ट्रम्पको मध्यस्थतापछि पनि रोकिएन थाइल्यान्ड–कम्बोडिया तनाव

दुई देशबीच औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवाद यस महिनादेखि पुनः विवाद चर्किएको छ।

ट्रम्पको मध्यस्थतापछि पनि रोकिएन थाइल्यान्ड–कम्बोडिया तनाव
एएफपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि तनाव रोकिएको छैन। थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने जनाएको छ। 

शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गरेका थिए। तर दुवै पक्षले युद्धविराम उल्लंघनको आरोप एक–अर्कामाथि लगाइरहेका छन्।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायम रहेकाले सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताएका छन्। बैंककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार, थाइ सेनाले शनिबार बिहान प्रतिशोधात्मक आक्रमण गरेको थियो।

कम्बोडियाले थाइ लडाकु विमानले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ। यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको बताए। 

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन्। कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ।

यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो। तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो।

औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवाद यस महिनादेखि पुनः विवाद चर्किएको हो। यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्रै कम्तीमा २० जनाको मृत्यु भएको छ। (रासस/एएफपी)