मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ घाइते

मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

हेटौँडा– मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, लु.५ त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको हो।

दुर्घटनामा परेर २२ जना घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थाका तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

बाँकी घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीको भनाइ छ।