एमाले नेतृत्व चयनका लागि मतदान शुरू

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो।

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केही ढिला गरी शुरू भएको हो। शुरूमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मतदान गरेका छन्। 

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो।

प्रतिनिधिहरू बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए। विद्युतीय मेसिनबाट मतदान भइरहेको छ। ३०१ सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानका लागि ८० वटा मेसिन राखिएको छ। 

महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्। ओली र पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।