राजनीतिमा युवा नेतृत्व: सफल कि असफल?

आउने संसद् पनि अत्यन्त कमजोर देखिनेछ, जसले राजनीतिक अस्थिरता अझै वृद्धि गर्नेछ। किनकि आरामदायी बहुमत प्राप्त गर्न सक्ने दल कुनै पनि बन्न सक्ने अवस्था नरहेको अनुमान गरिँदै छ।

अहिले नेपालमा  परीक्षण भएका र अनुभवी पुराना राजनीतिज्ञहरूको नेतृत्व प्राय:  विवादमा पर्दै गएको छ। युवाहरूले आफ्नो भविष्य निर्धारण गर्नका लागि राजनीतिक क्षेत्रमा नेतृत्व तहमा आउनु पर्छ। यो लहर धेरै देशमा छाएको पाइन्छ। युवाको प्रतिनिधित्व जेनजी समूहले गर्दै आएको देखिन्छ। नयाँ पुस्ताका युवाहरू राजनीतिमा प्रवेश गर्दा उनीहरूको कार्य सम्पादन कुन स्तरको देखिएको छ, केही देशको अध्ययनले यसलाई स्पष्ट पार्नुपर्ने स्थिति छ।

युवाहरू आन्दोलनमा होमिँदै गर्दा आन्दोलन सफल भएपश्चात् नयाँ सिराबाट राजनीति प्रारम्भ गर्दा र शासन सत्तामा पुगिसकेपछि उनीहरूले चलाएको शासन प्रशासन कुन हदसम्म सफल वा असफल देखिँदै गएको छ? त्यसले युवाहरू राजनीतिक नेतृत्वमा रहँदै गर्दा  राष्ट्रिय राजनीतिमा उत्पादक वा प्रत्युत्पादक के सिद्ध भएका छन्? यसका लागि विभिन्न देशमा युवाहरूद्वारा नेतृत्व गरिएको आन्दोलनका केही उदाहरणसमेत प्रस्तुत गर्नु उपयुक्त हुन्छ। त्यसैका आधारमा नेपाली परिवेशमा युवाहरू के कस्ता क्षमतावान् युवा देखिएका छन्? उनीहरूको काँधमा शासनको जिम्मेवारी पुग्दा देश अग्रगमनतर्फ अभिमुख हुन सक्छ सक्दैन, हाल सम्मको अवस्थाले के देखाएको छ? यिनै आधारमा विश्लेषण गर्दै तथ्यका आधारमा निष्कर्षमा पुग्ने प्रयास यहाँ गरिने छ। 

नयाँ पुस्ताको आन्दोलन र शासन
ताजा उदाहरण बङ्गलादेशकै छ। बङ्गलादेशमा आरक्षणको विषयलाई लिएर जुलाई २०२४ मा जेनजी समूहले आन्दोलन गरे। रोजगारीका अवसरहरूमा संकुचन आई बेरोजगारको अवस्था नाजुक बन्दै गएको त्यस देशमा राजनीतिमा योगदान पुर्‍याएको आधारमा केही परिवारमा ठूलो सङ्ख्याको आरक्षण दिनुले ठूलो असन्तुष्टि पैदा गरेको थियो। आन्दोलनको स्रोत वा उपज यही विषयलाई बनाइएको थियो। शेख हसिना बाजेदको एकतन्त्रीय शासनविरुद्ध त्यस देशका आम नागरिक असन्तुष्ट थिए। उनीहरू सबैले नयाँ पुस्ताका युवाहरूले गरेको आन्दोलनलाई स्वतः समर्थन गर्न पुगे। युवाहरूले नेतृत्व गरेको आन्दोलनमा ठूलो संख्यामा नागरिकहरू सडकमा उत्रिए। आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। नागरिक सरकार गठन भयो। यही सरकारले निर्वाचन गरायो। एक वर्षपछि सम्पन्न निर्वाचनमा जेनजी समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने दलले नै अत्यन्त लज्जास्पद ६ सिटमा मात्र सफलता प्राप्त गर्‍यो।

लामो समययता शेख हसिना बाजेद र बेगम खालीदा जियाका बीचको राजनीतिक द्वन्द्वले फेरि पनि पुरानै अवस्थाका शासकहरूलाई देशको शासनसत्ताको चाबी बुझायो। युवा शक्ति बंगलादेशमा नराम्ररी पराजित भयो। पालैपालो यी दुई प्रौढ महिलाहरूकै दलले बंगलादेशको शासन सत्ता सञ्चालन गरी आएका थिए। अहिले भने बेगम खालीदा जियाको दलले विजय हासिल गरी उनैका छोरा (जो कुनै बखतका बदनाम पात्र थिए) नै बंगलादेशको प्रधानमन्त्री हुने सौभाग्य पाएका छन्।

यस राजनीतिक परिघटनाले बङ्गलादेशमा गत वर्षको आन्दोलनमा भएको धनजनको क्षति बाजेदलाई देश छाडी आप्रवासमा रहनुपर्ने बाध्यताको उपादेयता कसरी प्रमाणित गर्ने होला? प्रश्न खडा भएको छ। कुनै समय भ्रष्टाचारलगायत थुप्रै अपराध कर्मको दोषारोपण गरिएका अभियुक्त बेगम  खालीदा जियाका सुपुत्रलाई सत्ता सुम्पने गन्तव्य बङ्गलादेशको जेनजी आन्दोलन राखेको थियो? एक थान प्रधानमन्त्री परिवर्तन गरेर युवाहरूले राखेका मागहरू सबै पूरा हुने अवस्था बनेकै हो त? विषय गम्भीर बनेको छ।

अस्ट्रियाका सेबस्टियन कुर्ज ३१ वर्षमै चान्सलर बन्न सफल भए। उनी विश्वमै कम उमेरका चान्सलर बन्न सफल हुन्। प्रारम्भमा उनी अत्यन्त ऊर्जावान् देखिए। सुधारमुखी कार्यक्रमहरू अघि बढाउँदै  थिए तर भ्रष्टाचारमा लिप्त बने। राजनीतिक रूपमा पुरानाहरू भन्दा पनि ज्यादा विवादित बने। सन् २०२१ मा राजीनामा गर्न बाध्य भए। २०१७ देखि २०२१ सम्म करिब चार वर्ष शासन सञ्चालन गर्दा धेरै प्रकारका विकृतिहरू देखिए। अस्थिर सरकारका सूत्रधार प्रमाणित भए कुर्ज।

थाइल्यान्डमा यिनलक सिनवात्रा ४४ वर्षको उमेरमा सन् २०११ मा प्रधानमन्त्री बनिन्। कृषि अनुदान सम्बन्धी नीतिबाट उनले व्यक्तिगत फाइदा लिएको आक्षेप लाग्यो। राष्ट्रलाई आर्थिक क्षति पुर्‍याएको अभियोगमा अदालतको निर्णय पश्चात् २०१४ मै उनले सैनिक कुमार्फत सम्हालेको शासनबाट बिदा लिइन्। खासै उपलब्धि केही दिन सकिनन्।

यहाँ, युक्रेनमा युवाहरू कसरी असफल भए भन्नेबारे छोटो चर्चा गर्नै पर्छ। किनकि, यो अहिले विश्व राजनीतिमा चर्चाको चरम उत्कर्षमा छ। सन् २००४ को अरेन्ज रिभोलुसनपछि सुधारवादी नेताहरू सत्तामा आए। तर उनले प्रतिबद्धता जनाएअनुसार भ्रष्टाचार नियन्त्रण गर्न सकेनन्। संस्थागत सुधारको अजेन्डा पनि अलपत्र पर्‍यो।  युक्रेनमा जेलेन्सकी राजनीतिज्ञ होइनन्, हास्य कलाकार हुन्। त्यहाँ भएको निराशाको कारण जेलेन्स्की शासन सत्तामा पुगे। उनले नेटोको सदस्यता युक्रेनलाई दिलाउने र डोनबोस्कलगायत रसियन भाषीहरू रहेका क्षेत्रमा रसियाको प्रभाव रहिरहेकोमा सोबाट मुक्ति दिलाउने नारा दिएका थिए।

उता रुसले भने युक्रेनलेनेटोको सदस्यता लिए आक्रमण गर्ने धम्की धेरै समय अघियता दिँदै आएको थियो। पश्चिमाहरूको उक्साहटमा जेलेन्सकी युद्धको लागि तयार भए। लामो समयदेखि युद्ध भइराखेको छ। यति खेरसम्म संयुक्त राज्य अमेरिकाले युक्रेनबाट प्राप्त गर्ने फाइदा जति दोहन गरिसकेको छ। अब अगाडि बढेर सहयोग नगर्ने निष्कर्षमा पुगेको छ। यस अवधिमा युक्रेनले अपार धनजनको क्षति बेहोर्नु परेको छ। करिब करिब एक तृतियांश भूभागमा रसियन सेनाको नियन्त्रण कायम छ। यतिखेर आएर उनी नेटोको सदस्यता युक्रेनले नलिने भन्दैछन्। यही उद्घोष पहिले देखि गरेको भए रसियन आक्रमणको सामना युक्रेनले गर्नुपर्ने थिएन।

