मुस्ताङमा भारी हिमपात: जनजीवन प्रभावित

नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको छ।

मुस्ताङ– भारी हिमपातका कारण मुस्ताङको चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या भएको छ। 

नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए। “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इन्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ,” उनले भने। 

मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीका सुरक्षाकर्मीले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छाएका थिए। हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक भने सञ्चालनमा आएको छ।  

मंगलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन्। उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो। भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ।