नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले मुनंकर्मीले आफ्नो पदीय मर्यादा विपरीतका कार्य गरी २ करोड ५० लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मंगलबार आरोपपत्र दायर गरेको हो।

आयोगमा परेको उजुरीका आधारमा २०५४ फागुन १ गतेदेखि २०८० मंसिर १४ गतेसम्मको अवधिमा गरिएको छानबिनका क्रममा मुनंकर्मी र उनको एकाघर परिवारको कानूनी आय कुल तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको छ। सोही अवधिमा उनीहरूले जग्गा खरिद, घर निर्माण, सवारीसाधन, गरगहना खरिद, बीमा प्रिमियम भुक्तानी तथा बैंक मौज्दातसमेत गरी कुल ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ खर्च गरेको प्रमाणित भएको आयोगले जनाएको छ। कानूनी आयभन्दा कुल व्यय दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको भनाइ छ।

अनुसन्धानका क्रममा प्राप्त प्रमाणले मुनंकर्मीले वैधानिक आयको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरेको स्थापित भएको आयोगले जनाएको छ।

आयोगले मुनंकर्मीलाई साबिक र प्रचलित भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र बिगो अनुसार जरिबानाका साथै, गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी असुल उपर गर्न मागदाबी लिएको छ। साथै, उनले सम्पत्ति लुकाइछिपाई झुट्टा सम्पत्ति विवरण पेश गरेको कसुरमा समेत कैद र जरिबाना तथा सम्पत्ति जफतको मागदाबी लिइएको छ। 

मुनंकर्मीकी श्रीमती पूर्ण केशरी गोसाईलाई भने गैरकानूनी सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।