सुक्खा पहिरोले बीपी राजमार्गको वैकल्पिक बाटो पनि अवरुद्ध

काभ्रेपलान्चोक प्रहरीका अनुसार  पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका छन्, मानवीय क्षति भएको छैन।  

धुलिखेल– बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ। सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ। 

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारीसाधन सञ्चालन भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका थिए। यद्यपि मानवीय क्षति भएको छैन। अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ।  

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए।