त्रिशूलीमा बेपत्ता बस र यात्रीको खोजीमा खटियो भारतीय टोली

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली आइतबार बिहानदेखि बस र तिनमा सवार यात्रीको खोजतलासमा जुटेको छ।

चितवन– नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ। 

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली आइतबार बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।   

असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बस सिमलतालमा पहिरोमा बगेका थिए।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए। ६२ जना बेपत्ता भएका थिए। हालसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ। 

अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ। मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो।