महिला क्रिकेटः सुधारियो, तर नतिजाविहीन

कुनै समय टी–२० मा १२० रन कटाउन मुस्किल पर्ने नेपाली महिला टोलीको ब्याटिङ पछिल्लो समय सुधारिएको छ। तर बनाएको रन जोगाउन वा लक्ष्य पछ्याउन अन्तिम समयमा चुकिरहेको छ।

काठमाडौँ– कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध १४१ रनको लक्ष्य पछ्याएको नेपाल १६.२ ओभरमा ९३–७ को अवस्थामा थियो। मैदानमा रुबिना क्षेत्री र सीता रानामगर थिए। समर्थक निराश भइसकेका थिए।

१८औँ ओभरको अन्तिम चार बलमा सीताले तीन चौका र एक छक्का प्रहार गरिन्। उक्त ओभरमा नेपालले २० रन जोडेपछि अन्तिम दुई ओभरमा जितका लागि २४ रन चाहियो। १९औँ ओभरमा रुबिना र सीताले ११ रन जोडे। तर अन्तिम ओभरमा १३ रन जोड्न नसक्दा नेपाल २ रनले पराजित भयो।

२०औँ ओभरको अन्तिम बलमा रुबिनाको ब्याटमा ‘एज’ लागेर चौका जानुबाहेक कुनै पनि ‘बाउन्ड्री’ आएन। अन्तिम बल छक्का मात्र हुँदा पनि खेल ‘टाई’ हुने अवस्था थियो।

नेपाल घरेलु मैदानमा महिला टी–२० विश्वकप छनोट खेलिरहेको छ। नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो खेल थियो। पहिलो खेलमा थाइल्यान्ड्ससँग आठ विकेटले पराजित भइसकेको थियो। 

नेपाललाई ब्याटिङबाट कुनै समय १२० रन कटाउन पनि मुस्किल पर्थ्यो। तर विश्वकप तयारीपछि १२० भन्दा माथि रन बनाउन सक्षम देखिएको छ। यद्यपि, बनाएको रन जोगाउन वा लक्ष्य पछ्याएर जितसम्म पुर्‍याउन सकिरहेको छैन।

जनवरी १८ देखि भइरहेको विश्वकप छनोट प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित भएपछि अब सुपर सिक्स यात्रा मुस्किल देखिएको छ। प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा थाइल्यान्ड तथा नेदरल्यान्ड्ससँगै जिम्बाब्बे र स्कटल्यान्ड छन्। नेपाल विश्वकपसम्म पुग्न १० देशमध्ये शीर्ष चारमा पुग्नु पर्छ।

नेपाल एशिया क्षेत्रबाट छनोट भई ‘ग्लोबल क्वालिफाएर’मा पुगेको हो। थाइल्यान्डको बैंककमा जारी एशिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा यूएईलाई हराउँदै नेपाल एक खेलअगावै ग्लोबल क्वालिफाएरमा छनोट भएको थियो। महिला टी–२० विश्वकप २०२६ जुन १२ देखि इङ्ल्यान्ड र वेल्समा हुँदै छ।

विश्वकप खेल्ने उद्देश्यसहित नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक हर्षल पाठकलाई पुस १ गते महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। महिला क्रिकेट टोलीले विदेशी प्रशिक्षक पाएको यो नै पहिलोपटक हो। त्यसो त, नेपाल पहिलोपटक नै ग्लोबल क्वालिफायरमा पनि पुगेको हो।

क्यानले  ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएर एक महिनादेखि तयारी थालेको थियो। खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुअघि नै पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।

nullभारतको पुणे घर भएका पाठक भारतीय क्रिकेटमा परिचित छन्। क्यानसँग दुई वर्षको सम्झौता गरेर पुस ६ गते काठमाडौँ आइपुगेका उनीसँग क्रिकेट प्रशिक्षणको २१ वर्ष लामो अनुभव छ।

पाठकले आफ्नो प्रशिक्षण पुणेको क्याडेन्स क्रिकेट एकेडेमीबाट शुरू गरेका थिए। त्यहाँ उनले उमेर समूहका खेलाडीहरूलाई प्रशिक्षण दिएका थिए। पछि उनी भारतीय घरेलु क्रिकेटको प्रतिष्ठित प्रतियोगिता रणजी ट्रफीका लागि महाराष्ट्र पुरुष टोलीको ब्याटिङ प्रशिक्षक बनेका थिए। उनकै कार्यकालमा महाराष्ट्र रणजी ट्रफीको फाइनलसम्म पुगेको थियो।

