सुक्खा संकटग्रस्त मधेशमा वर्षा भएसँगै धमाधम रोपाइँ

शुक्रबारसम्म २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ भएको छ। पानी परिरहेकाले बाँकी किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन्।

वीरगन्ज– पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारण सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो। तर, पछिल्लो साता यहाँ परेको पानीका कारण उनले सबै खेतमा धान रोपिसकेका छन्। 

“अकाशेपानी पर्नु अघि साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ,” उनले भने, “एक सातायता  यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ।” ढिलै भए पनि अकाशेपानी परेपछि किसान उत्साही भएको उनले बताए। 

“एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्काेतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो,” उनले भने। मधेश प्रदेश कृषि विकास निर्देशनालयका बरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेश प्रदेशमा अकाशेपानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताउँछन्। 

“साउन १६ गतेसम्म मधेश प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७.२७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो, पछिल्लो एक सातामा थप १९.२७ हेक्टरमा धान रोपाइँ भएको छ,” उनले भने। निर्देशनालयका अनुसार साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत अर्थात् दुई लाख ८५ हजार २३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। 

सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहटमा ८५.९ प्रतिशत धान रोपाइँ भएको छ। सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१.५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। 

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकाशेपानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताए। “पानी परेपछि धान रोपाइँ राम्रो भएको छ, केही दिनसम्म नियमित पानी परे धान रोपाइँमा थप सहज हुन्छ,” उनले भने।

अकाशेपानी परेसँगै बाराका कृषकमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले बताए। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले अकाशेपानी परेसँगै रोपाइँ भइरहेको बताए। “पानी नपर्दा खेतमा धाँजा फाटेको थियो, अहिले पानी परेपछि सुकेको रोपो पलाउने आशा जगाएको छ,” उनले भने।