‘अहिले नेपाली न्युजरुमहरू परिवर्तनको बाधक बनिरहेका छन्। परम्परागत न्युजरुमहरू वा पुरानो नेतृत्वका नयाँ न्युजरुमहरूमा परिवर्तनसँग एक किसिमको डर देखिएको छ। यो अत्यन्त गम्भीर पक्ष हो।’
अमेरिकामा पत्रकारिताको पढाइपछि त्यहीँ पत्रकारिता गरिरहेका अनुप काफ्ले ‘रेस्ट अफ वर्ल्ड’का प्रधानसम्पादक हुन्। अन्तर्राष्ट्रिय गैरनाफामूलक प्रकाशनको नेतृत्व सम्हाल्नुअघि उनी केही समय नेपालस्थित ‘द काठमान्डू पोस्ट’ का प्रधान सम्पादक थिए। त्यतिबेला उनले पोस्टको न्युजरुमका साथै कान्तिपुर मिडिया ग्रुपकै 'डिजिटल ट्रान्सफर्मेसन'को नेतृत्व गरेका थिए।
त्यसअघि अमेरिकी न्युजरुममा एक दशक बिताउँदा उनले ‘वाशिंटन पोस्ट’मा ६ वर्ष डिजिटल सम्पादकका रूपमा विदेश–मामिला डेस्कमा काम गरे। ‘बज्फिड न्युज’मा विदेश डेस्क उपसम्पादकको हैसियतमा अन्तर्राष्ट्रिय समाचार ‘कभर’ गरे। काठमान्डू पोस्टमा जोडिनुअघि उनले खानपिन र अन्तर्राष्ट्रिय मामिलामा रिपोर्टिङ गर्ने डिजिटल मिडिया ‘रोड्स एन्ड किङ्डमस्’को सम्पादकीय टिमको नेतृत्व गरेका थिए। कोलम्बिया विश्वविद्यालयको 'ग्र्याजुएट स्कूल अफ जर्नालिज्म'बाट स्नातकोत्तर गरेका काफ्लेसँग संकटग्रस्त नेपाली मिडिया उद्योगको सेरोफेरोमा उकालोका ऋचा थापा र किरण दहालले गरेको विस्तृत जुम अन्तर्वार्ताः
नेपालबाहिर बसे पनि तपाईं नेपाली मिडियाबारे अद्यावधिक हुनुहुन्छ होला। नेपाली मिडियाले भोगिरहेको ‘संकट’ कस्तो वा कुन तहको हो?
नेपाली मिडिया उद्योगमा अहिले एकसाथ अनेकौँ संकट देखिएका छन्। घट्दो राजस्व, ‘बिजनेस मोडल’मै प्रश्न, नवीनताको खडेरी, खस्किएको विश्वसनीयता आदि यसका चुनौती हुन्। मूलधारको मिडिया विचारभन्दा सामाजिक सञ्जालमा देखिने मिथ्या सूचनामा भर गर्ने प्रवृत्ति देखिँदैछ। डिजिटल प्लाट्फर्मले आफूलाई समाचार संस्था भनेर दाबी गरे पनि ती खासमा मिथ्या सूचना फैलाउने माध्यम बनेका छन्। यी सबै कारण नेपाली मिडिया एकदम संवेदनशील र खतरनाक परिवेशबाट गुज्रिरहेको ठान्छु। सकारात्मक कुरा चाँहि, सुझबुझपूर्ण रणनीति अपनाउँदा यी चुनौती पन्छाउन सकिन्छ। केही कठोर र पारदर्शी निर्णयहरू लिने हिम्मत जुटाउनपर्छ। त्यसका लागि पत्रकार र व्यवस्थापकमा सिर्जनात्मकताको खाँचो पर्छ। नयाँँ–नयाँ प्रयोग गर्ने इच्छाशक्ति हुनुपर्छ।
तर निराशै हुनुपर्ने के छ भने नेपाली मिडियालाई सुधार गर्ने तत्परता कसैले देखाएका छैनन्। दुई दशकदेखि विदेशमा बसे पनि म नेपाली सञ्चारमाध्यमको नियमित पाठक-दर्शक हुँ। हप्तामा नेपाली मिडियामा प्रकाशित कम्तीमा एक दर्जन सामग्री पढ्छु, हेर्छु। परम्परागत मिडिया होस् वा डिजिटल, त्यो तत्परता कुनै प्रकाशनमा मैले देखेको छैन।
कोभिड–१९ पछि हाम्रो मिडियामा संकट चुलियो भनिन्छ। मिडियाको अधोगतिको ‘टर्निङ पोइन्ट’ त्यही हो?
नेपाली मिडियामा एक तहको समस्या पहिलेदेखि नै थियो, पछिल्लो चार वर्षमा समस्या सतहमा देखिन थाले। महामारीको बेला समस्या थप जटिल बन्यो। मैले नेपालमा काम गर्दा पनि अहिले देखिएका संकट थिए। ती के–के हुन्, माथि भनिसकेँ। पछिल्लो एक दशकमा प्रकाशकका रूपमा नयाँँ–नयाँ अनुहार आए पनि खास केही नवीन भएन, अझ प्रयत्नै भएन भन्दा पनि फरक पर्दैन। के छाप्ने, कसरी छाप्ने, कसरी पाठक बढाउने–यसतर्फ दिमागको धेरै प्रयोग गरिएकै छैन। जबकि प्रकाशकहरूसँग अर्थोपार्जनका विविध आयामबारे सोच्न भने पर्याप्त समय थियो। नेपालमा मिडिया व्यवसाय अधिकांशको लागि कमाइ गर्ने भाँडो मात्रै भइदियो। मिडिया खोल्यो भने पैसा कमाइन्छ भन्ने धारणा स्थापित भयो। कमाउने विविध तरिका छन् पनि– जस्तै धम्की दिएरसमेत विज्ञापन ल्यायो, विज्ञापनदातासँग नाजायज लेनदेन गर्यो आदि।
समय रहँदै कुनै पनि प्रकाशकले आफ्नो लक्षित दर्शक-पाठक को हुन्, बिजनेस मोडल अरूको भन्दा कसरी फरक छ, दिगो कसरी बनाउने भन्नेमा दिमाग धेरै लगाएनन्। दिगो र भरपर्दो योजना बनाएनन्। धेरैजसो मिडियाले एकैखालका सामग्री पस्किरहेका छन्। एउटा प्रकरण सार्वजनिक हुन्छ, सबै जना त्यसकै पछिल्तिर दौडिरहेका हुन्छन्। समाचार पनि सबैका ‘सेम सेम’ हुन्छन्।
मलाई नेपाली पत्रकारितामा पछिल्लो समय सबैभन्दा मन परेको शब्द हो, 'प्रकरण'। सञ्चारगृहमा कल्पनाशीलता र ‘स्टोरी टेलिङ’को अभाव छ। सबैजसो प्रकाशन ‘हार्डन्युज’ मा केन्द्रित छन्। स्टोरी टेलिङका लागि श्रोतासँग प्रतिबद्ध हुनुपर्छ, कल्पनाशीलता चाहिन्छ र पाठकलाई कुनै विषय किन अर्थपूर्ण छ भनेर बुझाउने क्षमता चाहिन्छ। हाम्रोमा छापिने धेरैजसो स्टोरीहरूमा ‘के भयो’ भन्ने प्रश्नको जवाफ हुन्छ, 'किन त्यो महत्वपूर्ण छ' भन्नेबारे बुझाइएको हुन्न।
अहिले ‘सप्तरंगी’ सामग्री प्रकाशन गरिरहेका नेपाली डिजिटल मिडियालाई कसैकसैले अब ‘कस्टमाइज्ड’ हुनुपर्छ भनेका छन्। जुन ढाँचामा चलेका छन् त्यही ठीक छ कि बदलिनुपर्छ?
