क्रान्तिदेखि मोहभंग भएका गोर्कीलाई सम्झाउने कोशिश गर्दै लेनिनले भनेका थिए 'तिमी टाल्सटाय पढ। तिनले जस्तै उपन्यास लेख। रुसी क्रान्ति बुझ्न ‘वार एन्ड पिस’ ऐना हो।'
बद्रीनारायण प्रधानको जयन्तीको उपलक्ष्यलाई आधार बनाई गत केही वर्षयता कार्यक्रम हुने गरेका छन्। कलकत्ताको डुवर्समा निर्धक्कसित न राजनीति गर्न सकिन्छ, न त सामाजिक कार्यक्रम नै। सांस्कृतिक कार्यक्रम अझै सकसको कुरा हो। डुवर्समा जातीय हुनु पहाडमा जस्तो सजिलो छैन।
जातीय हुनु राम्रो हो कि होइन भन्ने प्रश्न अर्को प्रश्न हो। तर नेपालीहरू व्यवहारमा भन्दा प्रचारमा बढ्ता जातीय भएका कारण पाउनेभन्दा पनि गुमाउनेमा हामी अघि भएका हौँ कि भन्ने लाग्छ। शहर देख्दै नदेखेका त्यस समयका गाउँलेमाझ राष्ट्रिय अनि अन्तर्राष्ट्रिय चेतनाको त अझ कुरै नगरौँ। दार्शनिक कन्फ्युसियसले भनेका छन्, ‘‘खोला पारि के छ त्यो कसैलाई थाहा थिएन। राति कुकुर भुकेको सुनिन्थ्यो। त्यहाँ पनि गाउँ छ होला भन्ने लाग्थ्यो।’’
झण्डै झण्डै यसै सन्दर्भसँग मिल्ने प्रकारको परिस्थिति थियो पहाडमा। डुवर्सको पनि धेरै भिन्न त के थियो होला र? त्यस समयका बद्रीनारायण प्रधानको कुरा गर्दैछु। पहाडमा जातीय हुनु जति सजिलो छ, डुवर्समा त्यत्तिकै अप्ठ्यारो।
खटी खाने वर्गको अधिकारको कुरा उठ्नसाथ लुटी खाने वर्गकाहरू डराउँछन् नै। हामी मसिनो छँदा त्यो डर हामीमा पनि भरिने गरिन्थ्यो। ‘‘कम्युनिस्टहरू आफ्नै आमाबाबुलाई पनि बुढो भएपछि मार्छन्। काम गर्न नसक्नेहरूको कम्युनिस्टहरूको देशमा कुनै महत्त्व छैन। भीरबाट खसालिदिन्छन्।’’ कम्युनिस्ट विरोधीका यस्ता कुरा सुन्दा डर लाग्थ्यो।
भियतनाम र कम्बोडियाजस्ता देशहरूमा भएको कम्युनिस्ट आन्दोलनको सक्दो दुष्प्रचार गर्थे उनीहरू, जसरी आज प्यालेस्टाइनको विरोध अनि इजरायलको समर्थनमा युरोप र अमेरिका लागिपरेका छन्। ‘हमास’लाई आतंकी संगठन बताउनेहरू प्यालेस्टाइनका अस्पतालमा समेत बमबारी गरिरहेका छन्। रोगी, शिशु र महिलालाई समेत निर्ममतापूर्वक मारिरहेछन्। औद्योगीकरणको समय श्रमिक समाजको यही दुर्दशा देखेका मार्क्सले वर्ग संघर्षको सिद्धान्तको प्रतिपादन गरेका थिए।
यस्तो समयमा डुवर्सको सुन्दरी बस्तीमा लेखनमा सक्रिय थिए बद्रीनारायण प्रधान। वामपन्थी विचारधारामा भिजेका बद्री सरको अध्ययनको फाँट निक्कै ठूलो थियो। यसबारे छोटो चर्चा पछि गरौँला।
भारतको अविभाजित कम्युनिस्ट पार्टीको पक्षबाट रतनलाल ब्राह्मण अनि गणेशलाल सुब्बाले गोर्खास्थानको कुरा उठाएको प्रसंगमा गणेशलालमाथि बद्रीनारायणले लेखेको पुस्तकको भूमिकामा इन्द्रबहादुर राई गोर्खास्थानको मागको तीन प्रेरक स्रोत देखाउनुहुन्छ :
१. लेनिनले भनेको आत्मनिर्णयको अधिकारको कुरा
२. नेहरूको 'डिस्कभरी अफ् इन्डिया'मा देश स्वाधीन भएको १० वर्षपछि 'सही संवैधानिक प्रक्रियाबाट स्वतन्त्र हुने अधिकार प्रयोग गर्न सकिन्छ' भनेर उल्लेख वाक्यांश
३. चार्ल्स बेलको पुस्तक 'टिबेट पास्ट एन्ड प्रिजेन्ट'मा ब्रिटिसको प्रसार रोक्नलाई चीन, तिब्बत,नेपाल, सिक्किम अनि भोटाङ मुखभित्रको दाँतजस्तो मिलेर बस्नुपर्ने कुरा।
भाषा आन्दोलनको समयताक सन् १९५४ को राज्य पुनर्गठन आयोगको प्रावधान नम्बर ७८३ र ७८४ लाई प्रयोग गरी दार्जिलिङमा सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने माग गणेशलाल सुब्बाहरूले उठाएका थिए। विपक्षमा हुँदा गोर्खास्थान र पूर्ण स्वायत्त शासनको कुरा गर्ने बाम फ्रन्ट सत्तामा आएपछि आफ्नै अडानविरुद्ध उग्र भयो। यसरी माकपाबाट आरबी राई, दावा लामा, डीएस बमजन र श्रवण राईहरू छुट्टिँदा साथमा बद्रीनारायण पनि छुट्टिए।
गणेशलालबारे लेखिएको पुस्तकमा बद्रीनारायण भन्छन् कि कलकत्ताले नियमहरू बनाउँदा सधैं कलकत्ता नै सोचेर बनाउँछ, त्यसैले सिलेबस कमिटीमा हाम्राहरू हुँदैनन् अनि त नानीहरूले गाउँबस्तीमा पिउने पानीको निम्ति 'नलकुप' लगाउनुपर्छ भनेर पढ्नुपर्छ। पहाडमा नलकुप? आफू जिल्ला स्कुल बोर्डको अध्यक्ष हुँदा मैले अनुभव गरेको कुरा हो। बद्री सर बितेको १३/१४ वर्ष भयो, तर पहाडको समाज र राजनीति अझै गणेशलालले उठाएका समस्याहरूबाटै ग्रस्त रहेको कुरा बद्री सरकै पुस्तकमा उल्लेख छ। उल्लेखित पुस्तक १९९९ सालमा प्रकाशित हो। अर्थात् पुस्तकमा उठाइएका प्रश्नहरू २५ वर्षपछि पनि अनुत्तरित नै छन्।
नेपाली भाषाको मान्यताको निम्ति गरिएको भाषा आन्दोलनको चर्चा हुँदा अचेल गणेशलाल सुब्बाको नाउँ कतै उठेको सुनिँदैन, तर पहिलोपल्ट भाषा समिति गठन हुँदा समितिका सचिव इन्द्रबहादुर राई अनि अध्यक्ष गणेशलाल सुब्बा भएको बद्रीनारायणको पुस्तकबाट पत्तो लाग्छ। दार्जिलिङमा कलेज हुनपर्छ भन्ने मागसहित आयोजित सभामा बोल्नेहरूमा गणेशलाल सुब्बा अनि प्रथम नेपाली 'महकुमा शासक' मोतीचन्द्र प्रधान बोलेको कुरा पनि यही पुस्तकले बताउँछ। भारतमा 'महकुमा' सरकारको सबैभन्दा सानो प्रशासनिक एकाइ हो।
म छैटौँ श्रेणीको छात्र हुँदा मोतीचन्द बाबु कालेबुङका महकुमा शासक थिए। एक दिन ती म पढ्ने सरकारी उच्च विद्यालय आएका थिए। कमल कुमार शर्मा थिए प्रधान अध्यापक। मोती बाबुले हामीलाई योगका कतिपय आसनसमेत देखाएका थिए। अप्ठ्यारो ठाउँमा तिनको पतलुङ फाटेको देखेर उतिखेर हामी विद्यार्थीहरू मरीमरी हाँसेका थियौँ।
‘स्कुलमा नसुनेका कुरा हामीले मेला ग्राउन्डमा गणेशलालको भाषण सुनेर थाहा पाउँथ्यौँ,’ लेख्छन् बद्री। १९९९ सालमा प्रकाशित गणेशलाल सुब्बाबारेको सो पुस्तक लेखकले मलाई त्यही साल जून महिनामा अटोग्राफसहित दिएका थिए।
