रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती हुन गएका थप तीन नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँ– रुसी सेनामा भर्ती हुन गएका थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। जारी रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको हो। योसँगै रुसी सेनामा भर्ती हुन गएका १० नेपालीले ज्यान गुमाएका छन्।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए।

यसअघि परराष्ट्र मन्त्रालयले रुसमा ज्यान गुमाएका सात जना नेपाली नागरिकको विवरण सार्वजनिक गरेको थियो। 

रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा-१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको थियो।

त्यस्तै मन्त्रालयले युक्रेनमा बन्दी अवस्थामा रहेका चार जनाको पनि विवरण सार्वजनिक गरेको थियो। मन्त्रालयका अनुसार बन्दी अवस्थामा बर्दियाको राजापुर– १ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई र रोल्पाको रून्तिगढी–८ का प्रतीक पुन रहेका छन्।