नाफामूलक प्रकाशनको कुरा गर्दा तिनको लक्षित पाठक/श्रोता/दर्शक (अडिअन्स) फरक–फरक हुन्छन्। उदाहरणका लागि न्युयोर्क टाइम्सले ‘ग्लोबल अडिअन्स’लाई टार्गेट गर्छ। त्यसका पाठक हल्काफुल्का जानकार, शिक्षित र सुसूचित हुन्छन् भन्ने मानिन्छ। तसर्थ उसले स्तरीय सामग्री पस्कन्छ। लेखाइ माझिएको हुन्छ, गज्जबको सम्पादन हुन्छ। सामग्रीमा विविधता हुन्छ।
‘वासिंटन पोस्ट’को प्राथमिक पाठक वासिंटनका नीतिनिर्माता र नीतिनियममा रुचि राख्ने जमात हुन्। कुनै–कुनै स्टोरीमा पोस्ट र टाइम्सको प्रतिस्पर्धा होला, तर उनीहरूले पस्किने सामग्री नितान्त भिन्न छन्। पाठक, रणनीति र न्युजरुमको बनोट नै फरक छ। अर्कोतिर ‘लस एन्जेलस टाइम्स’ जस्ता पत्रिकाले आफ्नो शहरकेन्द्रित समाचारलाई प्राथमिकता दिन्छन्।
अनलाइन पोर्टल हेरौँ– ‘पोलिटीको’ वासिंटन पोस्टजस्तै नीतिकेन्द्रित छ। ‘बज्फिड’ युवा-किशोर वर्गलाई मध्यनजर गरी अमेरिका र विश्व परिवेशबारे सुसूचित गराउने उद्देश्यले शुरू भएको थियो जसका कारण उसले प्रयोग गर्ने भाषा नै फरक छ। बज्फिड र न्युयोर्क टाइम्सको हेडलाइनमा आकाश–जमिनको फरक हुन्थ्यो। सफल मानिएका यस्ता प्रकाशनले फरक पहिचान बनाएका छन्, उनीहरू आफ्नो लक्षित अडिअन्सबारे स्पष्ट छन्। फरक प्रकाशनको उदाहरणका लागि ‘प्रोपब्लिका’लाई हेरौँ– त्यसले अनुसन्धानात्मक सामग्रीलाई प्राथमिकता दिन्छ। ‘मार्सल प्रोजेक्ट’ले केबल फौजदारी न्याय प्रणाली र फौजदारी न्याय व्यवस्थामा सुधारको कुरा गर्छ। ‘रेस्ट अफ वर्ल्ड’ले प्रविधिको आँखाबाट सामग्री पस्किन्छ। यसमा न मध्यपूर्व संकटको कुरा हुन्छ न त ट्रम्पको राजनीति नै।
प्रकाशन शुरू गर्दा नै लक्ष्य, भावी बाटो र त्यो बाटोमा कसरी सफलतापूर्वक यात्रा गर्ने भन्नेबारे पर्याप्त छलफल हुनुपर्छ। प्रायजसो नेपाली प्रकाशन सनकका भरमा खोलिएका छन्, दूरदृष्टिको सर्वथा अभाव छ। ठूला–ठूला वाचा गर्छन्, व्यवहारमा केही गर्दैनन्। चल्तीका शीर्ष पत्रिका-अनलाइन हेर्दा उस्ताउस्तै देखिन्छन्। नाम, बाइलाइन र लगानीकर्ता फरक होलान्। तर मोडेल एउटै छ, सामग्री प्रस्तुति गर्ने तरिका उस्तै छ।
कसैले पनि हाम्रो मुद्दा यो, बाटो र उद्देश्य यो हो र यस प्रयोजनका निम्ति हाम्रो पत्रिका वा अनलाइन पढ्नुस् भन्ने भेद बुझाउन सकेको देखिन्न। यहाँँसम्म कि सबैको शैली उस्तै छ– बडेमानको हेडलाइन, जम्बो फोटो, त्यसपछि ‘टेक्स्ट’। ‘ब्रान्डिङ’ छोपेर हेर्ने हो भने सबै पोर्टल एउटैजस्ता देखिन्छन्। यहाँ अमेरिकातिर त्यस्तो देखिँदैन। किनभने यहाँका अधिकांश मिडियाले आफ्ना पाठकसम्म पुग्ने बाटो तय गरेका छन्।
नेपालमा ‘सब्स्क्रिप्सन मोडल’को कुरा गरौँ। यहाँ धेरै मान्छे पैसा तिरेर सामग्री पढ्न तयार देखिँदैनन्। यो मिडियामाथिको अविश्वास हो कि पाठकमै समस्या हो?
यो एकभन्दा धेरै समस्याको सम्मिश्रण हो। प्रकाशकहरू आफैँबारे स्पष्ट हुनुपर्छ, नत्र सदस्यता मोडलमा सफल हुन गाह्रो हुन्छ। भर्खरै ‘सेतोपाटी’ सब्स्क्रिप्सन मोडलमा गयो, जुन साहसिलो र अत्यावश्यक कदम हो। कसैले आँट्न नसकेको कदम उसले चाल्यो। तर प्रकाशकले के बुझ्न जरुरी छ भने तिनले छाप्ने सामग्री अरूले सित्तैमा दिइरहेका छन् भने पाठकले तिनकै सामग्री किन किनेर पढ्ने? तसर्थ, ‘प्रिमियम कन्टेन्ट’ (विशिष्ट सामग्री) लाई परिभाषित गर्न जरुरी छ। समय र पैसा खर्चिन लायक हुनुपर्छ त्यस्ता सामग्री। यसमा हल्का जोखिम पनि हुन्छ। तर नवीन परीक्षण यस्तै त हो।
स्तरीय सामग्री समेट्न सके अखबारको ग्राहक बन्ने पाठकले अनलाइनलाई पैसा नतिर्ने भन्ने हुँदैन। सबैले सबै ‘आउटलेट’ सब्स्क्राइब गर्छन् भन्ने पनि हुँदैन। मैले तीन वटा सब्स्क्राइब गरेको छु। सबैलाई शुल्क तिरेर पढ्न म पनि सक्दिनँ। मैले के सब्स्क्राइब गर्छु भन्ने कुरा मेरो पढ्ने बानी र संस्थाले स्थापित गरेको विश्वासले निर्धारण हुन्छ। नेपालमा पाठक छन्, पैसा तिर्न तयार पनि छन्। विश्वासको सम्बन्ध स्थापित नगर्दासम्म सदस्यता–मोडल सफल हुन्छ भन्ने मलाई लाग्दैन।
हिजोआज ‘रुटिन अफ नेपाल बन्द’को चर्चा धेरै देख्छु। कतिपय मिडिया र पत्रकारले त्यसलाई वैधानिक पत्रकारिता गर्ने संस्थासँग तुलना गरेको र प्रतिस्पर्धा गरेको देख्दा आश्चर्यचकित हुन्छु। रुटिन अफ नेपाल बन्द समाचार प्रकाशन गर्ने संस्था होइन। त्यो त नेपाली मिडिया पाठकसम्म पुग्न नसकेको खाडल भरिरहेको एउटा मञ्चमात्रै हो। नेपालमा ‘हामी त फलानो प्रकाशन हौँ, यति बर्षदेखि सञ्चालनमा छौँ, पाठक हामीकहाँँ आइहाल्छन्, पढिहाल्छन्’ भन्ने ठूलो अहम् छ। त्यस्तो हुँदैन। संसार त बदलिइरहेको छ। अब फेसबुकमा सामग्री पोस्ट गरेर मात्र पुग्दैन, प्लाट्फर्मपिच्छे पाठकलाई फरक–फरक सामग्री दिनुपर्छ। प्रकाशकले टिकटक संस्करण कस्तो बनाउने र इन्स्टाग्राममा कसरी प्रस्तुत हुने भनेरसमेत सोच्नुपर्छ। जस्तो, वासिंटन पोस्टको इन्स्टाग्राम हेरिरहुँजस्तो छ। नेपाली प्रकाशकसँग समय छ। अलिकति परीक्षण गरे हुन्थ्यो, जोखिम उठाएको भए हुन्थ्यो। एउटै सामग्री सबै प्लाट्फर्ममा 'कपी पेस्ट' गरेर त पुग्दैन।
तपाईंले नेपालमा डेढ वर्ष काम गर्दा मिडियाको आर्थिक आधार कत्तिको बलियो वा कमजोर भएको पाउनुभयो?