बद्रीले गणेशलाललाई सम्मान दिए, तर नेपाली साहित्यले ढंगसहित तिनलाई दिएन। २०१० मा प्रकाशित चरित्रको कथा विशेषांकमा बद्रीको कथा 'सन्तान' छापियो, तर सुवास दीपकको भारतीय नेपाली कहानियाँ (हिन्दीमा अनूदित) अनि डुवर्स नेपाली साहित्य विकास समितिको अवलोकनमा परेनन् बद्री।
साथी अनमोल प्रसादले अंग्रेजीमा मौलीको अनुवाद गर्न शुरू गरेपछि उमार्फत नै म मौलीसित परिचित भएँ। बेलाबेला केही नेपाली ठेट शब्दहरूबारे चर्चा हुन्थ्यो। तिनी कुन शब्द नेपाली र कुन शब्द मैथिली हो भनेर मलाई सोध्थे। छुट्याउन नसक्दा म निरुत्तर हुन्थेँ।
वर्षदिन अघि, समय लिएर मैले मेरा पुस्तकको दराजहरूमा खोज्ने क्रममा 'मौली' हात लाग्यो। सन् १९९३ मा प्रकाशनमा आएको आफ्नो उपन्यास 'मौली' त्यही साल तिनले मलाई उपहारको रूपमा दिएका रहेछन्। पल्टाएर हेर्दा दिवंगत बद्री सरको हस्ताक्षर अनि मास्तिर ‘प्रेम सहित' लेखिएको पाएँ। लेखकले प्रेमसहित प्रदान गरेको तिनको कृतिलाई मैले समयमै प्रेम दिन नसकेकोमा खेद लाग्यो। १९८१ सालतिर आफू पनि दार्जिलिङ सरकारी महाविद्यालयमा विध्यार्थी भएर गएको हुँ। आफ्ना संगी र त्यहाँको फेसनलाई एउटा सोचका साथ हेर्न मौलीले बाध्य बनायो। उपन्यासमा मालती मौली भएझैं मेरो समयका शर्मिला शुरू भए र पुष्पलता पुसु। सिर्जनाहरू सुजुमात्रै भएनन्, दार्जिलिङ नै डार्जु भएको समेत देखेँ।
मौली उपन्यासमा भारत र नेपालको मात्र होइन, रसियादेखि दोस्रो विश्वयुद्धको सन्दर्भ पनि समय समयमा देखा परिरहन्छ। मौलीले 'अर्काको सम्पत्तिमा लोभ गर्नु हुँदैन' भन्दा त्यसलाई सामना गर्न नसकेर उसको पति विश्वम्भर मौलीलाई 'कम्युनिस्टले जस्तो बात गरेको' दोष लगाउँछ।
के सत्य कुरा गर्नेलाई नै कम्युनिस्ट भनिन्छ त?’ मौली सोच्छे। मलाई ती पंक्ति पढ्दा यो कुरा पात्रको मौलीको नभएर लेखक स्वयंले भोगेको परिस्थितिको हुनपर्छ भन्ने लाग्यो। अझ त्यस समय त कम्युनिस्ट हुनु आफैँमा ठूलो जोखिमको कुरा थियो। गोर्खाल्यान्ड आन्दोलनको समय सीके श्रेष्ठको एउटा उक्ति याद आउँछ, ‘‘अचेल कलकत्तामा कसैको घरमा घण्टी बज्यो भने बाउले छोरालाई भन्छ अरे– जा जा गएर हेर। दैलोमा मान्छे छ कि कम्युनिस्ट?’’ अझ अरूहरू भन्थे, ‘‘साँप र कम्युनिस्ट सँगै भेटे पहिले कम्युनिस्ट मार्नु अनि त्यसपछि मात्रै साँप।’’
…
१९५८ सालको तिनको ‘च्याखुङ डायरी’ पढ्दा मलाई लाग्यो सायद स्व. इन्द्रबहादुर राईको पिँढीमा विश्व साहित्य पढ्ने अनि त्यसबाट आफ्नो समाज सापेक्ष सामाग्री निकालेर मौलिक ढंगमा प्रयोगमा ल्याउने वर्गमा पर्ने अन्तिम लेखक शायद बद्रीनारायण नै थिए कि! टाल्सटाय अनि दस्तोभस्की रसियाका ती नामी लेखक हुन्, जसको कृति नपढे त्यो शताब्दी बुझ्न सम्भव हुँदैन। समालोचक जर्ज सेटेनियरले त पुस्तकै लेखेका छन्, ‘टाल्सटाय अर् दस्तोभस्की?'
