युरोपमा १७औँ शताब्दीका अभिजात वर्गले प्रयोग गर्थे ‘पाद निष्क्रिय’ सामग्री

इतिहासका पानामा लुकेका अनौठा आविष्कारहरूले मानव जातिको रचनात्मकताको प्रमाण दिन्छन्, यस्तै एउटा विचित्रको सामग्री हो –‘वानभेरा’।

काठमाडाैँ– इतिहासका पानाहरूमा लुकेका अनौठा आविष्कारहरूले मानव जातिको रचनात्मकताको प्रमाण दिन्छन्। यस्तै एउटा विचित्रको सामग्री हो –वानभेरा। यसलाई १७औँ शताब्दीको युरोपमा त्यहाँका अभिजात वर्ग, विशेष गरी महिलाहरूले सामाजिक कार्यक्रमहरूमा गोप्य रूपमा पाद (पेटको ग्यास) निकाल्न प्रयोग गर्थे।

यो सामग्रीले पादको आवाजलाई दबाउँथ्यो र दुर्गन्धलाई नियन्त्रणमा राख्थ्यो, जसले गर्दा महिलाहरूले आफ्नो गरिमा कायम राख्न सक्छन् भन्ने विश्वास त्यतिबेलाको अभिजात वर्गमा थियो।​​​​​​​

वानभेराको उत्पत्ति र इतिहास रहस्यमय छ। केही स्रोतहरूले यसलाई प्राचीन इजिप्टसँग जोड्छन्, भने कसैले रोमन सभ्यताबाट प्रेरित भएको दाबी गर्छन्। तर, यसको कुनै ठोस प्रमाण छैन। तर पनि १७औँ शताब्दीमा इटालीको भेनिस शहरमा अभिजात वर्गहरूले यो साधन प्रयोग गर्थे भन्नेमा धेरै सहमत छन्। यस सामग्रीको प्रयोग १९औँ शताब्दीसम्म रहेको बताइन्छ।

महिलाहरूले यसलाई आफ्ना ठूला र आकर्षक लुगामुनि लुकाउन सजिलो हुन्थ्यो।​​​​​​​

null

चेक रिपब्लिकको राजधानी प्रागस्थित 'सेक्स मेसिन्स म्युजियम'मा प्रदर्शनमा राखिएको वानभेरा एक छालाको थैलीबाट बनेको छ। जसलाई कम्मरमा बाँधेर पछाडिपट्टि जोडिन्थ्यो। यसले पादको आवाजलाई 'म्युट' गर्थ्यो र दुर्गन्धयुक्त ग्यासलाई थैलोभित्रै कैद गर्थ्यो। सामाजिक कार्यक्रमपछि, निजी स्थानमा गएर थैलीलाई निचोरेर खाली गर्न सकिन्थ्यो।​​​​​​​

वानभेराका विभिन्न प्रकारहरू थिए। महिलाहरूका लागि सानो ट्युब जस्तो डिजाइन थियो, जसलाई स्कर्टमुनि लगाइन्थ्यो। अर्को जटिल प्रकार ओछ्यानमा प्रयोग हुने थियो, जसमा पाइपहरूको शृंखला जोडेर अभिजातहरूको पादलाई ओछ्यानबाट झ्याल हुँदै बाहिर फालिन्थ्यो।

यसबाहेक, एक सानो धातुको बक्स पनि हुने गर्थ्यो, जसलाई भित्री वस्त्रमा मिलाइन्थ्यो। यसमा सुकेका सुगन्धित जडीबुटीहरू जस्तै- लेभेन्डर, रोजमेरी र सेज भरिन्थ्यो। पाद यसबाट गुज्रदा, यो 'प्रोभेन्सका खेतहरूबाट आएको हावाजस्तो सुगन्धित' हुन्थ्यो। तर, यसले आवाजलाई दबाउँदैनथ्यो, त्यसैले छालाको थैली जत्तिको लोकप्रिय भएन।​​​​​​​

वानभेरा जस्ता भुलिएका आविष्कारहरूले हाम्रो जातिको पागलपनपूर्ण रचनात्मकतालाई उजागर गर्छन्। यसले इतिहासमा सामाजिक मर्यादालाई कायम राख्न मानिसहरूले कस्ता अनौठा उपाय अपनाएका थिए भन्ने देखाउँछ।