मोरङमा धानको उत्पादनसँगै मूल्यमा पनि गिरावट

कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बेलबारी– मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ। धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको हो। गत वर्ष जिल्लामा तीन लाख ३९ हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ मेट्रिक टन उत्पादन भएको छ। 

गत वर्ष प्रतिहेक्टर ४.८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर ४.८५ मेट्रिक टनमात्र उत्पादन भएको हो। यस वर्ष जिल्लामा ६९ हजार ४६७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्यांक छ।

“खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ,” कृषिविज्ञ राजेन्द्र उप्रेतीले भने। यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर उनले बताए। 

बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब ६ बिघा जमिनमा  लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताए। धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्रीको भनाइ छ। 

यस वर्ष धानको बजार मूल्य प्रतिमन १ हजार २०० देखि १ हजार ३०० रुपैयाँसम्म रहेको छ। गत वर्ष मंसिरमा धानको बजार मूल्य प्रतिमन १ हजार ७०० देखि १ हजार ८०० रुपैयाँसम्म थियो।