एनपीएलः रोहितले जिते कार, अरू कसले के पाए?

१७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रूपमा सन्दीप लामिछाने, अविनाश बोहरा र शेर मल्ल शीर्ष स्थानमा रहे।

काठमाडौँ– लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी हुँदै कार जितेका छन्।

शनिबार लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै एनपीएलको उपाधि उचाल्यो। लुम्बिनीको जितमा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे। नेपाली ब्याटरमध्ये सर्वाधिक रनकर्ता बने। 

विनोद भण्डारी २६४ रनसहित नेपाली खेलाडीमध्ये दोस्रो स्थानमा रहे। रोहितले बलिङतर्फ पनि १० विकेट लिए भने उत्कृष्ट ब्याटर पनि भए। उनले प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै मोटरसाइकलसमेत पाए।

यस्तै, १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रुपमा सन्दीप लामिछाने, अविनाश बोहरा र शेर मल्ल शीर्ष स्थानमा रहे। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने बने। ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै बोहरा र लामिछानेले सर्वोत्कृष्ट बलर पुरस्कारसहित मोटरसाइकल पाए।  ट्रम्पलम्यानले ५ लाख रुपैयाँ पुरस्कार जिते। यस्तै, लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

लुम्बिनीका शेर मल्ल उदीयमान खेलाडी बन्दै मोटरसाइकल हात पारे। पुरस्कार  विजेतालाई  सञ्चारमन्त्री जगदीश खरेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए।