चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनले आंशिक माग पूरा : उद्योग परिसंघ

परिसंघले विज्ञप्ति जारी गर्दै मार्गदर्शन संशोधनले उद्योगी व्यवसायीका समस्या आंशिक रूपमा समाधान भएको बताएको छ।

काठमाडौँ- नेपाल उद्योग परिसंघले चालू पुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनले आफूहरूका माग आंशिक रूपमा सम्बोधन भएको जनाएको छ। 

परिसंघले आइतबार एक विज्ञप्ति जारी गर्दै मार्गदर्शन संशोधनले उद्योगी व्यवसायीका समस्यालाई पूर्णरूपमा सम्बोधन गर्न नसके पनि वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही सहयोगी हुने जनाएको हो। 

“ऋणीको हकमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन दुई वर्ष पर सार्नुपर्ने सुझाव आंशिक रूपमा सम्बोधन भएको छ, चालु पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर १ करोडसम्म पुर्‍याइनु पनि सकारात्मक छ”, परिसंघले भनेको छ, “यसले साना तथा मझौला उद्योगी व्यवसायीलाई समेत राहत पुग्ने देखिन्छ तर व्यवसायीका सम्पूर्ण माग सम्बोधन हुन भने सकेको छैन।”

व्यवसायीहरूको चर्को दबाबपछि राष्ट्र बैंकले गतसाता मार्गदर्शनको संशोधन गर्दै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीलाई रकम भुक्तानी गर्ने समय साढे २ वर्ष थपिदिएको छ। 

परिसंघले संशोधित मार्गदर्शनबाट यसअघि ५० लाखसम्म चालू पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पुर्‍याउनु सकारात्मक भएको र यसले साना तथा मझौला उद्योगी व्यवसायीलाई राहत पुग्ने विज्ञप्तिमा उल्लेख छ। 

पुराना चालू पुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको ऋणलाई २०८२ असार मसान्तसम्म कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु सकारात्मक भएको परिसंघको धारणा । यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिवार्य व्यवस्था गर्नुभन्दा अधिक समय दिई कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउन माग पनि परिसंघको माग छ।

मार्गदर्शनमा उल्लेखित २५ प्रतिशत चालू पुँजी कर्जाको सीमा बढाएर ४० प्रतिशत गर्न आवश्यक रहेको समेत विज्ञप्तिमा उल्लेख छ।