झुटा विवरण पेश गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

झुटा विवरणका आधारमा नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ परेका छन्। उनीहरूमाथि प्रहरीले नागरिकता, लिखत किर्ते र संगठित अपराधअन्तर्गत अनुसन्धान शुरू गरेको छ।

काठमाडौँ– झुटा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नक्कली कागजातका आधारमा राहदानी बनाएर विभिन्न व्यक्तिलाई तेस्रो मुलुक पठाउने गरेको सूचनाका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले बिहीबार जनाएको छ।

लागुऔषधसहित १९ जना पक्राउ
विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन्। काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो।

काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन २६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एक जना पक्राउ परेका छन्। मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन्। तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुई जना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जना तथा रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।