नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचना निर्माण थालेको छ।
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगन्ज तथा कोहलपुर क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गर्ने भएको छ।
प्राधिकरणले नेपालगन्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरूमा सन् २०५०सम्म वृद्धि हुन सक्ने विद्युत्को सम्भावित माग प्रक्षेपण गरी उक्त मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार बहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रूपमा बनाउने छ।
नेपालगन्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरूमा भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् भार करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि नेपालगन्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो।
विद्युत् आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण/स्तरोन्नति र विस्तार गरिने छ। दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत् खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण गरिने छ।
कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगन्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरूको स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको छ।
परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रूपमा अनुगमन गरेको थियो।
प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रूपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरूको निर्माण अगाडि बढाउने छ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरूले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सुदृढीकरण र विस्तार गरिने बताए। ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रस्ट पारे।
हाल चालू रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगन्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरूले बेहोर्दै आएका छन्।
प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ। सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ। अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरूको प्रस्ताव मूल्यांकन भइरहेको छ।
उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगन्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन विस्तार गर्ने योजना बनाएको छ। अहिले नेपालगन्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ।यसबाट नेपालगन्ज क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ।
“भविष्यमा नेपालगन्ज क्षेत्रमा हुने विद्युत्को मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडो ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौँ, साथै भारतसँगको थप विद्युत् व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौँ, यसबाट भोल्टेज सुधार हुने छ, भविष्यमा यो क्षेत्रमा हुने बस्ती विकास र खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन सकिने छ, बढी भएको विद्युत् निर्यात गर्न पूर्वाधारसमेत तयार हुने छ”, कार्यकारी निर्देशक घिसिङले भने।
बझाङ, दार्चुलाका जलविद्युत र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत् चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने उनले बताए। अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि नजिकमा विद्युतगृहहरू नहुँदा खास गरी गर्मीयाममा भोल्टेजको समस्या रहेको छ।
त्यस्तै, प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरू निर्माण गर्ने योजना अगाडि बढाएको छ।
चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ।
स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरूको निर्माण गरिने छ। अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने कामहरू भइरहेको छ।
कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। सुर्खेतबाट दैलेखसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न टेन्डरको प्रक्रियामा छ। दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ।
सबै लाइन निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् कोहलपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
