हेर्नु अनिवार्य छ:
बौद्धिक क्षमता: के उसले सबै खालका विश्वव्यापी संकट, आर्टिफिसियल इन्टेलिजेन्स र आधुनिक अर्थतन्त्रबारे बहस गर्न सक्छ? कि ऊ केवल गालीगलौजको 'डिजिटल कोलाहल' मा रमाउँछ?
विगतको पदचाप: उसले विगतमा कुनै पनि अवसर पाउँदा के गर्यो? यदि हिजो केही गरेन भने भोलि जादु गर्छ भन्नु एउटा आत्मघाती भ्रम मात्र हो।
आर्थिक पारदर्शिता: उसको चुनावी खर्चको मुहान कहाँ छ? जसले आज चुनाव जित्न करोडौँ 'लगानी' गर्छ, उसले भोलि अरबौँ 'असुली' गर्ने निश्चित छ।
नीतिगत प्रष्टता: उसले केवल 'रोजगारी दिन्छु' भन्ने सस्तो आश्वासन बाँड्छ कि 'रोजगारी सिर्जना गर्ने उद्योग र कानुन' को ठोस खाका प्रस्तुत गर्छ?
पहुँच र इमान: के ऊ जितेपछि पनि नागरिकको दुःखमा उभिने साहस राख्छ कि सत्ताको पर्खालभित्र लुक्ने 'अवसरवादी' पात्र मात्र हो?
मत कि राहदानी
यो चुनावले सिंहदरबारको कुर्सीको फैसला मात्र गर्दैन। यसले एउटा परिवारको भविष्य र एउटा पुस्ताको नियतिको फैसला गर्छ। एउटी आमा, श्रीमती वा छोरीले भोट हाल्दा यो सोच्नुस्— "के मेरो यो भोटले मेरो प्रियजनलाई मिसाइल र अनिश्चितताको त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य गर्छ? कि उसलाई अझै लामो समय मरुभूमिमै बस्न विवश बनाउँछ?"
सबैले मतदान केन्द्रमा जाँदा आफ्नो खल्ती होइन, मस्तिष्क र मुटु छाम्नुस्। तपाईँले हाल्ने गलत भोटले परदेशीको घर फर्कने बाटोमा थप काँडेतार लगाउँछ।
खराब नेताहरू ती असल नागरिकका कारण चुनिन्छन्, जो मतदानको दिन आफ्नो 'विवेक' घरमै छोडेर जान्छन्।
परदेशबाट देश बनाउन पैसा त पठाइन्छ, तर देश चलाउने 'विवेक' पठाउन सकिँदैन। ४० लाख नेपालीको हातमा भोट त हुने छैन, तर उनीहरूको जीवन र मृत्युको चाबी तपाईँको हातमा छ। मतपत्रमा लाग्ने त्यो मसी भोलि तपाईँको छोराको पासपोर्टमा लाग्ने 'एक्जिट भिसा' नबनोस्।
फैसला तपाईँको!
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