मिडिया कर्पोरेट विज्ञापनमाथि पूरै निर्भर छन्। यस्तो हुनु चिन्ताजनक कुरा हो। यो हास्यास्पद र उत्तिकै खतरनाक पनि छ। हामी नेपाली मिडिया उपभोग गर्नेले देखेकै हो, मुठ्ठीभर व्यवसाय– ब्रुअरी, डिस्टिलरी, टेलिकम, अटोमोबाइल आदि कम्पनीको विज्ञापनमा आश्रित थिए र छन्। मिडियाको मार्केटिङमै ठूलो दोष देखेँ मैले। ती विज्ञापन छनोटमा अल्छी छन् र शंकास्पद बाटो रोज्ने गर्छन्। रचनात्मक बिल्कुलै छैनन्। ‘यो सानो विज्ञापन हाल्दिनु, अलिकति मिलाएर राख्दिनु’जस्ता प्रस्ताव ल्याउँछन्। मिडिया हाउसमा त्यस्तो गर्नै मिल्दैन नि।
अमेरिकामा मैले काम गरेको अवधिभर अधिकांश समाचार संस्थाले आर्थिक उपार्जन गर्ने परम्परागत मोडलभन्दा फरक ढंगले सोच्नुपर्ने आवश्यकता महसुस गरेका छन्। कमाइका अन्य स्रोत खोजिरहेका छन्। नेपालमा ‘कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध छ, ठीकठाक छ, चलिरहेकै छौँ’ भन्ने मनोवृत्ति देखिन्छ। तिनले सोच्नुपर्छ– बियर कम्पनी, सिमेन्ट कम्पनी र अटो कम्पनीसँग राम्रो सम्बन्ध हुँदैमा मिडिया व्यवसाय दिगो हुँदैन। मिडिया व्यवसाय सञ्चालन गर्न सजिलो छैन। 'ज्याकेट विज्ञापन' (पानाभरिको या होमपेज नै छोपेर गरिने विज्ञापन) कमाइको ठूलो स्रोत हो जसबारे प्रकाशकहरू अति उत्साहित भएको पाएँ।
ज्याकेट विज्ञापन मिडियाको लागि मलमपट्टी त हुन सक्छन्, तर मिडिया व्यवसाय बचाउने जीवनदायी औषधि हुन सक्दैनन्। ‘लेनदेन’को माध्यम भएका यस्ता कर्पोरेट विज्ञापनभन्दा माथि उठेर नयाँ उपायबारे नेपाली मिडिया सञ्चालकहरूले सोच्न सकेका छैनन्।
पछिल्लो समय मिडियामा सदस्यता मोडल वा ‘क्राउड फन्डिङ’ का कुरा पनि आएका छन्। व्यवसायिक मोडलका अरू विकल्प के–के हुन सक्छन्?
पहिले पैसा नतिरी पत्रपत्रिका पढ्ने कुरै थिएन। अहिले सित्तैमा पाइन्छ। क्राउड फन्डिङ वा सदस्यता मोडल भनेको ‘हामीले गरेको काममा मेहनत परेको छ। यो खर्चिलो काम हो। यसलाई अनलाइन पढे पनि, छापामा पढेपनि, मोबाइलमा हेरे पनि, रेडियोमा सुने पनि शुल्क दिनुपर्छ’ भनेर निःशुल्कलाई परिमार्जन गर्ने प्रयत्न हो। यो प्रयत्न सफल हुन गृहकार्य हुनुपर्छ, स्वमूल्यांकन हुनुपर्छ र त्यो सबै प्रकाशकले गर्नुपर्छ।
यदि तपाईंले उद्देश्य, लक्ष्य, लक्षित अडिअन्स, सफलताको मापन आदिको मुल्यांकन गर्न सक्नुभयो र पनि सोचेअनुसार परिणाम मिलिरहेको छैन भने ‘पाथ टु प्रोफिटेबिलिटी’ (नाफा बनाउने बाटो) र पाठक बढाउने योजनाबारे थप गृहकार्य गर्नुपर्छ। इमानदार र पारदर्शी त हुनै पर्छ। प्रकाशक आफैँ इमानदार र पारदर्शी भए पाठकसमक्ष के प्रस्तुत गर्ने भनेर निष्कर्षमा पुग्न सकिन्छ।
नेपालमा विज्ञापनदाता र प्रकाशकको सम्बन्ध धेरै पारदर्शी छैन जसले गर्दा पनि समस्या जटिल भइरहेको छ। एउटा तरिका सदस्यता मोडल हो, तर पाठकले तिर्ने शुल्क न्यायोचित हुने गरी पत्रकारिता गर्नुपर्यो। अर्को तरिका बेला–बेला संस्थाको ‘भ्याल्यु’ बढाउने कार्यक्रम आयोजना गर्नु हो। यस्ता कार्यक्रम विशेषगरी गैरनाफामूलक प्रकाशनका निम्ति आयको बलियो स्रोत हुन सक्छन्। उदाहरणका लागि ‘टेक्सस ट्रिब्युन’ गैरनाफामुखी मोडलमा आधारित भए पनि उसले विभिन्न कार्यक्रम आयोजना गरी आम्दानी गर्छ।
यसका साथै समाचार संस्थाहरूले आफू कसरी फसिलिटेटर अफ डाइलग (संवादको सहजकर्ता), प्रभाइडर अफ एक्सेस (पाठकका लागि पहुँच प्रदायक) र क्युरेटर अफ एक्स्पिरिअन्स (विभिन्न अनुभवको क्युरेटर) बन्न सकिन्छ भनेर बुझ्न जरुरी छ। यसको राम्रो उदाहरण हो न्यूयोर्क टाइम्स, जसले प्रभावकारी ‘बन्डलिङ’ गर्यो। ठूला प्रकाशकले ‘मल्टाई–बन्डलिङ’ मोडलको अभ्यास गर्ने आँट गर्नुपर्छ, ग्राहक आकर्षित गर्न राम्रो प्याकेजिङ गर्न सक्नुपर्छ। सर्वसाधारणसँग संवाद गरेर सामग्रीमा पहुँच दिने हो भने उनीहरू त्यसको लागि खर्च गर्न तयार हुन्छन्। यो पश्चिमा देशहरूमा ‘ट्राइड एन्ड टेस्टेड’ मोडल हो।
एउटा संस्थाले कार्यक्रम गर्यो भन्दैमा सबैले उस्तै कार्यक्रम गर्ने र उही प्रायोजकको पछि लाग्ने हो भने त्यस्तो मोडल पनि दिगो हुँदैन। दुर्भाग्यवश नेपालमा त्यही भइरहेको छ। अन्ततः दिगो आयका लागि पाठकसँग केही शुल्क लिनै पर्छ र त्यसको लागि ग्राहकले जे खोजेका छन् त्यो दिन सक्नुपर्छ, न कि विज्ञापनदाता वा प्रायोजकले खोजेका कुरा। मैले बारम्बार भनिरहेको छु, सबैले आफ्नो ‘पहिचान’ छुट्याउन जरुरी छ। प्रिमियम कन्टेन्ट (विशिष्ट सामग्री) नामको लागि मात्र नभएर साँच्चै विशेष हुन आवश्यक छ।
मिडिया सञ्चालकले विगतमा सहज हुँदा कमाएको नाफा संकट पर्दा खर्च गर्नुपर्छ भन्ने एकथरीको तर्क हुन्छ। तर कतिपय मिडियाका लगानीकर्ता पुनःलगानी को नामै सुन्न चाहँदैनन्। यस विषयलाई तपाईं कसरी हेर्नुहुन्छ?
सञ्चारगृहका सञ्चालकले यदाकदा गाह्रोसाह्रो परेको बेला जग्गा बेचेर तलब खुवाएको भन्नेसम्मका कुरा सुनिएको हो। सत्यतथ्य के हो मलाई थाहा छैन। रिइन्भेस्टमेन्ट (पुनःलगानी) को कुरामा रणनीतिक दृष्टिकोणबाट हेर्ने हो भने संस्थाको विकासका लागि प्रकाशकले कमाएको नाफालाई पुनः लगानी गर्नु उचित देखिन्छ। संस्थाको समृद्धिसँग सबैको समृद्धि गाँसिएको हुन्छ। प्रकाशकलाई नाफा त त्यही संस्थाले कमाइदिएको न हो।
पुनः लगानीले एउटा स्वस्थ प्रकाशन कायम राख्छ। तर यी सबै अघिकै ‘पोइन्ट’मा आएर जोडिन्छ–रणनीति। मैले नेपाली पत्रकारिता जगतमा रणनीति भन्ने शब्द सुनेको छैन। व्यवस्थापनदेखि रिपोर्टरसम्म सबैको ध्याउन्न राजनीतिमा के भइरहेको छ र आज के लेख्ने भन्नेमा हुन्छ। नेपालको पत्रकारिता संकटमा पर्नुको कारण कसैले व्यावसायिक रणनीतिबारे नसोच्नु पनि हो। यसका लागि जोखिम सामना गर्ने आँट हुनुपर्छ। जोखिम मोलेर परीक्षण गरिसकेपछि न हो कुनै कदमले काम गरिरहेको छ वा छैन भनेर थाहा हुने।
न्युयोर्क टाइम्सकै उदाहरण दिन्छु। केही वर्षयता न्यूयोर्क टाइम्सको रणनीतिको एउटा महत्वपूर्ण पाटो हो– ‘सपिङ स्प्री’। तिनले आफ्ना ग्राहकका लागि मल्टाई–बन्डलिङका विकल्प विस्तार गर्ने उद्देश्यले मिडियासँग जोडिएका परियोजनाहरू खरिद गर्दै आएका छन्। ‘गेम सुइट’– अनलाइन खेल बनाउँदै छन्, वर्डलबारे धेरैलाई थाहा होला।
त्यस्तै, उसले ‘सर्भिस प्रडक्ट’मा पनि हात हालेको छ। उदाहरणका लागि वायरकटरले प्रडक्ट (उत्पादन) हरूको समीक्षा गर्छ। ‘कुकिङ एप’मा लगानी छ जुन अतिरिक्त आम्दानीको स्रोत भएको छ। एप चलाउन प्रतिमहिना पाँच डलर तोकिएको छ जसको प्रयोग धेरैले गरिरहेका छन्। ‘द एथलेटिक’ भन्ने खेलकुद कभरेज प्लाट्फर्म पनि किनेको छ उसले।
यो सुनाउनुको कारण न्यूयोर्क टाइम्सले आफ्नो मुनाफा पुनःलगानी गरिरहेको छ भन्ने तथ्य देखाउनु हो। यो प्रक्रियामा प्रकाशनले केही घाटा पनि बेहोरेको छ। गत वर्ष उसले प्रिन्टको ७० हजार ग्राहक गुमायो। तर पछिल्ला तीन महिनामा दुई लाख १० हजार डिजिटल ग्राहक थपिएका छन् र नाफा बढिरहेको छ। ‘डिजिटल अफर’मा पाठकले धेरै विकल्प पाइरहेका छन्। अहिले न्युयोर्क टाइम्सको सबै ‘प्याकेज’को सदस्यता लिन वा आफूले चाहेको प्रडक्ट छानेर सदस्य बन्न सकिन्छ।
ग्राहक वृद्धिका कारण व्यापार वृद्धि हुनेमा विश्वस्त नभए मिडिया सञ्चालकहरू पुनः लगानी गर्न हिच्किचाउँछन्। घाटा पर्छ भन्ने थाहा छ र व्यवसाय बढाउने रणनीतिक सोच पनि छैन भने स्वाभाविकरूपमै तिनमा कसैले पुनः लगानी गर्दैनन्। नेपालमा (विशेषगरी काठमाडौँमा) भइरहेको त्यही नै होला। स्थिति निराशाजनक देखिएको छ, चल्तीका अभ्यास र परीक्षणको धेरै प्रयोग भइसकेको छ।
मिडिया अन्ततः व्यापार हो। यसको लक्ष्य फरक होला, सार्वजनिक सेवाको प्रतिबद्धता होला। जनतालाई सुसूचित गर्ने र सत्तालाई जवाफदेही राख्ने उद्देश्य पनि होला। तर नाफा कमाइयो भने मात्र यी सबैको कार्यान्वयन प्रभावकारीरूपमा गर्न सकिन्छ। कमाइ भयो भने न लक्षित कार्यको लागि खर्च गर्न सकिने हो। अहिलेको परिवेशमा मिडिया व्यवस्थापनले असफल व्यवसायको आलोचना बेहोर्नुपर्छ। तर उनीहरूले पत्रकार र पाठक पनि समावेश भएको ‘मिडिया–इकोनोमिक्स’ले कसरी काम गर्छ भन्नेबारे सोचेकै छैनन्।
प्रकाशनहरूले कसरी पैसा कमाउँछन् भनेर कुनै बेला पत्रकारहरूले सोच्नुपर्दैनथ्यो, तर समय फेरिएको छ। तपाईं कुनै वस्तुका लागि पैसा तिर्न चाहनुहुन्न, निःशुल्क उपभोग गर्न चाहनुहुन्छ भने तपाईंले कसरी राम्रो चिज/सेवा पाउनुहुन्छ? यसको मतलब, एउटा स्वस्थ मिडिया व्यवसायको केही जिम्मेवारी त पाठकमा पनि निहित छ। किनभने उनीहरूले नै प्रकाशनहरूलाई जवाफदेही बनाउन सक्छन्।
‘प्रिन्ट मिडिया’ ले भोगिरहेको संकट र डिजिटल मिडियाले सामना गरेका चुनौतीमा के फरक छ?
