हत्या अभियोगमा श्रीमान् श्रीमती पक्राउ

मंसिर १९ गते घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले २३ गते प्रहरीलाई खबर गरेका थिए। १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र उनको शव फेला परेको थियो। 

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिका–१२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ पक्राउ परेका छन्।

मंसिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्राको शव घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस ३ गते फेला परेपछि प्रहरीले श्रेष्ठ दम्पतीलाई पक्राउ गरेको हो। 

श्रीमान्‌सँग सम्बन्धविच्छेद गरेर माइतीघर बसेकी पवित्रा मंसिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेको जनाइएको छ। भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि खोजी शुरू गरिएको आफन्तले बताएका थिए। घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले २३ गते प्रहरीलाई खबर गरेका थिए। १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला परेकी थिइन्। 

आफन्तले प्रहरीमा जाहेरी दिएसँगै अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस ११ गते पक्राउ गरेर जिल्ला ल्याइएको थियो।आरोपित श्रेष्ठले पवित्राको गत मंसिर १९ गते राति नै हत्या गरेको स्वीकार गरेको खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए। 

“आरोपित दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ। दीपक आफैँले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्,” उनले भने, “श्रेष्ठ दम्पतीबाट सबुत प्रमाणसमेत बरामद गरिएको छ। दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो।”

मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, नाकमा लगाएको सुनकै फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइलसमेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो। 

आरोपित दीपकले पवित्राको हत्यामा प्रयोग गरेको हम्मर भने परीक्षणका लागि राष्ट्रिय विधिविधान प्रयोगशाला काठमाडौँ पठाइएको छ। “कसुरदार दीपकले योजनाबद्ध तरिकाले पवित्राको हत्या गरेको देखिन्छ। हम्मर दीपक आफैँले घरबाट लगेर गएको देखिन्छ,” उनले भने, “मृतकको शव परीक्षण प्रतिवेदनमा समेत टाउकोमा गह्रुंगो वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको छ।”

‍कानमा लगाउने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि ४० हजारमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट चार हजार ५०० रुपैयाँमा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राईबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

मृतक पवित्राले प्रयोग गर्दै आएको सिमकार्ड भने ललितपुरस्थित श्रेष्ठ दम्पतीको कोठाबाट बरामद गरिएको डीएसपी खड्काले बताए।

मुख्य कसुरदार भनिएका दीपक मंसिर १९ गते दिउँसो श्रीमती सिर्जनाको लागि अनलाइन अर्डर गरिएको कपडा लिन भन्दै घरबाट हिँडेर दिक्तेल जान हिँडेका थिए। तर, उनी सिधै पवित्राको घर पुगेर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। 

“बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, अनुसन्धान जारी छ,” उनले भने, “सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले हत्या गरेको देखिन्छ। सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो। उनीहरू दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।”

चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमान्‌सँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धविच्छेद गरेर माइतीघर नाखाम फर्किएकी थिइन्। तीन छोरी श्रीमान्‌सँग छाडेर कान्छी छोरीसँगै लिएर माइतीघर बस्दै आएकी थिइन्।