उनले सन् २०१८ मा थाइल्यान्डको महिला राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए। उनले दुई वर्षभित्रै थाइल्यान्डलाई विश्वकपमा पुर्‍याएका थिए। थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो।

नेपालले पनि त्यही सफलताको सपना देख्दै पाठकलाई प्रशिक्षक बनाएको थियो। काठमाडौँ उत्रिएपछि पत्रकार सम्मेलनमा बोल्दै पाठकले नेपाली टोलीको सबैभन्दा बलियो पक्ष खेलाडीहरूको ‘प्यासन’ रहेको बताएका थिए। उनले भनेका थिए, “म थाइल्यान्डको टोलीमा रहँदादेखि नै नेपाली टोलीको खेल हेर्दै आएको छु। मलाई यो टोलीको सबल र दुर्बल पक्षबारे राम्रो जानकारी छ।”

नेपालको ब्याटिङमा देखिएको परम्परागत कमजोरीलाई सुधार्ने उनको उद्देश्य छ। “हामीसँग (विश्वकप छनोट प्रतियोगिताको) तयारीका लागि समय छोटो छ। एकदुई दिनमै आमूल परिवर्तन त आउँदैन, तर हामीले ब्याटिङ सुधारमा विशेष ध्यान दिनेछौँ,” उनले भनेका थिए।

विश्वकप छनोट प्रतियोगिताको तालिकाअनुसार नेपालले पहिलो खेलमै थाइल्यान्डको सामना गर्नु एउटा संयोग थियो। उनले सात वर्षसम्म जुन टोलीलाई प्रशिक्षण दिए, पाठक त्यही टोलीविरुद्ध रणनीति बनाउनुपर्ने बाध्यतामा थिए। तर बाजी थाइल्यान्डले मार्‍यो। 

null नेपालको शुरूआत भने राम्रो भएको थियो। पहिला ब्याटिङ गरेको नेपालले ‘पावर प्ले’मा ८.७६ को रनरेट बनाएको थियो। १३.३ ओभरमा ८७ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो। तर त्यसपछि सम्हालिन सकेन र १२२ रनमा ‘अलआउट’ भयो।

१२३ रनको औषत लक्ष्य दिएको नेपालले बलिङ र फिल्डिङमा राम्रो गर्न सकेन। सीता रानामगरले दुई विकेट लिनुबाहेक अन्य खेलाडी चलेनन्, नेपाल आठ विकेटले पराजित भयो। दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि पराजित भएपछि नेपाल ‘सुपर सिक्स’मा पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाबमा छ। नेपालले अब जिम्बाब्बेसँग शनिबार र स्कटल्यान्डसँग सोमबार खेल्ने छ।

क्यानका प्रवक्ता छुम्बी लामा महिला क्रिकेट सुधारका निम्ति अन्तर्राष्ट्रिय स्तरमा अभ्यास खेलहरू पनि खेलाएको बताउँछन्। खेलाडीहरूको सेवा सुविधामा पनि केही कमी नगरिएको उनको भनाइ छ। विगतभन्दा खेलसमेत सुधारिएको उनको दाबी छ। “खेलमा जितहार हुन्छ। टिमले राम्रो प्रदर्शन गरिरहेको छ, त्यसमा खुशी छौँ,” उनी भन्छन्, “महिला टोलीले अझै राम्रो प्रदर्शन गर्न सक्छ। अब नतिजा जरुरी छ।”

राष्ट्रिय टिमकी पूर्वखेलाडी निरा राजोपाध्याय खेलाडीहरूले सम्हाल्लिएर खेल्न नसक्दा नतिजा आफ्नो पक्षमा ल्याउन नसकेको बताउँछिन्। अभ्यासका खेलहरूमा पनि मध्यक्रममा समस्या देखिएको र प्रतियोगिता शुरू भएपछि त्यही समस्या दोहोरिँदा नतिजा नआएको उनको भनाइ छ।

आफूले नेपाल सुपर सिक्समा पुग्न सक्ने अपेक्षा गरे पनि अब सम्भावना कम हुँदै गएको राजोपाध्याय बताउँछिन्। “खेल सुधारिएको अवस्थामा छ, तर खेल जित्नका लागि विपक्षीभन्दा अब्बल हुनुपर्छ,” उनी भन्छिन्, “त्यसैले टिममा खेलाडीहरूको प्लेसमेन्टमा फेरबदल गर्न सक्यो भने मात्रै पनि सुधार हुनसक्छ।”