यी दुईबीच धेरै फरक छैन, नेपालको होस् वा बाहिर। विशेषगरी अमेरिकामा त प्रिन्ट र डिजिटल फरक हुन् भन्ने अवधारणा नै हटिसक्यो। व्यावसायिक पक्षबाट हेर्दा केही भिन्नता होलान्। जस्तो कि प्रिन्टका कति ग्राहक बढे या घटे, प्रिन्टको आय कति, डिजिटलको कति भन्ने हिसाब होलान्। आखिर हरेक प्रकाशन एक मिडिया कम्पनी न हो।
नेपालको सन्दर्भमा ‘लेगेसी प्रिन्ट मिडिया’ होस् वा ‘डिजिटल नेटिभ मिडिया’– सबै एकै पाठकका लागि एउटै खाले ‘प्रडक्ट’ देखाएर प्रतिस्पर्धा गरिरहेका छन् र त्यो प्रडक्ट मूलतः ‘हार्ड न्युज’ हुने गरेको छ वा विश्लेषण भनेर प्रकाशित गरिएको कुनै विचार। प्रिन्ट र डिजिटल दुवै थरी नेपाली प्रकाशनहरूको सबैभन्दा ठूलो चुनौती पाठकको विश्वास कमाउनु वा उनीहरूको ‘लोयल्टी’ पाउनु नै हो।
अमेरिकामा अधिकांश प्रकाशनले ‘रिटर्निङ भिजिटर्स’ (फिर्ता आउने पाठक)को हिस्सा कसरी बढाउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राख्छन्। व्यापारिक र विज्ञापनको दृष्टिकोणबाट पनि रिटर्निङ भिजिटर्स लोयल्टीको मापन हो। तपाईंको वेबसाइटमा उही पाठक फिर्ता आउँदैछन् भने तपाईंप्रतिको विश्वास बढेको रहेछ भनेर बुझ्न सकिन्छ। कसैले सशुल्क–सदस्यता मोडलमा काम गरिरहेको छ भने ‘रिटर्निङ भिजिटर’ मापन गर्नुपर्छ। फर्केर आउने पाठकको दर बढ्नु प्रकाशकका लागि एकदमै लाभदायक हो।
अर्को चुनौती अडिअन्स स्ट्राटेजी (पाठक रणनीति) पनि हो। म काठमाडौँमा रहँदा र विभिन्न सरोकारवालासँग अन्तरक्रिया गर्दा पाठक–सर्वेक्षण वा मापनले के संकेत गर्छ भन्नेबारे खासै कुराकानी भएनन्। धेरैजसो वार्ता ‘अब के गर्ने’ भन्नेमा केन्द्रित हुन्थे। अडिअन्स–स्ट्राटेजीलाई गम्भीरतापूर्वक लिने गरेको देखिएन। नेपाली न्युजरुमहरूले अभ्यास गरेको पत्रकारिता ‘अडिअन्स–इंगेज्मेन्ट’ सम्बन्धी तथ्यांकबाट प्रभावित नभएको वा त्यसबारे जानकार नभएको लाग्यो।
हामीले ‘कान्तिपुर मिडिया’मा भने त्यस्तो प्रयास गरेका थियौँ जसमा वेबसाइटको मात्र नभई विभिन्न माध्यममा हुने इंगेज्मेन्टबारे जानकारी लिन्थ्यौँ। फेरि यो त्यति महँगो काम पनि होइन। तोकिएको व्यक्तिले पाठकको रुचि के छ, उनीहरू कस्ता सामग्रीसँग इंगेज हुन चाहन्छन् भन्ने बुझेर सम्पादक- व्यवस्थापनलाई विश्लेषण दिने र त्यहीअनुसार योजना बनाउने कुरा न हो।
हामीले यस कुराकानीका लागि मिडियासम्बद्ध केही तथ्यांक पनि हेरेका थियौँ। एउटा सर्वेक्षणका सहभागी १५ प्रतिशतले मात्र पत्रिका पढ्ने बताएको पाइयो र तीमध्ये पनि औसतमा पाठकले एउटा पत्रिका पढ्न १५ मिनेट मात्र दिएको देखियो। यसले पत्रिका पाठकको बदलिँदो व्यवहारबारे केही भन्छ?
तपाईंहरू नेपालको पत्रिकाको कुरा गर्दै हुनुहुन्छ भने १५ मिनेट त काफी नै होला। पूरै पत्रिका पढ्दा पनि औसतमा १५ मिनेट राम्रो समय हो। तर त्यही १५ मिनेट पाठकले अनलाइन मिडियमलाई दिए भने त्यसको अर्थ अर्को हुन्छ। समस्या हामी धेरै प्रिन्ट–केन्द्रित हुनुमा पनि छ। हाम्रो मिडिया उद्योगले अझै इन्टरनेट पहिलो भन्ने अवधारणालाई ठाउँ दिइरहेको छैन।
अब काठमाडौँमा पत्रकारको अध्ययन, विषवस्तु परख्न सक्ने क्षमता र पत्रकारिताप्रतिको लगावबारे कुरा गराैँ। यहाँँ ‘इन्साइडर’ भएर काम गर्दा र बाहिरबाट ‘अब्जर्भ’ गर्दा कस्तो भिन्नता पाउनुभयो?
काठमाडौँका नेपाली न्युजरुमहरूमा केही अत्यन्तै प्रतिभाशाली र कामप्रति अधिक लगाव भएका पत्रकार छन्। ‘द काठमान्डू पोस्ट’मा छँदा हामीले सिर्जना गरेको ऊर्जा र मित्रतालाई ‘मिस्’ गरिरहेको हुन्छु। त्यहाँ असीमित क्षमताका धेरै युवा पत्रकार थिए। आफ्नो काममा गौरव गर्थे, पत्रकारिताको मिसनमा विश्वास गर्थे। तर कसरी यो सबै गर्ने भन्नेमा उनीहरू स्पष्ट थिएनन्। किनभने नेपाली न्युजरुममा पत्रकारलाई तालिम दिने वा ‘मेन्टरिङ्’ गर्ने संस्कृति र संयन्त्र नै छैन। म ती युवा पत्रकारहरूको प्रशंसा गर्छु जसमा यावत् बाधा र सहयोगी प्रणालीको अभावका बाबजुद र सीमित स्रोत–साधनबीच पनि पहलकदमी लिने ऊर्जा थियो।
दोस्रो, कति सम्पादकहरू यस्ता छन् जो सम्पादन नै गर्दैनन् वा तिनलाई कसरी सम्पादन गर्ने भन्ने ज्ञान नै छैन। निसन्देह, नेपालमा बलियो समाचार स्रोतहरू भएका कुशल रिपोर्टर र सम्पादक छन्। रिपोर्टरलाई आफ्ना समाचार/विश्लेषण लेख्न मद्दत गर्ने परिपाटी र तदनुरूप क्षमता भएका नेतृत्वको अभाव छ। सम्पादकहरूले सम्पादकीय र विचार लेख्नेमा सीमित भई स्टोरीको आशय, विकासक्रम र संरचनामा काम नगरेपछि प्रकाशन गृहहरू त्यसै पनि असफल हुन्छन्। सम्पादकको काम त रिपोर्टर र रिपोर्टिङलाई बलियो बनाउने हो। मैले भेटेका र अन्तरक्रिया गरेका कमै मात्र सम्पादकमा मैले त्यस्तो क्षमता र इच्छा देखेँ।
अर्को कुरा, न्युजरुमको नेतृत्वमा भएकाहरूले पत्रकारिता जगत वरिपरि भइरहेको परिवर्तनबारे धेरै सोचेकै छैनन्। यो ‘ब्ल्यांकेट स्टेट्मेन्ट’ होइन, मैले अधिकांशमा देखेको प्रवृत्तिको कुरा गरेको हुँ। नेतृत्वमा रहेकाहरूले सञ्चार क्षेत्र कसरी विकसित हुँदैछ र प्रतिस्पर्धीले के गरिरहेका छन् भनेर हेर्नुपर्छ।
अधिकांश सम्पादकले नयाँ पाठक आकर्षित गर्न आफूले पस्किने सामग्री थप विस्तार गर्नेबारे सोचिरहेका छैनन्। यो वर्ष के नयाँ काम गर्न सकिन्छ? ग्राहक दोब्बर कसरी बनाउने भन्नेलगायत रणनीतिबारे आवश्यक छलफलको अभाव छ। उनीहरू दैनिक ‘ड्युटी’मै व्यस्त हुन्छन्। म त सम्पादकले सम्पादकीय लेख्ने चलनै बुझ्दिनँ। यतातिर सम्पादक न्युजरुमको लिडर हो भन्ने मान्यता हुन्छ। उसले सम्पादनदेखि, रिपोर्टरको वृत्ति विकास, लेख/रचनाको योजना र प्रगतिसम्म सबै हेर्नुपर्ने हुन्छ। सम्पादकले लेख्नमै धेरै समय खर्चिन्छ भने अरू महत्वपूर्ण काममा ध्यान पुग्दैन र त्यसले समग्र न्युजरुमलाई असर गर्छ। यदि कसैले यो सबै गर्न भ्याउँछ भने त तारिफयोग्य हो, तर त्यस्तो बिरलै हुन्छ।
साथै, योजनाअनुसार लक्ष्यहरू पूरा भइरहेका छन् कि छैनन् भनेर व्यवस्थापनले न्युजरुम नेतृत्व र मार्केटिङबाट जवाफदेहिता खोज्नुपर्छ। सोचेअनुसार ती सबै भइरहेको छ भने ठीकै छ, होइन भने परिणाम के हुन्छ त? अनौठो त के छ भने व्यवसाय नफस्टाएको वा पाठक नबढेको अवस्थामा समेत सम्पादकहरू आफ्नो जागिर वर्षौं वा दशकसम्म सुरक्षित राखिरहेका हुन्छन्।
डेलिभर गर्ने जिम्मेवारी लिएकाहरू असफल भएपछि परिणामको सामना गर्नुपर्दैन? त्यस्तो परिणामको सामना नगर्दाको नतिजा के हुन्छ भनेर तपाईंहामीले अहिले देखिरहेकै छौँ। यहाँ (अमेरिकामा) त डेलिभर गर्न नसक्दा बाहिरिनुपर्छ। आखिरमा यो एक निर्दयी व्यापार हो। यसको मतलब क्रूर वा अमानवीय हुनुपर्छ भन्ने होइन, यहाँ मेहनतलाई प्रोत्साहन पनि गरिन्छ। नेपालका न्युजरुम त्यस्तो देखिँदैन।
अहिले नेपाली न्युजरुमहरू परिवर्तनको बाधक बनिरहेका छन्। यो अत्यन्त गम्भीर पक्ष हो। परम्परागत न्युजरुमहरू वा पुरानो नेतृत्वका नयाँ न्युजरुमहरूमा परिवर्तनसँग एक किसिमको डर देखिएको छ, किनकि परिवर्तन गर्दा पुनर्संरचना गर्नुपर्छ। तर केही नयाँं प्राप्तिका लागि परीक्षण त गर्न सक्नुपर्छ, असहजताको अनुभव हुनुपर्छ। सायद हाम्रो समाज नै त्यस्तो छ– कसैको भलाइको लागि पनि असहज कुरा गर्न र असहज लाग्ने प्रतिक्रिया दिन हिच्किचाहट देखिन्छ। तर पत्रकारितामा सहजतामात्र खोजेर हुँदैन। किनकि यो पेसा भनेकै ‘स्पिकिङ ट्रुथ टु पावर’ का लागि हो।
नेपालका मिडिया (वा सञ्चारकर्मी) ले कति व्यापार गरेका छन्, कति पत्रकारिता गरेका छन्?
कसले कति पत्रकारिता गर्छन्, कति व्यापार भनेर तौलिएर ठ्याक्कै भन्न गाह्रो छ। यति चाहिँ ढुक्कले भन्छु– मसँग काम गरेका रिपोर्टर र सम्पादकहरू मैले भेटेका सबैभन्दा प्रेरित र समर्पित पत्रकारमध्येका हुन्। ठूलो संख्याका समग्र नेपाली पत्रकारको चुनौती तिनलाई अगाडि बढ्न र वृत्ति विकास गर्न मद्दत हुने गरी ‘माथिबाट’ आवश्यक लगानी नहुनु हो। यस्तो स्थितिमा आफ्नो र संस्थाकै भविष्य अन्यौलपूर्ण देखिन्छ, उद्देश्यरहित देखिन्छ।
यी सबै परिस्थितिका बीच हामीले एउटा यस्तो इकोसिस्टमको सिर्जना गरेका छौंँ जहाँ अनलाइन समाचार प्लाट्फर्म शुरू गर्नुलाई प्रभाव र पैसा कमाउने स्रोतको रूपमा हेरिन्छ। राम्रो र इमानदार पत्रकारिता हेरिन्न, मिडियाको शक्ति प्रयोग गरेर कसैलाई बनाउन वा बिगार्न कसरी सकिन्छ भनेर हेरिन्छ। राम्रो कुरा के हो भने पाठकहरू उनीहरूले सोचेजति अञ्जान छैनन्। पत्रकारिताको यो पक्षबारे जानकार भइसकेका छन्। त्यसैकारण अहिले धेरैमा यस क्षेत्रप्रति अविश्वास र मोहभंग भएको देखिन्छ।
सम्पादकहरूको भूमिकाबारे पनि कुरा गरौँ। नेपाली न्युजरुममा सम्पादक (प्रधान सम्पादक) को भूमिका कस्तो पाउनुभयो?
