सार्वजनिक जग्गाको अतिक्रमण र अनधिकृत बसोबास हटाउन चन्द्रागिरि नगरपालिकाले १५ दिनको समयसीमा तोकेपछि चन्द्रागिरिकै नयाँ नैकापमा सिप्रदी ट्रेडिङले हडपेको बल्खु खोला क्षेत्रको विषय पुनः उठेको छ।
काठमाडौँ– कलंकी–थानकोट सडकखण्डको नयाँ नैकापका स्थानीयको ध्यान चन्द्रागिरि नगरपालिकाले गत वैशाख २३ गते प्रकाशित गरेको एउटा सूचनाले तानेको छ। सूचनामा नगरपालिकाले सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत बसोबास हटाउन १५ दिनको समयसीमा दिएको छ। जबकि, चन्द्रागिरि–१४ मा पर्ने नयाँ नैकापमा निजी संस्था सिप्रदी ट्रेडिङ प्रालिले बल्खु खोलाको जग्गा नै आफ्नो प्रांगणमा पारेको छ।
कलंकी–थानकोट सडकखण्डको नयाँ नैकापमा पश्चिमबाट पूर्वतर्फ घुमाउरो भएर बग्ने बल्खु खोला छेउमा सिप्रदी ट्रेडिङको व्यापारिक प्रांगण छ। भारतको स्थापित ब्रान्ड टाटा मोटर्स लिमिटेड र अरू ख्यातिप्राप्त ब्रान्डका सामान बेच्ने नेपालको आधिकारिक वितरक संस्था हो सिप्रदी।
नापी विभागको साबिक नक्सामा अंग्रजीको ‘यू’ आकारको घुमाउरो हुँदै अहिले सिप्रदीको संरचना भएको ठाउँबाट साबिकको बल्खु खोला बगेको देखिन्छ। तर साबिकको मार्गबाट सारिएको बल्खु खोला अहिले सिप्रदीको पूर्वतर्फ मूल गेटको अगाडि दक्षिणबाट उत्तर बगाइएको छ। खोलाको जग्गामा पर्ने गरी सिप्रदीले त्यहाँ कार्यालय, गोदाम, पार्किङ जस्ता संरचना निर्माण गरेको छ।
“खोलाले यहाँ धार फेरेको होइन, खोलालाई सिधा पारेर जग्गा हडपिएको हो,” एक स्थानीय व्यवसायीले भने, “यो पालि सूचना त आयो, यसैअनुसार जग्गा निकाल्ने काम हुन्छ कि हुँदैन भन्ने मूल विषय हो।”
नगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमण गरी बसोबास तथा अन्य प्रयोजनमा प्रयोग गर्दै आएका सम्पूर्ण व्यक्तिलाई लक्षित गरी नगरपालिकाले १५ दिने सूचना निकालेको देखिन्छ। “तोकिएको समयावधिभित्र उक्त अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानून तथा नेपाल सरकारको नीति बमोजिम आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमण हटाइने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यसै सूचनाद्वारा अवगत गराइन्छ,” सूचनामा भनिएको छ।
२५ वर्षअगाडि गरिएको कब्जा
२०५८ सालतिर तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरू भइसकेको बेला त्यहाँ संरचनाहरू बन्न शुरू भएको खोलाको अर्कोतर्फका सँधियार स्नेह सायमी बताउँछन्। उनी भन्छन्, “खोलालाई सारेर निर्माणको काम अगाडि बढाएको बेला आवाज उठ्यो, तर दरबारसँग नजिक मानिने सिप्रदीउपर अंकुश लगाइएन। हामीले धेरै बोलौँ भने सँधियारले आफ्नो स्वार्थको लागि बोलेको आरोप लाग्न सक्छ।”
अहिले चन्द्रागिरि नगरपालिकाले निकालेको सूचना कार्यान्वयन गर्दा २०२२ सालको नापीअनुसार जग्गा छुट्याए आफूहरूको सहयोग हुने सायमी बताउँछन्। त्यहाँ नापनक्सा गरेमा खोलाको जग्गा आफ्नो कित्तामा देखिए आफूहरू पनि छाडिदिन तयार रहेको उनको भनाइ छ।
यो पनि: सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण जहाँबाट बग्थ्यो बल्खु खोला
कलंकीस्थित नापी कार्यालय काठमाडौँको अभिलेख अनुसार, त्यहाँ २०२२ फागुन २० मा अधिकृत श्यामविनोद ज्ञवाली, निरीक्षक मदनकृष्ण न्यौपाने र अमिन केशरप्रकाश खरेलको सर्बे टोलीले नक्सा बनाएका थिए। उक्त नक्साअनुसार, बल्खु खोला जहाँ बगेको थियो त्यहाँ अहिले सिपद्रीको मुख्य प्रवेश द्वार, सुरक्षा गार्ड बस्ने कक्ष, पार्किङ, गोदाम भवनलगायत संरचना छन्। साबिक नयाँ नैकाप–२ को नक्सा र फिल्ड बुकमा उल्लिखित कित्ता नम्बर २ लाई ‘खोला’ भनेरै लेखिएको छ। पुरानो नापीको सतुंगल–८ (ख) २ को नक्सा भिडाउँदा पनि अहिले सिप्रदी ट्रेडिङ भएको ठाउँमा बल्खु खोला बगेको देखिन्छ।
२०५० सालपछि सिप्रदीले त्यहाँ जग्गा किन्ने क्रम बढाए पनि २०५८ सालसम्म त्यहाँ खोलाको पुरानै स्वरूप रहेको स्थानीय सम्झिन्छन्। साबिक नक्सामा देखिएको खोलाको स्वरूप २०६१ सालमा पछिल्लो सर्बे हुँदासम्म फेरिइसकिएको थियो। “खोलाको जग्गाको करिब एक हजार ३०० वर्गमिटर क्षेत्र सिप्रदीले आफ्नो प्रांगणमा बिलिन गराएको छ। यो भनेको करिब साढे २ रोपनी हो,” एक जना नापी अधिकृतले नक्सामा स्केल भिडाएपछि भने।
सिप्रदीबारे मेयरको दुविधा
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी सूचनाले दिएको १५ दिनको अवधि सकिएपछि वडाले लगत संकलन गर्ने र त्यसपछि नगरपालिकाले प्रक्रिया शुरू गर्ने बताउँछन्। गिरी भन्छन्, “पहिलो चरणमा सार्वजनिक जग्गा ओगटेर नगरपालिकाको स्वीकृतिबिना अनधिकृत बसिरहेकाहरूलाई हटाउने हो। सार्वजनिक संस्था, धार्मिक संस्था र विद्यालय क्याम्पस जस्तालाई अहिले केही गर्दैनौँ।”
सिप्रदीले आफेनो प्रांगणभित्र पारेको जग्गालाई के गर्ने भन्ने विषयमा नगरप्रमुख गिरीले स्पष्ट बताउन सकेनन्। उक्त विषय नगरपालिकाको सूचनाले सम्बोधन गर्ने भए हेरिने उनको भनाइ छ।
बल्खु खोलाले धार परिवर्नन गरेकोले पहिला नापनक्सा गरेर हेर्नुपर्ने गिरी बताउँछन्। खोलाले अरू ठाउँमा पनि धार परिवर्तन गरेको उनको भनाइ छ। त्यसमा आवश्यक परे नापजाँचका लागि नापी बोलाउने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