यी युवा शासकको शासकीय रणनीति अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन केही देखिएन। युवा जोस जाँगर मात्र देखियो। यसले देशलाई ठूलो क्षति पुर्‍यायो। सार्वभौमसत्तामै ठूलो असहज अवस्था उनकै कारणले सिर्जना भएको छ।

ग्वाटेमालामा जिमी मोराल्स नामका अर्का नेता देखिए। जेलेन्सकी जस्तै यिनी पनि हास्य कलाकारका रूपमा मनोरञ्जन प्रदान गराइराखेकाले देशभर प्रिय बनेका थिए। भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा आफूलाई प्रस्तुत गरेका थिए। सन २०१६ मा राष्ट्रपति बने। जनताले परिवर्तन चाहेका थिए। त्यसैले पनि उनको लोकप्रियता अत्यन्त बढ्यो। भ्रष्टाचार नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घको महासभा र ग्वाटेमालाका बीचमा विशेष आयोग गठन गर्ने सम्झौता पनि भयो। अनुसन्धान गर्दा जिमीलाई नै कारबाही गर्नुपर्ने परिस्थिति निर्माण भयो। मोरालसले आयोगलाई देशैबाट हटाउने अलोकप्रिय निर्णय लिए। मोराल्सका भाइ र छोराहरूले अकुत सम्पत्ति आर्जन गरेको आक्षेप लाग्यो। कारबाही गर्नुपर्ने परिस्थिति बन्यो। राष्ट्रपतिबाट यिनले राजीनामा गर्नुपर्‍यो। पदच्युत भएपछि मोराल्स विदेश पलायन भए।

लाइबेरियामा जर्ज वेह गरिब परिवारमा जन्मिएका प्रख्यात फुटबल खेलाडी थिए। यस देशमा सन् १९८९ देखि २००३ सम्म गृहयुद्धको सामना गर्नुपरेको थियो। यसबाट नागरिकहरूमा असन्तुष्टि व्याप्त थियो। गैर राजनीतिक प्राणी फुटबल खेलाडी २०१८ मा राष्ट्रपति बने। यिनले भ्रष्टाचारको अन्त्य, गरिबी घटाउने र रोजगारीका अवसर वृद्धि गर्ने नारा दिएका थिए। २०२४ सम्म शासन गरे। मुद्रास्फीति अत्यन्त ज्यादा भयो। बेरोजगारीको अवस्था नाजुक बन्दै गयो। भ्रष्टाचारीहरू उत्साहित बन्न थाले। सन् २०२० मा यिनका विरुद्ध ठूलो प्रदर्शन भयो। २०२३ मा सम्पन्न निर्वाचनमा यिनी नराम्ररी पराजित भए।

तुलनात्मक रूपमा हेर्दा केही युवा शासकहरू सफल पनि देखिएका छन्। सन् २०१७ मा ४९ वर्षको उमेरमा  एमान्युएल म्याक्रो फ्रान्सको इतिहासमै सबैभन्दा कम उमेरका राष्ट्रपति बने। श्रम बजारलाई व्यवस्थित गर्दै सुधार गरे।  युरोपेली सङ्घको सुदृढीकरणमा ठूलो योगदान पुर्‍याए। उद्यम प्रवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनलाई सफल राष्ट्रपतिका रूपमा लिनुपर्दछ। फिनल्यान्डका ३४ वर्षीय समा मारिन सन २०१९ मा विश्वकै कान्छी प्रधानमन्त्री मध्य एक बनिन्।

कोभिड १९ को व्यवस्थापन र सामाजिक समानताको नीतिका प्रवर्तक समेत बनिन्। उनलाई त्यस देशमा सफल युवा शासकको रूपमा सम्मान गरिन्छ। न्युजल्यान्डका ३७ वर्षीय जेसिन्डा आरडर्न सन् २०१७ मा देशको शासक बने। कोभिड १९ नियन्त्रण गर्ने सन्दर्भमा यिनले पुर्‍याएको योगदानको लागि विश्व भरनै प्रसंशित बन्न पुगे। चिल्लीका ३६ वर्षीय ग्राबियल बुरिच ३६ वर्षमा कान्छो राष्ट्रपति बने। सामाजिक सुधार, संविधानमा संशोधन जस्ता विषयमा क्रियाशीलता दिएका कारण उनी त्यस देशका नागरिकहरूले स्वीकार गरेका युवा शासकको रूपमा अस्तित्वमा आउन सफल बने।