सम्पादकको प्रमुख काम भिजन/मिसन तय गर्ने हो, रणनीति बनाउने हो, तर कार्यान्वयन गर्ने होइन। कार्यान्वयन गराउन तह–तहमा उपसम्पादक हुन्छन्, डेस्क र ब्युरो हुन्छन्। मलाई काठमान्डू पोस्ट पुगेपछि भिजन सेट गर्न टाइम लाग्यो। त्यो त दशकौँदेखि चलिआएको लेगेसी न्युजरुम हो, पहिला त्यसको राम्ररी अध्ययन गर्नुपर्यो। त्यसबेला काठमान्डू पोस्टलाई दोस्रो नम्बरको अंग्रेजी दैनिक मानिन्थ्यो, ‘द हिमालयन टाइम्स’लाई पहिलो नम्बरको।
काठमान्डू पोस्टलाई कान्तिपुरको ‘कपी’ भनेर नाक खुम्च्याउँथे। लेखन, सम्पादन र कभरेजमा पनि ध्यान दिनुपर्यो। म मुख्य पृष्ठलाई भिन्न र आकर्षक बनाउनतिर लागेँ। समाचारहरू अलिकति अनुसन्धनात्मक बनाउनेतिर काम भए। कसैले त्यस्तो परिवर्तनबारे नसोचिरहेको बेला केही नयाँ गर्ने मौका पनि थियो त्यो। म धेरैजसो रणनीतिमा केन्द्रित हुन्थेँ। तर त्यहाँको परिवेश र चलनअनुसार मैले अलिकति कार्यान्वयनको पक्ष पनि हेर्नुपर्यो।
यतिका वर्ष बहिर बसेर लेखेको, सम्पादन गरेको अनुभव र सीप अरूसँग बाँड्ने र सिकाउने मौका पनि पाएँ, जुन सबैभन्दा उत्साहजनक पाटो थियो। रिपोर्टरहरूलाई सँगै राखेर फ्रन्टपेज स्टोरी सम्पादन पनि गरेँ। अफिस बाहिर हुँदा फोनबाटै सम्पादन गर्थें। हरेक दिनको कभरेजको प्लानिङ गर्न बिहानै अफिस पुग्थेँ। विभिन्न क्षेत्रमा के भइराखेको छ भन्नेमा बिहानैदेखि अपडेट भई कसले के गर्ने र स्टोरी कस्तो हुन्छ भन्नेमा छलफल हुन्थ्यो। बेलुका पाँच बजे स्टोरी फाइल गर्दा सबैलाई तनाव हुन्छ। तर फर्स्ट आवरमै योजना बन्यो भने बेलुकासम्म सबैलाई सजिलो हुन्छ। त्यस्तो ‘प्रिन्ट मेन्टालिटी’बाट अगाडि बढ्नु जरुरी थियो। अब त प्रतिस्पर्धा प्रिन्टको प्रिन्टसँग मात्र छैन, अनलाइनहरू पनि प्रतिस्पर्धी नै हुन्।
प्रधानसम्पादकले त्यही हिसाबले टिमलाई मनाउन सक्नुपर्यो, कामको सकारात्मक र नकारात्मक पक्ष बुझाउनुपर्यो। यी सबै कारणले पाठकले काठमान्डू पोस्टमा परिवर्तन अनुभूत गरे, जुन सामूहिक प्रयत्नमा भएको थियो। शुरूआती दिनमा त्यहाँका पुराना स्टाफहरूलाई असहज लाग्यो, ‘यो कहाँबाट आएर सबै फेरफार गर्न थाल्यो’ भन्ने पनि भयो। मैले छोड्ने समयमा तिनैले यो सामूहिक प्रयत्नको सराहना गरे। मेरो भिजन र उद्देश्यलाई न्युजरुमले समर्थन नगरेको भए त्यो सम्भव हुन्थेन।
नेपालमा प्रकाशक र सम्पादकहरूले के बुझ्न जरुरी छ भने अधिकांश पत्रकारलाई नयाँँ काम सिक्ने र गर्ने रुचि छ। धेरैजसो पत्रकारहरू आफ्नो ‘प्यासन’ पछ्याउँदै यो क्षेत्रमा आएका हुन्। यहाँँ असीमित क्षमताका पत्रकार छन्। नेतृत्वले समय र ऊर्जा दिन जरुरी छ। भिजन सेट गर्न जरुरी छ। यो वर्ष यति, अर्को वर्षको लक्ष्य यो, कसलाई काममा भर्ती गर्ने र कसरी सीप विकास गर्ने तथा भविष्यका लागि ‘ग्रुमिङ’ कसरी गर्ने भन्नेबारे सोच र संस्कृति भयो भने न्युजरुमले प्रगति गर्छ।
नेपालमा पत्रकारिता काठमाडौँकेन्द्रित छ। बाहिरको समाचारका लागि भित्री पाना आरक्षितजस्तो देखिन्छ। यसमा प्रकाशक, सम्पादक वा अरू सम्बन्धित पक्षको ध्यान किन गएको छैन?
मलाई अरू संस्थाको अभ्यासबारे खासै जानकारी नभएको हुनाले आफ्नै अनुभवको कुरा जोड्छु। द काठमान्डू पोस्टमा मलाई मेरा प्रकाशकले पत्रकारहरू टिममा ल्याउन, डिजिटल टिम विस्तारित गर्न र पूरै संस्थाको विकास हुने नयाँँ अभ्यास शुरू गर्न स्रोत र साथ दिएका थिए। त्यही क्रममा मोफसलका पत्रकारलाई प्रोत्साहन हुने हिसाबले हामीले न्यास्नल एडिटर (राष्ट्रिय सम्पादक) भन्ने पद सिर्जना गरेर व्यवस्थापन गरेका थियौँ। त्यो बेला काठमाडौँ बाहिरको जिल्लाका पत्रकारले उक्त पत्रिकाको इतिहासमै मुख्य पृष्ठहरूमा सबैभन्दा बढी स्थान पाए। हाम्रो योजनालाई प्रकाशकले पूरा समर्थन गरे र यसले राम्रो नतिजा दियो पनि।
खासगरी नेपाली माध्यमका मिडियालाई यस्तो लगानीको आवश्यकता छ। उनीहरूको ठूलो संख्याको पाठक त 'डायस्पोरा' हो र उनीहरू काठमाडौँको मात्र त हुँदै होइनन्। बरु काठमाडौँबाहिरकै हुन्। तसर्थ उनीहरूले धेरै वास्ता गर्ने, अपनत्व महसुस गर्ने क्षेत्रहरूको खबरलाई प्राथमिकता दिनै पर्ने हुन्छ। नेपालमा धेरैजसो कुनै जिल्लामा ठूलो केही घटना भए वा कुनै अन्तर्राष्ट्रिय संस्थाले कुनै ठाउँबारे केही विषय उठाए भने मात्र हो मुख्य पानामा ठाउँ पाउने।
तर बाहिरको समुदायबारे कुरा गर्ने, बुझ्ने र उनीहरूको समस्याका आयामले ठाउँ नै पाउँदैनन्। काठमाडौँबाहिर पनि पाठक छन्। उनीहरू खर्च पनि गर्छन्। शक्तिको अभ्यास त्यहाँ पनि हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूका पनि विभिन्न रुचि छन् भन्ने बुझेर त्यसअनुसारको रणनीति बनाउनु पर्छ। प्रिन्ट होस् वा डिजिटल माध्यम, सबै जिल्लाका विभिन्न मुद्दा र विषय समेट्ने गरी एउटा छुट्टै डेस्क हुनु आवश्यक छ।
स्थानीय पत्रकारिता मौलाउन नसक्नुको कारण के होला र यसमा बाहिरको ट्रेन्ड कस्तो देख्नुहुन्छ?
