मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ भने बाँकी ३० किलोमिटर क्षेत्रमा काम सम्पन्न नहुँदा बर्सेनि यात्रुले सास्ती भोग्दै आएका छन्।
सुर्खेत– मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ। जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ।
लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन। थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ। झन्डै ३० किलोमिटर काम नहुँदा बर्सेनि समस्या हुँदै आएको छ।
यसै सडक खण्डमा पर्ने ६९७ मिटर लामो मन्ता भिरसमेत ११ वर्षदेखि कटान हुन सकेको छैन। योजना प्रमुख इन्जिनियर निरञ्जन थापाले निर्माण व्यवसायी फेरि काममा फर्केको बताए। शर्मा/सिंह ब्रदर्श, काठमाडौँले यो सडक खण्डको ठेक्का लिएको थियो। मन्ताभिर खण्डमा सर्भेको काम सुरु गर्ने तयारी भइरहेको इन्जिनियर थापाले बताए।
पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुंगिन्छ। कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा–सिंह एन्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको थियो। यसमा ८० प्रतिशत प्रगति देखिएको छ।
१८ किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको कार्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको थियो। कार्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको थियो। यो सडकको ६३ प्रतिशत मात्र प्रगति भएको छ।
मन्ताभिर–थलह बजारसम्मको ९.६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मासिंह एन्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको छ।
उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको थियो। यसको ४५ प्रतिशत मात्र प्रगति भएको छ। करिब ३१ किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ। यहाँ यातायातका साधन सञ्चालनमा छन्। झन्डै ११ वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दुःखद भएको स्थानीय राजेन्द्रविक्रम शाहले बताए।
यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ। भेरी नदीमा नौ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ। यो सडकले पूर्वीरूकुम, पश्चिमरूकुम हुँदै मध्य जाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ।
लामो समयदेखि काम अपुरो भएपछि संसदीय समितिले अनुगमन गर्ने भनिए पनि प्रतिनिधिसभा विघटनपछि उक्त कार्य सेलाएको छ। हाल नयाँ निर्माण भएको सरकारले ताकेता दिएपछि निर्माण व्यवसायी काममा फर्केको योजना प्रमुख इन्जिनियर थापाले बताए। विसं २०८२ कात्तिक १६ गते पुष्पलाल ( मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले १५ दिनभित्र ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने भन्दै सूचना निकालेको थियो।
उक्त सूचना निकालेपछि निर्माण व्यवसायी काममा फर्किएर काम गर्न थालेको योजना प्रमुख थापाले जानकारी दिए। विसं २०७५ साउन ४ गते उक्त जेभीले ठेक्का लिएको थियो। यो सडक निर्माण नहुँदा भेरी करिडोरको कुदुबाट दैलेखसम्मको सिधा यातायात अझै सञ्चालन हुन सकेको छैन।
त्यस्तै, लामो समयदेखि भेरी पुलसमेत निर्माण नहुँदा समस्या हुँदै आएको छ। जाजरकोटको भेरी नगरपालिकाको दारेगौरादेखि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको टाटागाउँ जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन। भेरी पुलसँगै जाजरकोट खण्डको सडक निर्माण पूरा नहुँदा यस सडक खण्ड अधुरो रहँदै आएको छ। १३ वर्ष बिते पनि पुल अझै पूरा हुन सकेको छैन। पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ।
तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो। पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो। बीचमा ठेक्का तोड्ने प्रक्रिया शुरू भएपछि निर्माण व्यवसायी अदालत जाँदा काम लम्बिएको बताइएको छ।
योजना प्रमुख थापाले आफूलाई यो विषयमा जानकारी नभएको बताए। सडक विभागलाई नै यो विषयमा जानकारी भएको उनले बताए। आफू नयाँ कार्यालय प्रमुख भएकाले खासै जानकारी नभएको बताए। सडक र पुल निर्माण नहुँदा यस क्षेत्रका राजनीतिक दलका नेताले दैनिक गाली खानु परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