नेपाली सन्दर्भ
नेपालमा प्रजातन्त्रको पुनर्बहाली र लोकतन्त्र प्राप्ति भएपछि सत्तामा आएकाहरू अत्यन्त अलोकप्रिय बन्दै गए। उनीहरूकै क्रियाकलापका कारण यो अवस्था सिर्जना भएको हो। सबै प्रकारका विकृतिहरू देशमा आमन्त्रित गरे। तीन ठूला दलहरूले सिन्डिकेटका आधारमा शासन सत्ता सञ्चालन गर्दै आएका थिए। सबै प्रकारका अपराध कर्म हरूबाट शासकहरू र उनी हरूका कार्यकर्ताहरूलाई समेत सबै प्रकारका अभयदान प्रदान गर्ने व्यवस्था मिलाए। निश्चिन्त भएर भ्रष्टाचार लगायतका अपराध कर्महरू गर्दै गए। गत भाद्र महिनामा युवाहरूको आन्दोलनले सरकार ढाल्यो। देश मध्यावधि निर्वाचनको संघारमा छ। नेपालमा आधिकारिक जेनजीहरू को को हुन् ? उनीहरू संसदमा पुग्ने अवस्था छ वा छैन?  नयाँ पुस्ताको यो आन्दोलनले देशलाई कस्तो अवस्थामा पुर्‍याएको छ ? युवाहरूका मागहरू पूरा हुने अवस्था छ वा छैन?  यसबारे केन्द्रित हुनुपर्ने अवस्था छ।

गत भाद्र २३ र २४ को आन्दोलन नेतृत्वविहीन थियो। जेनजी युवाहरू भनेर आन्दोलन अघि बढाउनेहरू नेपालको राजनीतिमा खोज्नुपर्ने स्थिति छ। यो आन्दोलन बीचमै अन्य समूहले अतिक्रमण गरेको आक्षेप लागिराखेको  छ। यो समूहले यस निर्वाचनका लागि राजनीतिक दल खोलेर प्रतिस्पर्धामा आएको अवस्था छैन। जेनजीहरूको संगठित रूपमा प्रस्तुत भएर राजनीतिक दलमा आबद्ध नभएकै कारण यी उमेर समूहका युवाहरू पुरानै परीक्षण भइसकेका दलहरूमा क्रमशः आबद्धता देखाउँदै छन्। 

जेनजी युवाहरूले समर्थन गरेको दल कुन हो? त्यो पनि स्पष्ट छैन। अब आउने संसद् पनि अत्यन्त कमजोर देखिनेछ, जसले राजनीतिक अस्थिरता अझै वृद्धि गर्नेछ। किनकि  आरामदायी बहुमत प्राप्त गर्न सक्ने दल कुनै पनि बन्न सक्ने अवस्था नरहेको अनुमान गरिँदै छ। आन्दोलनकारीहरूले राखेका मागहरू पूरा हुने अवस्था देखिँदैन। संविधान संशोधन नगरी मागहरू पूरा हुँदैनन्। संविधान संशोधन गर्न सक्ने सामर्थ्य कुनै पनि दलहरूले प्राप्त गर्न सक्ने अवस्था छैन। युवाहरूले दबाब सिर्जना गरेर यस दिशामा अघि बढाउनुपर्ने स्थिति छ। तर त्यो स्तरका युवाहरू पनि संसदमा देखिने हुन् वा होइनन्?  सन्देह गरिँदै छ।

तर पनि यो आन्दोलनले केही उपलब्धिहरू प्राप्त गरेको छ। जसले गर्दा नेपालको राजनीति सुध्रिन करै लाग्ने वातावरण तयार हुँदै गएको छ। यसले आम नागरिकमा देखिएको राजनीतिक उदासीनतालाई कम गर्दै लगेको छ। अब नागरिकहरू दबाब सिर्जना गर्ने र राजनीतिलाई ठिक दिशामा अग्रसर गराउने स्थितिमा देखिएका छन्। देशमा व्याप्त कुशासन र बेथिति सुधारका लागि राजनीतिक दलहरू दबाबमा छन्। डिजिटल शक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिँदै गएकाले पारदर्शिताको लागि मार्ग प्रशस्त हुँदै जाने वातावरण तयार भएको छ। सत्तासँग सहजै प्रतिकारमा उभिन सक्ने सामर्थ्य नेपाली नागरिकहरूमा देखिने स्थिति बनेको छ।

