आगलागीबाट १ महिनामा ८ जनाको मृत्यु, प्रतिकार्यमा जुट्न तीनै तहलाई प्राधिकरणको अनुरोध

पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

काठमाडौँ– पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन्। पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसै सन्दर्भमा, प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटनाहरू हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीन तहका सरकारसँग अनुरोध गरेको छ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू (राष्ट्रिय संघीय निकाय, गैरसरकारी संघसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत) सम्बद्ध सबै पक्षलाई आ-आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा नागरिक सुरक्षामा विशेष योगदान पुर्‍याउन आग्रह गर्दै भनिएको छ, “प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं 'अलर्ट' अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाह गरी नागरिक सुरक्षामा योगदान पुर्‍याउनुहुन समेत आग्रह गर्दछ।”

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पुर्‍याउन आग्रह गरेको छ।