विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेको भए पनि नेपालमा भने यसलाई प्राथमिकता नदिइएको टिवानका अध्यक्ष भीष्म न्यौपानेको भनाइ छ।
काठमाडौँ– संघीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन्। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रूपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाटै सेवा दिन बाध्य भएका हुन्।
विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रूपमा प्रयोग गरिँदै आएकोमा विसं २०७५ असार १६ गतेदेखि उक्त बसपार्कलाई स्थानान्तरण गरिएको थियो। महानगरपालिका र ट्राफिक प्रहरीलगायतका निकायले कान्तिपथ क्षेत्रमा बढ्दो भिडभाड व्यवस्थापन गर्न पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेका थिए।
कान्तिपथबाट सोह्रखुट्टेमा बसपार्क सारिएको सात वर्ष बितिसक्दा पनि पर्यटक बसका लागि स्थायी र छुट्टै स्थान निर्धारण हुन सकेको छैन, जस कारण बसहरू सडकबाटै सञ्चालन गर्न बाध्य छन्। हाल पर्यटक बसहरूले काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिँदै आएका छन्।
सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बसहरू बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुरका लागि प्रस्थान गर्छन्। टुरिजम् बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसहरूलाई उपेक्षा गरेको बताउँछन्।
“सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने कुरा गरिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा हामीलाई समस्या परेको छ,” उनी भन्छन्। विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेको भए पनि नेपालमा भने यसलाई प्राथमिकता नदिइएको अध्यक्ष न्यौपानेको भनाइ छ।
सरकारले कान्तिपथबाट बसपार्क हटाएर सोह्रखुट्टे सारे पनि राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको माग छ।
हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झन्डै १०० पर्यटकीय बसहरू आवतजावत गर्दै आएका छन्। ती सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन्।
टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको भए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन्। सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो।
व्यवसायीहरूले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्ने गरेका छन् भने रातको समयमा भने चर्को शुल्क तिरेर विभिन्न निजी ग्यारेजमा पार्किङ गर्न बाध्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