जेनजी युवाहरूको आफ्नै राजनीतिक दल नभए पनि यो आन्दोलनले सबै राजनीतिक दलहरूलाई  यस निर्वाचनमा युवा शक्तिलाई अत्यधिक सहभागिता गराउने परिस्थिति निर्माण भयो। उदाहरणका लागि आसन्न निर्वाचनमा ३४२८ उम्मेदवारहरू रहेकोमा ५८३ जना १६ .७३ प्रतिशत ३५ वर्ष मुनिका रहेका छन्। आम मतदाता हरूले पुराना र  नयाँ अनुहारहरू मध्ये कसलाई मतदान गर्ने हुन् ? परीक्षणको विषय बनेको छ। मतदाताहरूमा  देशमा सुशासन कायम गर्न कुन दल सक्षम होला? त्यसको मूल्याङ्कन र लेखाजोखा गर्दै मतदान गर्ने चेतना देखिएको छ। आन्दोलनको समयमा देशमा सरकार विहीन अवस्था देखापर्यो। यसले गर्दा सार्वजनिक र व्यक्तिगत गरी ठूलो धनजनको क्षति भयो। यो अवस्था सृजना नहुने प्रत्याभूति कसरी गर्न सकिन्छ यसतर्फ राजनीतिक दलहरू गम्भीर हुनुपर्ने अवस्था बनेको छ।

निष्कर्ष
राजनीतिका मूल्य, मान्यताहरू, सिद्धान्तहरू, आदर्श र दर्शनहरू हुन्छन्। यसको अभावमा अघि बढेको राजनीति भिडतन्त्र मात्र साबित हुन्छ। राजनीतिमा अनुभव, सुदृढ संस्था, मजबुत वित्तीय आधार र राष्ट्रिय स्वार्थका विषयमा सबै दलहरू एकै ठाउँमा खडा हुने वातावरण हुनु जरुरी हुन्छ। राजनीति क्षणिक उत्साह, जोस जाँगर, लोकप्रियतावाद र वक्तव्यबाजीले मात्र चल्न सक्दैन।कुशल नीति निर्माण, भूराजनीति र अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित सम्बन्ध, सङ्कटग्रस्त अवस्थाको व्यवस्थापन जस्ता कुशलता राजनीतिज्ञहरूमा हुनु आवश्यक हुन्छ। राजनीति गर्ने हरूमा पनि यस क्षेत्रको विशेषज्ञता  आवश्यक पर्दछ।

भिन्न विधाबाट अपर्झट राजनीतिमा छलाङ मार्नेहरू प्राय: सबै असफल साबित भएका छन्   नेपालका युवाहरूमा स्वार्थको टकराब, अत्यधिक महत्त्वाकाङ्क्षा, शीघ्र नेतृत्वमा पुग्ने तीव्र प्रतिस्पर्धा, एकले अर्काको नेतृत्व स्वीकार गर्न असहज मान्ने प्रवृत्ति, विचार र दर्शनको कमी जस्ता गम्भीर कमजोरीहरू देखिएका छन्। विश्वभरको राजनीतिको अध्ययन गर्दा यो समूहका युवाहरूको नेतृत्वविहीन आन्दोलनले ल्याउने परिणति यस्तै हो। परिपक्व नागरिकहरूमा शुद्ध आचरण भएका अनुभवी नेतृत्वकै खोजी गर्ने गरेको आभास मिलिराखेको छ।

अपरिपक्व युवाहरूलाई पूर्ण रूपमा शासन सत्ता सुम्पिएर देशलाई दुर्घटनातर्फ उन्मुख गराउने र आफ्नो भविष्यमा प्रश्न चिन्ह खडा गराउने मनोविज्ञान मतदाताहरूमा देखिँदैन। त्यसैले अबको निर्वाचनबाट केही युवाहरू संसदमा पुग्ने छन्। उनीहरूले आफ्नो भविष्यको बारेमा इमानदारिता पूर्वक चिन्तन गर्नेछन्। दबाब सिर्जना गर्नेछन्। सडक र सदन दुवै तताउनेछन्। सरकार गलत दिशातर्फ अभिमुख भएमा पुनः आन्दोलनको आँधीबेहरी सृजना गर्नेछन्। सरकारमा रहनेहरूको राजनीतिक भविष्यमा प्रश्न चिन्ह खडा गर्नेछन्। यसबाट शासन सत्तामा क्रमशः सुधार हुँदै जानेछ। यस अर्थमा जेनजी आन्दोलनको  उपादेयता प्रमाणित हुन पुगेको छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)