सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

दोलखा– दोलखाको लामाबगरमा निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार, सुरुङमार्गमा काम गर्दै आएका ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको हो।

राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका थिए। खसेपछि उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जनाएको छ।

घाइते राईलाई प्रारम्भिक उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो। उनको मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राईको शव परीक्षणका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा राखिएको छ।