अहिलेसम्म स्थानीय समाचारहरू प्रेषित गर्दा बुलेटिन मोडल मात्रै पच्छ्यारहेको देखिन्छ। ‘यहाँ यस्तो भयो, यति क्षति भयो, यति जना बिरामी परे’ भन्नेजस्ता समाचारले त्यहाँको समुदायका बारेमा त केही पनि बोल्दैन नि! कुनै ठाउँंको पूर्वाधार कस्तो छ, राजनीतिक शक्तिहरूको बनोट कस्तो छ, सामाजिक संरचना के हो, उनीहरूले के अनुभव गरिरहेका छन् भन्ने स्टोरी ल्याउने पहल पनि छैन र लगानी पनि छैन। अलिअलि छ तर पर्याप्त छैन।
जस्तो, छाउपडीबारे लेख्दा ‘युवती छाउगोठमा मृत फेला’ भनेर एक–दुई हरफ लेखेर झारा टार्ने काम गर्नु भएन। त्यो त अमानवीय भयो। त्यस विषयका आयामहरू ल्याउनुपर्यो, गहिराइ बुझ्ने प्रतिबद्धता हुनुपर्यो। यस्ता विभिन्न विषयमा लगानी भएन, प्रतिबद्धता देखिएन भने कसैको रुचि हुँदैन। त्यहाँ अझै चल्तीको अभ्यासभन्दा माथि उठेर जिल्ला–जिल्लामा गई त्यहाँका समस्या बुझेर यी पनि राष्ट्रिय महत्वका विषय हुन् भनेर मिहिन ढंगले कथा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको छ।
विद्या चापागाईंहरूले ‘हेर्ने कथा’का माध्यमबाट नेपाललाई बुझाइरहनुभएको छ। विभिन्न ठाउँका वास्तविक कथा, त्यहाँको समुदायका अनुभव र भोगाइसँग सबैलाई जोडिरहनुभएको छ। उत्पादित सामग्रीलाई दर्शकहरूले रूचाइरहेका छन्। इन्स्टाग्राम र टिकटकमा हेर्नुस्, कहाँँ-कहाँँका कस्ता–कस्ता कन्टेन्ट भाइरल हुन्छन्, किन? किनकि मान्छे यस्ता विषयसँग जोडिन चाहन्छन्, नयाँ कुरा जान्न चाहन्छन्। यी सबैबाट हामीले बुझ्नुपर्यो कि मिडियामा केही 'ग्याप' छ।
नेपालका विभिन्न भेगमा लुकेका कथा नेपाली सञ्चारमाध्यमले खोजेर प्रमुखताका साथ प्रेषित गर्न थाल्नुपर्यो। विदेशी संस्थाले आएर लेखेपछि सबै त्यसकै पछि लाग्ने होइन। म त यतिसम्म विश्वस्त छु कि कुनै दिन कुनै नयाँँ प्रकाशन आएर काठमाडौँबाहेकको मात्र कथा छाप्छ भने (हामीले 'रेस्ट अफ वर्ल्ड'मा गर्छौं) त्यो एकदम चल्छ। यदि बुलेटिन स्टाइलमा स्थानीय खबर पेश गरिरहने हो भने लोकल रिपोर्टिङ फस्टाउन सक्दैन।
नेपाली राजनीतिमा भूराजनीतिको खुब चर्चा हुन्छ। नेपाली मिडियामा चाहिँ भूराजनीतिको प्रभाव कत्तिको देख्नुहुन्छ?
परराष्ट्र मामिला र कूटनीतिबारे नेपाली मिडियाको रिपोर्टिङ एकदम कमजोर छ। रिपोर्टिङ नै छैन भन्दा पनि फरक पर्दैन। भारतका केही प्रकाशनबाहेक दक्षिण एशियाली मुलुकहरूको पत्रकारितासँग तुलना गर्दा यसलाई अस्वाभाविक भन्न पनि मिल्दैन। यसको जड नेपाली पत्रकारिताको प्रतिक्रियात्मक प्रवृत्तिमा छ जस्तो लाग्छ। यो खबर र घटनाहरूमा केन्द्रित छ। ऐतिहासिक, समसामयिकता र अन्तर्राष्ट्रिय बहसहरूमा आधारित भएर विषयवस्तुको अपेक्षा वा अवस्थाको विश्लेषण भएको छैन। मलाई अहिले एउटा त्यस्तो रिपोर्टिङ देखाइदिनुस् जसमा भारतले यस क्षेत्रमा अपनाएको नीतिबारे स्पष्ट पारोस् वा आन्तरिक हस्तक्षेपबारे जानकारी देओस्।
मैले रिपोर्टिङको कुरा गरेको हुँ, विचारको होइन। विचार त जति पनि छन्। म कहाँबाट शुरू गर्छु भने ‘बीआरआई’ र नक्साका सम्बन्धमा अलिअलि लेख्नेबाहेक नेपाली प्रकाशनले चीन मामिलामा एकदम कम रिपोर्टिङ गर्छन्। बाँकी विश्वबारे पनि लेखेको देखिँदैन। कहाँ के भयो, के हुँदैछ भन्नेबारे सयौँ शब्दमा सबैले बताउँछन्, मिहिन र सूक्ष्म ढंगबाट गरिएको रिपोर्टिङ पाउन मुस्किल छ। उनीहरू भयंकर शक्तिशाली राष्ट्र हुन्। मुलुकभित्र र बाहिरसमेत उनीहरूको महत्वाकांक्षा र गतिविधि के कस्तो छ भन्ने विषय सँधैभरि ख्याल गर्नुपर्छ।
काठमान्डू पोस्टमा चीनसम्बन्धि रिपोर्टिङ गरेपछि दूतावासले अवरोध गर्न खोज्यो। त्यसमा मलाई कत्ति पनि अचम्म लागेन। उनीहरूलाई असहज हुने ‘कभरेज’ छाड्दिनुस्, रिपोर्टिङप्रति नै उनीहरू अभ्यस्त छैनन्। काठमाडौँ छँदा चिनियाँ दूतावासबाट केही फोन आयो। प्रकाशित समाचारप्रति उनीहरू खुल्लमखुला आपत्ति जनाउँथे। यद्यपि उनीहरूलाई आफ्नो भनाइ राख्न समय दिइन्थ्यो।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुँदा हामीले पहिलो पृष्ठमा समाचार छाप्यौँ, त्यसमा पनि दूतावासका अधिकारीहरूको आपत्ति थियो। मैले छाड्नुभन्दा अघिल्लो दिन काठमान्डू पोस्टको विचार पृष्ठमा प्रकाशित एउटा फोटोलाई लिएर दूतावासले सार्वजनिक रूपमा आपत्ति जनायो। आपत्ति जनाउनेमा राजदूत पनि हुनुहुन्थ्यो। मलाई त्यसमा अचम्म लागेन।
अन्त्यमा, समाचार लेख्नुपर्ने पत्रकारहरू सडकमा आन्दोलन गरिरहेका छन्। ‘कान्तिपुर’मा लामो समययता आन्दोलन चलिरहेको छ। अरू ठाउँमा पनि विभिन्न विवाद छन्। यी सवालबारे यहाँकाे के धारणा छ?
मेरो सिधा र सरल धारणा छ– सबै प्रकाशकले श्रमिक पत्रकारको तलब समयमै दिनुपर्छ। कसैलाई रोजगारी दिइसकेपछि तलब त दिनुपर्यो नि। दोस्रो, मिडिया कठिन व्यवसाय हो। अहिलेको संकटबाट बाहिर निस्किने हो भने प्रकाशनहरूले केही कठोर निर्णय नलिई सुखै छैन जसमा जागिर कटौती पनि पर्छ। सुन्दा नमिठो सुनिए पनि पत्रकारले बुझ्नुपर्छ कि कुनै काम सँधैको लागि हुँदैन, यो तीतो सत्य हो।
अमेरिकामा पनि न्युजरुमहरूमा स्टाफ कटौती भइरहेका छन्, विरोध चलिरहेको छ। तथ्य यो हो कि यहाँ युनियनले श्रमिकहरूको रक्षा गर्छ, बार्गेनिङ असल नियतका साथ गर्नुपर्छ र व्यवस्थापनले कानूनको पालना गर्नुपर्छ। संस्था पनि पारदर्शी हुनुपर्छ। उनीहरूले अघिल्ला वर्षहरूको नाफा नोक्सान बताऊन्, अहिलेको आर्थिक स्थितिबारे बताऊन् र स्वीकार गरून् कि ‘संस्था घाटामा गएको छ र यसकारण कर्मचारीलाई तलब खुवाउन सकिँदैन’। आखिरमा यो नेगोसिएसन हो। वार्ता दुवै पक्षबीच असल नियतका साथ हुनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
