२०७५ सालमा स्थापित यो सामुदायिक होमस्टे हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ।
गलकोट– पछिल्लो समय बेलढुंगा सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुंगा सामुदायिक होमस्टेमा आतिथ्यसँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन्।
होमस्टेमा पुगेका डा. सूर्य पाठकले होमस्टेको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताए। यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन्। पाठकलाई पनि आतिथ्य, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो।
कोदोको ढिँडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएको उनले बताए। “सामाजिक काममा धेरै स्थानमा पुगियो, धेरै होमस्टेमा खानाका परिकार चाखियो, तर कोदोबाट बनेको सेलरोटी बेलढुंगा सामुदायिक होमस्टेमा देख्न र चाख्न पाइयो। यो निकै मन पर्यो,” डा. पाठकले भभने, “होमस्टे चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेछ, जुन कुरा बेलढुंगा आएपछि देखियो।”
पाठकलाई मात्रै होइन गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक होमस्टे आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन्। होमस्टेमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिँडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन्।
आगन्तुक पाहुनाले ढिँडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो। होमस्टेमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ।
आमा समूहका अध्यक्ष माया घर्तीले पाहुनालाई होमस्टेको सभाहलमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बताइन्। “राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं, खानाको कुरा त भइनै हाल्यो। पाहुनाले बिहानै बेलढुंगामा पुगेर सूर्योदय र हिमाल हेर्छन्। होमस्टेमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन्,” उनी भन्छिन्।
यो स्थान काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित छ। सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा होमस्टेलाई भएको छ। दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुंगा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
२०७५ सालमा यो स्थापित सामुदायिक होमस्टे हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ। होमस्टे सञ्चालक गोपाल श्रीस होमस्टेमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवर्द्धन गर्ने गरिएको बताउँछन्।
“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यवसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई ‘अर्ग्यानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ,” उनले भने, “गाउँमा रासायनिक मल निषेध गरिएकाले अर्ग्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