तिनको तर्कअनुसार होमरपछि महाकाव्यको संसारमा त्यो विरासत अघि लाउने टाल्सटाय हुन् भने सेक्सपियरपछि तिनको विरासत अघि बढाउने दस्तोभस्की। बद्रीले पनि टाल्सटाय पढे। च्याखुङ डायरीमा तिनी ‘वार एन्ड पिस’बारे चर्चा गर्छन्, जुन युद्ध फ्रान्सले रसियामाथि आक्रमण गरेका कारण शुरू भएको थियो। बद्री आफ्नो च्याखुङ डायरीमा ‘हेर्न चाहने अनि स्वयंलाई साहसी युवाको रूपमा चिनाउन चाहने निकोलाई रोस्तोभ’को कुरा गर्छन्।
नदीवारि रुसी सिपाही अनि पारिपट्टि फ्रेन्च सिपाहीहरू। गोलाबारी चलिरहेछ। साँझको समय। घाम जंगलको पछिल्तिर डुब्नै लागेको छ। अचानक निकोलाईको साथीलाई गोली लाग्छ। साँझको मनोरम दृश्य, टल्किरहेको ड्यान्युब नदीको पानी अनि बीभत्स गोलाबारी। युद्ध अनि जीवनको निस्सारताले झ्वाम्मै छोप्छ निकोलाईलाई। सुन्दरी बस्तीको नदी किनारमा साँझपख कति पल्ट गए होलान् बद्री? डुब्न लागेको घाम, जंगल अनि खोलाको टल्किरहेको पानी पनि हेरे होलान्? (त्यस्तै संकेत तिनले डायरीमा दिएका छन्) अनि जीवन, जगत् र सम्बन्धहरूको निस्सारता अनुभव गरे होलान् तिनले पनि।
तर ज्ञान अनि अनुभवबाट आएको निस्सारताको भावना अज्ञानताबाट जन्मेको सक्रियता र आत्मविश्वासभन्दा धेर महत्त्वको हुन्छ। शायद त्यसै कारण बद्री पनि अनवरत सृजनशील रहे। वार एन्ड पिस लेखिएको ६ दशकपछि सोलोखोभले 'एन्ड क्वायट फ्लोज् द डन' लेखे। निकोलाई जस्तै सोलोखोभको मूल पात्र ग्रेगरी पनि उपन्यासको अन्तमा रुसी क्रान्तिको त्यही निस्सारताको निष्कर्षमा पुग्छ। त्यसरी नै टल्किरहेको अनि चुपचाप बगिरहेको हुन्छ डन नदीको पानी। तर ग्रेगरीले भने क्रान्तिको आगोमा आफ्नो परिवार अनि सम्बन्धीहरूलाई बलि चढाइसकेको हुन्छ।
यी पुस्तकहरू अमूल्य अनुभव हुन् जीवनको। बद्रीको राजनीतिक सक्रियताको पछि यस्तै अध्ययन अनि आफ्नो समाजको परिस्थिति प्रेरक थियो भन्ने तिनको डायरी पढ्दा बुझिन्छ। ‘क्यान्डिड’मा भोल्टेयरले त्यस्तै एउटा कथा लेखेका छन्, जहाँ एउटा साधु आफ्नो साधु मित्र भेट्न जान्छ। बाटोमा एउटी विधवाको घर पर्छ, जहाँ उनी सधैँ फूलमा पानी हालिरहेकी हुन्छिन।
साधु सोध्छन्, ‘‘के तिमी खुसी छौ?’’
उनी उत्तर दिन्छिन्, ‘‘ज्यु। म औधी खुसी छु। फूलहरू हेर्नोस् त, कस्तो राम्रो फुलेका छन्। पुतली र भमरा कति खुसी छन्! साँझ-बिहान ईश्वरको पूजा गर्छु। मेरो स्वर्ग र पृथ्वी दुवै सुरक्षित छ। म सुखी पनि छु साथै खुसी पनि।’’
साथीको कुटीमा पुग्दा तिनलाई चारैतिरबाट घेरेर मानिसहरू आ-आफ्ना समस्या सुनाइरहेको भेट्छन् साधु। सबैको गुनासो सुनिसकेपछि ती दुई मित्र आपसमा बात गर्न थाल्छन्। मित्र साधुले तिनलाई भेट्न आउने साधुलाई विरक्त भएर आफ्नो गुनासो सुनाउँछ, ‘‘हेर न साथी। दिनहुँ म यसरी थुप्रै मानिस भेट्छु। तिनीहरूको समस्या सुन्छु अनि आफूले जानेको समाधान पनि दिन्छु। उनीहरू सन्तुष्ट भएर फर्कन्छन् तर म आफैँचाहिँ अशान्त बन्छु। के म त्यति नै महत्त्वको छु, जत्तिको मलाई यी मानिसहरू सम्झन्छन्? एक दिन सबैको जस्तै मेरो पनि मृत्यु हुन्छ। प्रकृतिलाई कुनै फरक पर्छ र मेरो मृत्युले? मपछि पनि संसार यस्तै रहन्छ, प्रकृति त्यस्तै रहन्छ। कतै कुनै फरक पर्दैन। तर म बाँचेको समयमा किन म आफूलाई महत्त्वको ठान्छु भन्ने चिन्ताले राती निन्द्रा लाग्दैन।’’
तिनको कुरा सुनेर तिनलाई भेट्न आउने साधु भन्छन्, ‘‘तिम्रो कुराले त मलाई बाटोमा घर भएको त्यो विधवाको कुरा याद आयो। उसित तिम्रो जस्तो ज्ञान छैन, तर सुखी र खुसी छे ऊ। तिमी चाहिँ यत्रो ज्ञान आर्जन गरेर पनि दु:खी?’’
ठीक यहाँनेर भोल्टेयरको गहन अध्ययन र चिन्तन मित्र साधुको उद्गारको रूपमा व्यक्त हुन्छ, ‘‘साथी मलाई ती विधवाबारे सबै थाहा छ, तर अज्ञानताबाट आएको शान्तिभन्दा म ज्ञानबाट आउने अशान्तिलाई नै महत्त्व दिन्छु।’’
डुवर्सको परिस्थितिले अशान्त थिए बद्री पनि, तर अशान्तिलाई अकर्मण्यताको कारण बनाएनन् तिनले। विश्व साहित्य पढे र आफ्नो समाजसापेक्ष जे पनि पाए, त्यसलाई कि त उपन्यासमा उतारे कि चाहिँ डायरीमा लेखिरहे।
च्याखुङ डायरीमा एउटा प्रसंग छ गोर्की र लेनिन भेटको। बोल्सेभिक क्रान्ति र सोभियत संघको जन्मपछि गोर्की असन्तुष्ट थिए। क्रान्तिको समयमा भएको अनावश्यक हिंसाले तिनी भताभुंग भएका थिए। १९०६ मा प्रकाशित तिनको ‘आमा’ उपन्यासको आन्दोलनमाथि ठूलो प्रभाव थियो। उपन्यासकी सामान्य पात्र आमा आन्दोलनको निम्ति समर्पित हुने स्थितिमा पुग्दा करोडौँ युवाहरू क्रान्तिमा अनुवाद भएका थिए। तर त्यो क्रान्ति कस्तो थियो भन्ने बुझ्न अर्का रुसी उपन्यासकार मिखाईल सोलोखोभको ‘एन्ड क्वाइट फलोज् द डन’ पढ्न अनिवार्य हुन्छ न कि कुनै क्रान्तिमाथि लेखिएको इतिहास।
ठिकै भनेका छन् कसैले 'इतिहासमा नाम र मिति बाहेक सबै गलत हुन्छ, र साहित्यमा नाम र मितिबाहेक सबै कुरा सत्य हुन्छ।' निकोलाई रोस्तोभ अनि सोलोखोभको ग्रेगरी अन्तमा एउटै निष्कर्षमा पुग्छन्। युद्धको निस्सारता।
१९५८ सालतिरै बद्री टाल्सटायको वार एन्ड पिस पढ्दै थिए। च्याखुङ डायरीमा तिनी बताउँछन् कि एकपल्ट गोर्की लेनिनलाई भेट्न जाँदा लेनिन पनि सोही किताब पढ्दै थिए। यो प्रसंग बद्रीले डायरीमा किन लेखे भने तिनी पनि त्यस समय सोही किताब पढिरहेका मात्र होइन, तर ठीक त्यही ठाउँ पुगेका थिए, जहाँ लेनिन पुगेको प्रसंग गोर्कीले उल्लेख गरेका छन्।
सशस्त्र आन्दोलनका नेता लेनिनको त्यो अध्ययनशील पक्ष जान्न पाउँदा 'हामीसित पनि मानवीय संवेदना अनि आकांक्षा बुझ्ने त्यस्तै नेतृत्व भएको भए!’ भन्ने कुरा मनमा उब्जनु स्वाभाविक हो। तर दुःखको कुरा, हाम्रा सचेतहरू सक्रिय हुँदैनन् अनि सक्रियहरू सचेत हुँदैनन्। सचेत अनि सक्रियको प्रतीक्षा गोडोकै प्रतीक्षासरह छ। त्यस समयसम्म क्रान्तिको कुरूप अनुहार देखेका गोर्कीको क्रान्तिप्रतिको मोह भङ्ग भइसकेको थियो। तिनी ईश्वरको खोजीमा टाल्सटायको भक्त भएका थिए। क्रान्तिदेखि मोहभंग भएका गोर्कीलाई सम्झाउने कोसिस गर्दै लेनिनले भनेका थिए,
‘‘तिमी टाल्सटाय पढ। तिमी पनि तिनले जस्तै उपन्यासहरू लेख। संसारको रूप तिमी त्यहाँ देख्ने छौ। रुसी क्रान्ति बुझ्नलाई यो पुस्तक ऐना हो।’’
युवा अवस्थादेखि नै बद्रीले संघर्षको सामना गरेको कुरा आफ्नो च्याखुङ डायरीमा अंकित गरेका छन्। ३१ वर्षको पट्ठा जवान हुँदा जन्मदिन पारेर तिनले डायरीमा लेखेका छन्, ‘‘आज मैले ३१ वसन्त अनि ३१ शिशिर पार गरेँ। वसन्त पनि तर कहाँ पूरा वसन्त थियो र? वर्षाका बादलहरू सँधै मडारिई नै रहेका हुन्थे।’’
डायरीमा १९५८ सालको प्रत्येक दिन अंकित छ। मसिना दिनचर्याका अनावश्यकझैँ लाग्ने कुरा पनि छन्। कतै तीन बास भएको अनि त्यही दिन तिनको सय रुपियाँ हराएको उल्लेख छ त कतै आफ्नो खेतमा दाईं भएको दिन गरिब मिस्त्रीलाई २२ रुपियाँ छोडिदिएको कुरा छ।
२२ जनवरी १९५८, बद्रीनारायण प्रधान कालेबुङको मेनरोडमा हिँडिरहेछन्। सडकमा अडिबहादुर गुरुङसित तिनको भेट हुन्छ। तिनै भारतको संविधानमा हस्ताक्षर गर्ने अडिबहादुर! स्कुले विद्यार्थीहरू त्यस समय पनि पढ्नमा साह्रै मन लगाउँदैनथे भन्ने कुरा अडिबहादुरको प्रश्नले स्पष्ट पार्छ। बेलायतबाट 'बार एट ल' गरेर फर्केका अडिबहादुर बद्रीसित अंग्रेजीमा बात गर्छन्। आज सम्झँदा ऐतिहासिक जस्तो लाग्ने त्यो पल त्यतिबेला कति सामान्य थियो होला! संरक्षण गरेर राखे समयले सबै थोकलाई ऐतिहासिक बनाउँदो रहेछ।
त्यस समय कालेबुङमा कृषि मेला लागेको मलाई पनि थाहा छ, तर पञ्चवर्षीय मेला पनि हुँदो रहेछ। त्यस्तै मेलामा २३ जनवरी १९५८ को दिन प्रभाषको मिठाई दोकान तिरबाट आइरहेको एउटा जुलुसको कुरा गर्छन् बद्री। २३ जनवरी अर्थात् नेताजी सुभाषचन्द्र बोसको जन्म दिन। जुलुसको अगुवाइ गरिरहेथे वामपन्थी नेता रामाशंकर प्रसाद। जुलुसको अघिअघि बुङबुङ सिगरेट उडाउँदै हिँडिरहेका रामाशंकर बद्रीलाई जुलुसमा तान्छन्, तर केही कदम हिँडेपछि बद्री त्यहाँबाट फुत्किन्छन्।
‘‘अब मलाई राजनीति गर्नु थिएन। राजनीतिविहीन जीवनमा नै मलाई सन्तोष थियो।’’
उक्त भनाइबाट बद्री धेरै कम उमेरदेखि राजनीतिमा थिए भन्ने संकेत पाइन्छ। ३१ वर्षको उमेर पुग्दै बद्रीले राजनीतिको त्यस समयको स्वरूप बुझेको कारण विरक्ति पलाइसकेको थाहा पाइन्छ। राजनीति त्यस समय आजझैँ रोजगारी भइहालेको रहेनछ। त्यसैले ५ जनाको परिवारको जिम्मा काँधमा बोकेका बद्रीलाई त्यो उमेरमा राजनीतिदेखि विमुख बनाएको हुनपर्छ। आज त बेरोजगारहरू नै प्राय: राजनीति गर्छन्।
अर्को चाखलाग्दो प्रसंग छ वीरबहादुरको किताब दोकानको। को हुन् यी वीरबहादुर? कहाँ थियो होला तिनको किताब दोकान? मैले जानेदेखि देखेको त उपासक ब्रदर्स, काशीनाथ अनि मेनरोडको भाइचन्द्र प्रधानको पसल ‘सञ्जयहरू’ मात्र हो। ‘सञ्जयहरू’ बन्द भएको धेरै वर्ष भयो। काशीनाथ पनि बन्द हुने हल्ला केही समय अघि चलेको थियो तर भाग्यवश, त्यो अझै यथावत् छ। उपासक अनि काशीनाथमा वर्षौँअघि घन्टौँ बिताएर किताब किन्ने अनि पढ्ने पिँढीका कति बसाइँ सरेर अन्यत्रै कतै गए त कति बिते। कुनै पनि शहरको आत्मा त्यहाँको पुस्तक पसल हो भनिन्छ। कालेबुङका पुस्तक पसलहरू हेर्दा त्यो आत्मा अब पहेँलिँदै गइरहेको अनि कुनै समय झर्ला भनेर डर लाग्छ।
गम्भीर पाठकहरूको समय होइन कि यो? समय समयमा पेम्पा तामङ सिक्किमबाट नयाँ पुस्तक र नयाँ विचारहरूबारे लेखिरहन्छन्। अरू गम्भीर पाठकहरू पनि लेखिरहन्छन्। एउटै पुस्तक विभिन्न पाठकहरूले विभिन्न अर्थ लाएर पढ्छन् भन्ने कुरा धेरै पुरानो कुरा हो। गम्भीर पाठकहरू उपन्यासको पात्रको चरित्रमा आफ्नै समयको कुनै परिचित पनि भेट्न सक्छन्, जसरी आफ्ना साथी अरुणलाई लेखक स्वयं तुर्गिनेभको पात्र रुदीनझैं देख्छन्। पात्रहरू कल्पनाको साटो यथार्थ जीवनबाट टिपिएको छ भने हर पिँढीमा यस्तो पात्र भेटिन्छ, तर उपन्यासका पात्र अनि जीवनका संगीहरूमा समानता भएको हेर्ने आँखा चाहिँ लेखककै हुनपर्यो।
समाजको हर तहमा विरोधाभास छ। मानिसको समाजमा विरोधाभास बिनाको के छ? कालेबुङको मेला ग्राउन्डमा चलिरहेको मेलाबारे चर्चा गर्दै बद्री लेख्छन्, ‘‘मेलामा साइनबोर्ड थियो—तास-जुवा खेल, लैजान्छ जेल। अनि मेलाबाहिर गेटमै मानिसहरू झुरुम्म भएर किसिम किसिमका जुवा खेलिरहेका थिए।’’
…
धेरै प्रकारका कुसंस्कारहरूको सिकार छ हाम्रो समाज, हाम्रो देश। जे कुरा सुने पनि ‘हो हो’ अनि ‘लल’ भनिहाल्छौँ। जाबेद अख्तरलाई एउटा पत्रकारले ‘‘तपाईंलाई त नास्तिक भन्छन् नि?’’ भन्ने प्रश्न गर्दा तिनले भनेका थिए, ‘‘म सोच्छु, त्यसैले म नास्तिक भएको हुँ। नसोची केवल विश्वास गर्नेहरू आस्तिक हुन्,’’ भनेका थिए।
एक साँझ घर फर्किंदा छोरी भुँडी दुखेर फत्र्याकफत्र्याक भएको देखेँ। घरकाहरूले दगुराएर धामीको घर पुर्याए। धामीले सिकारी लागेको बतायो अनि झारफुक गरिदियो। घर आएर केहीबेर बान्ता गरेपछि छोरी आरामसित सुती। लेखकले ‘फुड पोइजन’ भएको ठहर गरे पनि घरकारहरूले ‘सिकारीको खेल’माथि नै सील-मोहर लगाए। मलाई तिनको डायरी पढ्दा आफ्नै बाल्यकाल अनि जन्ड धामी ‘बलेको बाउ’ झलझली आँखामा आयो।
मेरो स्मरणमा कालेबुङको मेला ग्राउन्डमा चन्द्रलेखा सर्कस अनि मीनाबजारको मेलासितै कृषि मेला पनि धमिलोसित बसेको छ। फुटबल र टेंडे हब्बुचाहिँ नबिर्सने गरी छापिएको छ मनमा। तर कुस्तीको खेला भएको कुरा भने मलाई थाहा छैन। सन् १९५८ मा म एकै वर्षको त थिएँ। तर बद्रीले १९५८ को तिनको डायरीमा कुस्ती वर्णन गरेका छन्। एनाउन्सरमा रमाशंकर प्रसाद अनि राधामोहन उक्कील, तिनको भविष्यको सम्धी। बनारसबाट मगाइएको प्रसिद्ध पहलवानलाई जितेको थियो कालेबुङको पहलवानले तर ती जित्ने पहलवानको नाम लेखकले उल्लेख गरेका छैनन्।
गणेशलाल सुब्बासित लेखक बद्री एकपल्ट पारसमणि प्रधानलाई भेट्न गएका रहेछन्। कुरै कुरामा पारसमणिले ‘‘साहित्यमा राजनीति पस्नु हुँदैन’ भनिदिएछन्। युवा बद्रीले तत्कालै पारसबाबुलाई ओठे जवाफ दिएछन्, ‘‘तपाईंहरू राजनीतिलाई साहित्यमा पस्नु दिनु हुँदैन भन्नुहुन्छ, तर राजनीति जीवनसित यति नजिकबाट जोडिएको हुन्छ कि बिना राजनीतिको साहित्यमा केही पाइँदैन। तपाईँहरूको यस्तै कुराले गर्दा अचेल लेखकहरू प्रेमको गीत, उपन्यास, कविता र कथा बाहेक केही लेख्दैनन्।’’
बद्रीको टिप्पणीले ट्वाल्ल परेका पारसमणिले अन्तमा बचाउको रूपमा आफ्नो असल कारण भनौं वा बाध्यता व्यक्त गरेछन्, ‘‘भारतीमा मैले त्यति नभनी त सरकारी जागिरे म…’’
अनि कुरा अधुरै छाडेछन्। हामीले भर्खरै बुझ्न थालेको कुरा बद्रीले सात दशक अघि नै बुझेका रहेछन्।
१९५८ सालको जुलाई महिनामा एसयूएमआई स्कुलमा आउँछन् एचजी लेप्चा नामका एक नेपालीभाषी जादुवाला। त्यतिखेरसम्म मेरो स्मृतिमा नेपाली जादुवालामा हाट बजारका एक गिरी थिए। यी लेप्चा को होलान्? कहाँ सिके होलान् जादु? कुनकुन आईटम देखाउँथे होला? कसलाई सोध्नु? बद्री हुँदै त्यो डायरी पढेको भए म निश्चय पनि बाग्राकोट गएर तिनलाई सोध्ने थिएँ। मेरो यो उत्सुकता थाती नै रह्यो।
१५ अगस्ट १९५८ को तिनको डायरीको पन्ना चाखलाग्दो छ। परिवेश बुझ्ने क्षमता र सोचाइको गहनता त्यस दिनको तिनको ‘एन्ट्री’ले स्पष्ट पार्छ। दिउँसो पानी रोकिएपछि लेखक बजार घुम्न निस्कन्छन्। स्वाधीनताको गीत बजिरहेको हुन्छ। शब्द राम्रो तर धुन थोत्रो। स्वाधीनताको ११ वर्ष नबित्दै लेखक 'धुनजस्तै थोत्रिँदै गइरहेको भारतको स्वतन्त्रता'को कुरा गर्छन्।
सिक्किमका केही मानिसहरूले त्यो साल सिक्किममा कम्युनिस्ट पार्टी खोल्ने अनुरोध लेखेर पठाएका रहेछन् दार्जिलिङका वामपन्थी नेता रतनलाल ब्राह्मण उर्फ माहिला बाजेलाई। राजतन्त्र चलिरहेको ठाउँमा कसरी वामपन्थी राजनीति सम्भव होला भन्ने शंका बद्रीले व्यक्त गरेका छन्।
तर बद्रीको अध्ययन नै तिनको प्रेरणाको स्रोत थियो भन्ने कुरा युवा लेखकको डायरीमा जताततै भेटिन्छ। २७ अगस्तको तिनको डायरीमा फ्रान्सका बाम चिन्तक पेर्रीको चर्चा छ। आफूलाई फाँसी हुन एक दिनअघि पेर्रीले साथीहरूलाई पत्र लेख्छन्, ‘‘मानव मात्रको ठूलो कल्याण सोचेर मर्नु मृत्यु होइन, बरु अमरत्त्व हो।’’
त्यही कल्याण सोचेर बद्रीले पनि आजीवन लेखिरहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
